PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

लिगको नवौं चरण आजबाट, पहिलो खेलमा एपीएफलाई हिमालयन शेर्पाको चुनौती



पहिलोपोस्ट

लिगको नवौं चरण आजबाट, पहिलो खेलमा एपीएफलाई हिमालयन शेर्पाको चुनौती
फाइल फोटो।

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट नवौं चरणका खेलहरु सुरु हुँदैछन्। जसअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुनेछन्।

आज हुने पहिलो खेलमा विभागीय टोली एपीएफ र हिमालयन शेर्पा भिड्नेछन्। लिगमा ८ खेल खेलिसक्दा हिमालयन शेर्पाले ११ अंक जोड्दै तालिकाको छैठौं स्थानमा छ। जसका लागि समान ३ जित/तीन हार र दुई बराबरी खेलको छ। आजको खेलमा जित निकालेको खण्डमा शेर्पा तेस्रो र चौथो स्थानमा रहेका त्रिभुवन आर्मी क्लब र संकटा क्लबसँग अंक बराबरी गर्नेछ।

अर्कोतर्फ लिगमा खराब सुरुवात गर्दै लयमा फर्किएको क्लब हो एपीएफ। ८ खेलबाट ७ अंक जोडेको एपीएफ तालिकाको दशौं स्थानमा छ। एपीएफका सहायत प्रशिक्षक रत्नकाजी महर्जनले शेर्पाको टिमको राम्रो अध्ययन गरेर त्यही अनुसारले तयारी गरेको बताए।

'तयारी राम्रै भएको छ। अस्तिको म्याचमा बल पोजिसनमा कमी कमजोरी भइरहेको छ। त्यसलाई फोकस गरेर अट्याकमा केन्द्रीत भएका छौं,' उनले भने, 'हामीलाई अझै दवाब छ। रेलिगेशन जोन छाडेपनि सेफ ल्याण्डिङको प्रयास छ। शेर्पाविरुद्ध तीन अंक लिने ध्येयमा छौं।'

त्यस्तै आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन्। मनाङले ८ खेलबाट १९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। मनाङका प्रशिक्षक टोफे फुजाले सबै टीमहरु बलियो रहेको बताउँदै सातदोबाटोसँगको खेल प्रतिस्पर्धात्मक हुने विश्वास रहेको बताए।

अर्कोतर्फ लिगमा सानादार सुरुवात गरेर खस्कँदो प्रदर्शन रहेको टोली हो सातदोबाटो। ८ खेलबाट ९ अंक जोडेको सातदोबाटो अंकतालिकाको तालिकाको ८ औं स्थानमा छ। आजको खेलमा जित निकाल्न सके सातदोबाटोले शीर्ष ६ मा स्थान बनाउन सक्नेछ।

सातदोबाटोका सहायक प्रशिक्षक सुरज महर्जन मनाङको प्रदर्शन जारी लिगमा राम्रो रहेको बताउँदै आफ्नो टिममा अनुभवको अभाव खड्किएको महसुस गरेको बताउँछन्।

'मनाङ राम्रो टिम छ। अस्तिको खेलमा पनि राम्रो जित निकालेको छ,' उनले भने, 'हामीले पोजिसन वाइज आफूलाई सुधार्न कोशिष गरेका छौं। हामी पहिलो पटक मनाङसँग खेल्न गइरहेका छौं। तीन अंकका लागि नै खेल्छौं। नयाँ टिम छ। पहिला जोस थियो खेलाडीले राम्रो खेल्यो। हामीसँग अनुभवको कमीले चुकेजस्तो लाग्यो।'

एपीएफ र शेर्पाको खेल दिउँसो १ बजे र मनाङ र सातदोबाटोबीचको खेल साँझ पौने पाँच बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell