ललितपुर : पाटनको मंगलबजारका कृष्ण महर्जन पुस महिनाभर व्यस्त भए। माघमा चाकुको माग बढी हुने भएकाले त्यसको उत्पादनमा नै उनको दिनचर्या बित्यो।
पाटनमा चाकु बनाउने उनको बाहेक अर्को मुकाम छैन। पुस्तौंदेखि उनकै परिवारले पाटनमा चाकुको माग धान्दै आएको हो।
महर्जनले १५ वर्षको उमेर हुँदादेखि चाकु बनाउन सुरु गरेका हुन्। हाल ५४ वर्ष पुगे। पुर्ख्यौली पेशालाई उनले निरन्तरता दिँदै आए।
दैनिक दुई सय प्याकेट चाकु बनाउने उनी सहितको टोली बिहानैदेखि काममा खटिएको हुन्छ। उनको कारखानामा बनाएको चाकु पाटनभन्दा बाहिर पठाउन पुग्दैन।
'यहाँकै मानिसले किनेर सकिन्छ,' उनले भने।
कोरोना संक्रमणका कारण पछिल्लो दुई वर्ष भने चाकुको माग घटेको अनुभूति गरेका छन् उनले। बजार पनि पहिले जस्तो छैन।
'पहिलाजस्तो व्यापार छैन। कोरोना अघि अरु बेला पनि चाकुको माग हुन्थ्यो,' उनले भने।
काठमाडौं उपत्यकामा टोखामा सबैभन्दा धेरै चाकु उत्पादन हुन्छ। उपत्यकाको धेरै माग टोखाकै व्यवसायीले पूरा गर्दै आएका छन्। तर, पाटनमा भने कृष्णको परिवारमात्र बाँकी छ यसको उत्पादनमा।
तर, बजारमा माग घटेकाले बाजे र बुवापछि उनले धान्दै आएको यो पेशाको पुस्तान्तर नहुने पक्का छ।
'अहिले यो पेशाले मात्रै टिक्न गाह्रो छ। मपछिको पुस्ताले सायदै यो काम गर्ला। अब जबसम्म सक्छौं त्यही बेलासम्म काम गर्ने हो,' उनले सुनाए।
माघ १ गते माघे संक्रान्तीका दिनलाई नेवार समुदायले ‘घ्य:चाकु संल्हू’ का रुपमा मनाउँछन्। यस दिन चाकुसँगै घ्यु खाने र ठूलाको हातबाट तेल लगाउने र घाम ताप्ने गरिन्छ। घ्यु चाकु खाँदा शरीरलाई ताप मिल्नुका साथै शक्ति मिल्ने विश्वास गरिन्छ।