.jpg)
काठमाडौं : विदेशबाट आयात गरिएको पोस्तादाना (अफिमको बियाँ) उम्रिने फेला पारेको तथ्य बाहिरिए पनि सम्बन्धित निकायहरुले अनुसनन्धानमा आलटाल गरिरहेका छन्। पोस्तादाना उम्रिने भएपनि कानुनी अष्पस्टता भन्दै अनुसन्धानमा आलटाल भइरहेको हो।
प्रहरीको अनुसन्धानबाट उम्रिने पोस्तादाना ल्याएको पुष्टि भएपछि आयातकर्तामाथि छानबिन गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सुरु गरेको थियो। तर विभागको अनुसन्धान खासै प्रभावकारी देखिएको छैन। अनुसन्धान सुस्त हुँदै जाँदा व्यवसायीहरुले भने पोस्तादान आयात गरिरहेका छन्। पछिल्लो समय वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट पुनः २ लाख ३८ हजार किलो पोस्तादाना जाँचपास भएको छ। गत बुधबारमात्र १३ कन्टेनर पोस्तादाना भन्सारबाट छुटेको हो।
विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले उम्रिने पोस्तादाना ल्याएको जानकारी आएपछि अनुसन्धान अगाडि बढाएको बताएका छन्। उनले विभागको अनुगमन शाखालाई नै यसबारे अनुसन्धान गर्न निर्देशन दिएको बताए।
'मैले केही दिनअघि नै अनुगमन शाखालाई अनुसन्धान गर्नु भनेर भनिसकेको छु। पछिल्लो अपडेट के भइरहेको छ भन्ने बुझ्दैपर्छ,' महानिर्देशक श्रेष्ठले भने।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले आयात गरिएको पोस्तादानामा लागूऔषध हुनसक्ने भन्दै अनुसन्धान गरेको थियो। तर पोस्तादानमा लागूऔषधको मात्रा भने भेटिएन। तर त्यही पोस्तादान भने अंकुरण हुने देखिएको थियो। प्रहरीले आफ्नो कानुनमा नटेकेको भन्दै अनुसन्धान टुङग्याएको थियो। सरकारी तवरबाट सबै प्रक्रिया पूरा गरेर पोस्तादाना भित्रिएकाले प्रहरीले कारवाही अगाडि बढाउन सकेन। तर अनुसन्धानका क्रममा सरकारी मापदण्ड पूरा गरेर पोस्तादाना खरिद गरेको भने पुष्टि भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनअनुसार पनि उम्रिने क्षमता भएका कुनै पनि वस्तु यसरी आयात गर्न पाइँदैन।
नेपाल साइटिसमा हस्ताक्षर गर्ने मुलुक भएकाले पनि यस्ता वस्तु आयात निर्यात गर्न पाउँदैन। बिरुवा संरक्षण ऐन २०६४ ले अनुमतिविना बिरुवाजन्य उपज (बीउ) आयात गर्न निषेध गरेको छ। तर नेपालमा यस ऐनअनुसार निवेदन दिएर यस्ता उम्रिन सक्ने ड्राइ फुड भित्रिएको देखिन्न।
विभागले कुन कम्पनीले कति मात्रामा पोस्तादान ल्याएको हो? कति मात्रामा उम्रिने भेटियो? ल्याएको पोस्तादाना कहाँ कहाँ पुगेका छन्? भन्ने विवरण निकाल्न अनुगमन शाखालाई भनेको महानिर्देशक श्रेष्ठले बताए।
यसरी भित्र्याइएको पोस्तादान उम्रियो भने अफिमको बिरुवा बन्छ। अफिम लागूऔषध हो, जसको नेपालमा खेती गर्न निषेध छ। टर्की हुँदै नेपाल आएको पोस्तादाना प्रहरीले परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (नास्ट) र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो। कात्तिक १४ गते दुवै प्रयोगशालामा परीक्षणको लागि पठाएको हो। त्यसको दुई दिन अर्थात् कात्तिक १६ गते नास्टले उक्त पोस्तादानामा लागूऔषध नभएको भन्दै ब्युरोलाई पत्राचार गरेको थियो। ब्युरोको टोलीले कात्तिक १४ गते वनस्पति विभागलाई आयात गरिएको पोस्तादाना उम्रिने हो या होइन भनेर परीक्षण गर्न पठाएको थियो। यसरी परीक्षणका लागि पठाएको डेढ महिनापछि विभागले पोस्तादाना उम्रिने खालको रहेको भन्दै पत्राचार गरेको थियो।
मंसिर २९ गते वनस्पति विभागले पठाएको पत्रमा पोस्तादाना 'अंकुरण' हुनसक्ने भन्दै पत्राचार गरेको हो। यसरी पठाइएको नमुनामा ९० प्रतिशत उम्रनसक्ने क्षमता देखियो। अर्थात्, जति पोस्तादाना छर्यो 'ह्वारह्वार्ती' उम्रिने। यस प्रकरणमा लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार प्रहरीले आयातकर्तालाई कारवाही गर्ने कुनै आधार भेटेन।
अहिलेसम्म नेपालमा ५ लाख किलोभन्दा बढी पोस्तादाना आयत भइसकेको छ। यो परीणाम बजारको मागभन्दा बढी भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। टर्की हुँदै भित्रिएको पोस्तादानको स्टोर भारतीय सिमा क्षेत्रमा भएको देखिन्छ। जसले गर्दा नेपालबाट भारतमा पोस्तादानाको तस्करी भइरहेको प्रहरी स्रोतले जानकरी दिएको छ। नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी राज्यको प्रोहत्सानमा नै पोस्तादानको तस्करी भइरहेको बताउँछन्।
'यो राज्यको लापरबाही हो। राज्यबाट भएको तस्करी हो। यसले अपराध बढाइरहेका छन्,' ठकुरीले भने।
२०७७ चैत ३१ गते धनलक्ष्मी फूड प्रालिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट १ सय ४४ टन पोस्तादाना (अफिमको बियाँ) आपूर्ति गर्न स्वीकृति पाउँदा बिरुवा संरक्षण ऐनलाई नजरअन्दाज गरेको देखिएको छ। केपी शर्मा ओली सरकारका पालामा झापाका व्यवसायी प्रदीप मित्तलको समूहलाई २ हजार टन पोस्तादाना आयात अनुमति दिइएको थियो। त्यस्तै, वैभव ट्रेड कन्सर्न, कुवेर एक्जिम प्रालि, राठी ट्रेडिङलगायत कम्पनीहरूले पोस्तादान ल्याउनको लागि स्वीकृति पाएका थिए। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उनीहरुलाई स्वीकृति दिएको थियो।
संयुक्त राष्ट्र संघको अफिस अन ड्रग एन्ड क्राइम अन्तर्गत नार्कोटिक्स कन्ट्रोल बोर्डको स्वीकृति लिएरमात्र यस्तो सिड आयात गर्न पाइन्छ। तर, नेपालका फरक निकायलाई बेवास्ता गरेर पोस्तादाना भित्रिएको छ।