काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूले खेलाडीलाई शतप्रतिशत प्रदर्शन नगर्नु भनेर कहिल्यै नभनेको दाबी गरेका छन्। ए डिभिजन क्लबहरुले अलमुताइरीले खेलाडीलाई शतप्रतिशत नखेल्नु भन्दै प्रशिक्षक अलमुताइरीले निर्देशन दिएको भन्ने आरोपपछि उनको यस्तो प्रतिक्रिया आएको हो। लिग लिडर मछिन्द्र क्लबले एन्फामा यस विषयमा पत्राचार नै गरिसकेको छ भने अन्य क्लबका प्रशिक्षकले पनि आपत्ति जनाएका थिए।
अलमुताइरीले आज फेसबुकमार्फत आफूले खेलाडीलाई शतप्रतिशत नखेल्न भनेर कहिल्यै नभनेको दाबी गरेका हुन्।
'मैले कहिल्यै खेलाडीलाई लिग म्याचमा शतप्रतिशत प्रदर्शन नगर्नू भनेको छैन। क्लबमा शतप्रतिशत दिन नसक्ने खेलाडीले राष्ट्रिय टोलीमा पनि शतप्रतिशत दिन सक्दैन भन्ने म विश्वास गर्छु,' अलमुताइरीले लेखेका छन्, 'क्लब र लिग फुटबलको विकासका लागि महत्वपूर्ण फ्याक्टर हुन् भन्ने म मान्छु। त्यसैले म खेलाडीलाई शतप्रतिशत नदिनु भनेर कसरी भन्न सक्छु?'
अलमुताइरीले आफ्नो उपस्थितिले लिग म्याचमा खेलाडीलाई दबाव परेको भए आफूले टिभीमै लाइभ म्याच हेर्नेसमेत जनाएका छन्।
भएको के थियो?
ए डिभिजन क्लबहरु अलमुताइरीसँग असन्तुष्ट हुनुको एउटा प्रमुख कारण हो खेलाडीलाई उनले दिएको निर्देशनहरु। लिग चलिरहँदा अलमुताइरीले ३५ जना खेलाडीको नाम मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा बोलाएका थिए। तर, उनी त्यतिमै रोकिएनन्। उनले खेलाडीहरुलाई मरिससको टिमको अध्ययन गर्न 'टास्क' पनि दिए। अलमुताइरीको यो कार्यले खेलाडीमाथि दबाब सिर्जना गरिएको ए डिभिजन क्लबका प्रशिक्षकको दाबी छ।
क्लबहरु रिसाउनुको अर्को कारण भनेको अलमुताइरीले क्लबको जानकारी बिना टिम मिटिङ बोलाउनु। यस सम्बन्धमा मछिन्द्र क्लबले एन्फालाई पत्र नै पठाइसकेको क्लबका म्यानेजर अनिल श्रेष्ठले पहिलोपोस्टसँग बताएका थिए।
'अस्ति एन्फामा हामीले पत्र पठाएका छौं। हाम्रो नेसनल कोचले बिना जानकारी हाम्रो खेलाडीलाई बोलाएर केके क्लासहरु दिएको रहेछ। यसका लागि पहिला एन्फाबाट चिठी आउनु पर्यो,' म्यानेजर श्रेष्ठले भने, 'त्यो त मिलेन। रेस्पोन्स आएको छैन। हामीले २/३ करोड लगानी गरेर क्लब चलाइरहेको छौं। यसको जिम्मेवारी को हुन्छ?'