काठमाडौं : सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ। सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा संक्रमण पुष्टि हुन थालेको हो।
स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिममा यो हप्ता दैनिकरुपमा कोरोना संक्रमण बढ्दै गएको छ। भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, जौलजीवी, गड्डाचौकी र गौरीफन्टा नाकाबाट हाल दैनिकरुपमा स्वदेश फर्किनेको संख्या बढ्दै गएको छ। ती नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ।
नाकामा गरिएको परीक्षणमा बुधबार मात्रै भारतबाट फर्किएका १६८ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार १४८, सोमबार ८८ र आइतबार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतमा संक्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको संख्या बढिरहेको छ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमोक्रन तीव्र रुपमा फैलिरहेकाले नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए।
'भारतको प्रभाव यहाँ पनि परेको छ। सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा छ। खोप अभियानलाई तीव्र पार्नुका साथै नाकामा स्वास्थ्य परीक्षणमा जोड दिएका छौं' उनले भने।
सीमा नाकामै हेल्थ डेस्क स्थापना गरी फर्किनेहरुको एन्टिजेन परीक्षण भइरहेको छ। धेरैजसो संक्रमित सिधै घर जाँदा संक्रमणको जोखिम बढ्दै गएको बताइन्छ। होम आइसोलेशनमा बस्ने बाहानामा संक्रमित सिधै घर जाँदा समुदायस्तरमा कोरोनाको जोखिम बढेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
'स्थानीय तहले संस्थागत आइसोलेशन बनाउन चासो देखाएका छैनन्। होम आइसोलेशनमा बस्ने भन्दै सिधै संक्रमित समुदायमै घुलमिल हुँदा जोखिम अत्यधिक छ' उनले भने।
सुदूरपश्चिममा हालसम्म चार लाख ४४ हजार ७७६ जनाको कोरोना परीक्षण गरिएकामा ४९ हजार ४७९ जनामा संक्रण पुष्टि भएको छ। कोरोनाबाट हालसम्म प्रदेशमा ६१४ जनाको ज्यान गएको छ।