PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अलमुताइरीसँग किन असन्तुष्ट छन् ए डिभिजन लिगका टिमहरु ?



मुकुन्द घिमिरे

अलमुताइरीसँग किन असन्तुष्ट छन् ए डिभिजन लिगका टिमहरु ?

काठमाडौं : ए डिभिजन लिगको नवौं चरणका खेलहरु शुक्रवारबाट सुरु हुँदैछन्। यस्तोमा ए डिभिजन लिगका क्लबका केही प्रशिक्षकहरु भने राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको गतिविधिलाई लिएर असन्तुष्ट छन्। उनको पछिल्लो क्रियाकलापलाई लिएर 'लिग लिडर' मछिन्द्र क्लबले त एन्फालाई पत्र नै काटिसकेको छ।

क्लबहरु अलमुताइरीसँग असन्तुष्ट हुनुको एउटा प्रमुख कारण हो खेलाडीलाई उनले दिएको निर्देशनहरु। लिग चलिरहँदा अलमुताइरीले ३५ जना खेलाडीको नाम मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा बोलाएका थिए। तर, उनी त्यतिमै रोकिएनन्। उनले खेलाडीहरुलाई मरिससको टिमको अध्ययन गर्न 'टास्क' पनि दिए। अलमुताइरीको यो कार्यले खेलाडीमाथि दबाब सिर्जना गरिएको ए डिभिजन क्लबका एक प्रशिक्षकको दाबी छ।

'अगाडि अर्को खेल हुँदा खुट्टा जोगाएर खेल्नु' लगायतको निर्देशन दिइनुले क्लबको प्रदर्शनमा फरक पर्नुका साथै खेलाडीमाथि अनावश्यक दवाब पर्न जाने ती प्रशिक्षकले बताए।

'खेलाडीलाई तिमीहरु अर्को गेम नखेल भन्यो रे। खुट्टा जोगाउनु भनेको छ रे। ग्रुपहरुमा त्यस्तो निर्देशन आएको छ भनेर भनिरहेको छ' ती प्रशिक्षकले भने,'एन्फाले संयोजन गरिदिएको भए हुन्थ्यो। लिगको दौरान यसो नगर भनिदिएको भए हुन्थ्यो। क्लबहरुले त्यत्रो लगानी गरेको छ। राम्रो राम्रो खेलाडीले खेलमा कन्ज्युस्याइ गर्ने हो भने समस्या भइहाल्छ।'

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आज प्रशिक्षकबिच यसविषयमा छलफल भएको भन्दै लिगको नवौं चरण पछि खेलाडीको नाम निकालिदिएको भए यो समस्या नआउने बताउँछन्।

'खेलाडीहरुको क्लबप्रति भन्दा पनि नेशनल टिमप्रति झुकाव धेरै भयो। अहिले त लिग चलिरहेको छ। नेशनल टिमको अलि पछि छ। कति खेलाडीहरु घाइते छन्। घाइते हुन्छ की भनेर जोगिएर खेल्ने, कोचले होमवर्कहरु पनि दिएको रहेछ मरिससको बारेमा,' आर्मीका प्रशिक्षक न्यौपानेले भने, 'माइन्ड अलि डिस्ट्राक्ट भएको हो कि अब भन्ने त्यो पनि कति क्लबहरु देखिएको रहेछ। हाम्रोमा चाहीँ त्यो देखिएको छैन। घाइते भयो भने नेशनल टिममा पर्दैन भन्ने भावनाले क्लबमा असर परिरहेको छ भन्ने कुरा पनि अघि चर्चा भइरहेको थियो।'

क्लबहरु रिसाउनुको अर्को कारण भनेको अलमुताइरीले क्लबको जानकारी बिना टिममिटीङ बोलाउनु। यस सम्बन्धमा मछिन्द्र क्लबले एन्फालाई पत्र नै पठाइसकेको क्लबका म्यानेजर अनिल श्रेष्ठले बताए।

'अस्ति एन्फामा हामीले पत्र पठाएका छौं। हाम्रो नेशनल कोचले बिना जानकारी हाम्रो खेलाडीलाई बोलाएर केके क्लासहरु दिएको रहेछ। यसका लागि पहिला एन्फाबाट चिठी आउनु पर्‍यो,' म्यानेजर श्रेष्ठले भने, 'त्यो त मिलेन। रेस्पोन्स आएको छैन। हामीले २/३ करोड लगानी गरेर क्लब चलाइरहेको छौं। यसको जिम्मेवारी को हुन्छ?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell