PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अस्पतालमा बढ्दै कोरोना संक्रमितको संख्या, खोप नलगाएका बढी



लक्ष्मी बलायर

अस्पतालमा बढ्दै कोरोना संक्रमितको संख्या, खोप नलगाएका बढी
फाइल फोटो

काठमाडौंः नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमोक्रन' फैलिएसँगै संक्रमितको संख्या बढ्दो छ। संक्रमणको बढ्दो ग्राफलाई मध्यनजर गर्दै सरकारले भीडभाड हुने गतिविधिमा प्रतिबन्ध लगाइसकेको छ। काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन प्रशासनले रोक लगाइसकेको छ। साथै, माघ ७ गतेबाट सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य समेत गरिएको छ।

प्रशासनले प्रतिबन्ध घोषणा गरे पनि काठमाडौं उपत्यकाका बजारमा भीड कायमै छ। सडकदेखि बजारसम्म भीडभाड हुँदा स्वास्थ्य मापदण्ड पालना भएको छैन। जसकारण संक्रमण थप फैलिने चिकित्सकहरु बताउँछन्।

पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार नेपालमा तीन हजार ५५३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ। १५ हजार ८१ जनामा कोभिड १९ परीक्षण गर्दा तीन हजार ५५३ जनामा संक्रमण देखिएको हो। देशैभरि हाल सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ। जसमध्ये काठमाडौं उपत्यकामा एक हजार ९१६ जनामा संक्रमण देखिएको छ। यो आज पुष्टि भएको कुल संक्रमितको ५४ प्रतिशत हो।

अस्पतालमा कति छन् संक्रमित?

देशभर हाल करिब १३५ जना संक्रमित अस्पतालमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ। धेरै संख्यामा मानिस होम आइसोलेसनमै छन्। यद्यपि, संक्रमण बढ्दै गएसँगै विस्तारै अस्पतालमा संक्रमित भर्ना हुने दर बढ्दै गइरहेको बताउँछन् स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारी।

'अस्पतालमा बिस्तारै कोरोनाका बिरामीको संख्या बढ्दो छ। तर भर्ना हुने बिरामी खोप लगाएकाभन्दा नलगाएका बढी हुनुहुन्छ। खोप नलगाएको व्यक्तिमा बढी जोखिम समेत देखिएको छ,' उनले भने।

यता, संक्रमण बढेसँगै काठमाडौंका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दैनिक कोरोना संक्रमित भर्ना हुने गरेका छन्। एक सातादेखि बिरामी भर्ना हुने दर बढेको टिचिङका कोभिड फोकल पर्सन डा. निरज बमले जानकारी दिए।

'एक सातादेखि कोरोना संक्रमित बिरामी भर्ना हुने संख्या बढ्दो छ। अहिलेसम्म २७ जना जेनरल वार्डमा हुनुहुन्छ भने ११ जना भने आइसियूमा हुनुहुन्छ' उनले भने।

बमले हालको संक्रमित संख्या तुलनात्मक रुपमा पहिलाभन्दा कम भएको भन्दै आउने दिनलाई लक्षित गर्दै सामान्य वार्डलाई कोभिड वार्ड बनाउने कार्य तीव्र गतिमा भइरहेको समेत बताए। दोस्रो लहर जतिको अवस्था आएको खण्डमा अस्पतालले धान्ने सक्नेगरि अहिले व्यवस्थापन गरिरहेको उनले बताए।

त्यसैगरि, पाटन अस्पतालका निर्देशक रवि शाक्यले पनि अस्पतालमा विस्तारै कोभिड १९ का बिरामीको संख्या बढ्दै गएको बताए। हालसम्म अस्पतालमा ४१ जनाभन्दा बढी कोरोना संक्रमित भर्ना भएको उनले बताए। उपचाररत् संक्रमितमध्ये चारजना भेन्टिलेटरमा छन्। उनले हाल संक्रमण देखिएका बिरामीमा गम्भीर लक्षण नदेखिएको समेत बताए।

'अहिले संक्रमितको संख्या ह्वातै बढे पनि भर्ना हुनेको संख्या भने कमै छ। पीसीआर गर्दा पोजेटिभ देखाए पनि बिरामीमा गम्भीर लक्षण भने त्यति देखिएको छैन्,' शाक्यले भने।

उनले अस्पतालमा खोप लगाएका समेत भर्ना भएको बताए।

टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि पछिल्लो दिनमा कोरोनाका बिरामी भर्ना हुन थालेका छन्। पीसीआर परीक्षणमा 'कोभिड १९ पोजेटिभ' देखिए पनि अस्पताल भर्ना हुने बिरामीको संख्या भने कम नै रहेको डा. विमल शर्मा चालिसे बताउँछन्।

'अहिले अस्पतालमा १० जना कोरोनाका बिरामी हुनुहुन्छ। तर त्यति जोखिम भने छैन्,' उनले भने।

उनले कोरोना संक्रमण थप फैलिएर अस्पतालमा बिरामीको चाप बढे व्यवस्थापन गर्न अस्पतालले अहिलेदेखिनै तयारी गरिरहेको समेत बताए। चिकित्सकहरुले संक्रमणको जोखिम थप फैलिनबाट रोक्न खोप अभियानलाई तीव्र बनाउनु पर्नेमा जोड दिएका छन्।

१० दिनको अवस्था

हाल देशभर १४ हजार ३४० सक्रिय कोरोना संक्रमित छन्। बिहीबारसम्मको सक्रिय संक्रमितको तथ्याङ्क हेर्ने हो भने यो संख्या १० दिनअघिको भन्दा झण्डै तेब्बर हो। पुस २० गते ९ हजार ३२९ जनाको कोभिड-१९ परीक्षण गरिएको थियो। जसमा ३९३ जनामा संक्रमण देखिएको थियो। सो दिनसम्म देशभर ५ हजार ९४ सक्रिय संक्रमित थिए। १० दिनमै सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९४ बाट १४ हजार ३४० पुगेको हो। त्यसैगरि दिनप्रतिदिन कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै गइरहेको छ। पुस २१ गते १० हजार २६७ जनाको कोरोना परिक्षण गर्दा ४३५ जनामा कोरोना पोजेटिभ देखिएको थियो। त्यसैगरि, पुस २२ गते १२ हजार ९९ जनामा कोरोना परिक्षण गर्दा ५४० जना नयाँ कोरोना संक्रमित थपिए।

पुस २३ गते १४ हजार ९७१ जनाको कोभिड १९ परिक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण पृष्टि भएको थियो। त्यसैगरि पुस २४ मा भने १३ हजार २६४ कोभिड १९ परिक्षण गर्दा ९४४ जना कोरोना संक्रमण भेटिए। त्यस दिन संक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको थियो।

पुस २५ मा भने नयाँ सक्रमितको संख्या हजारभन्दा माथि नाघ्यो। त्यसदिन १२ हजार ६२३ मा नमुना परीक्षण गरिएकामध्ये एक हजार १६७ जनामा कोरोना संक्रमण देखिएको थियो।

पुस २६ मा ११ हजार ४२९ को नमुना परीक्षण गर्दा एक हजार ४४६ जनामा कोरोना पृष्टि भयो। पुस २७ मा भने १५ हजार ३३ मा कोरोना परीक्षण गर्दा दुई हजार ४४४ मा कोरोना कोरोना देखिएको थियो। पुस २८ भने १३ हजार ३६ जनामा कोरोना परीक्षण गरिएको थियो। जसमध्ये संक्रमितको संख्या तीन हजार ७५ पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell