PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ५९ प्रतिशत, दैनिक थपिँदै एक हजारभन्दा धेरै



पहिलोपोस्ट

सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ५९ प्रतिशत, दैनिक थपिँदै एक हजारभन्दा धेरै

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९ सय १३ जना, ललितपुरमा ३ सय ७७ जना र भक्तपुरमा ३ सय १७ जनामा संक्रमण देखिएको छ।  

आज देशभर ५ हजार ८७ जनामा संक्रमण देखिएको हो। आज कूल संक्रमितमध्ये ५१.९६ प्रतिशत काठमाडौं उपत्यकामा देखिएको हो।

पछिल्लो समय ओमोक्रन भेरियन्ट फैलिएसँगै उपत्यकामा चारदिन यता दैनिक हजारभन्दा धेरै जनामा संक्रमण देखिँदै आएको छ। चार दिनमा उपत्यकामा ७ हजार ३ सय ४७ जना संक्रमित थपिएका छन्। बिहीवार देशभर ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पृष्टि भएको थियो। जसमध्ये काठमाडौं उपत्यकामा १ हजार ९ सय १६ जनामा संक्रमण देखिएको थियो। उक्त संख्या कूल संक्रमितमध्ये ५४ प्रतिशत थियो। बिहीवार काठमाडौंमा १ हजार ४ सय ४९ जना, ललितपुरमा ३ सय १७ जना र भक्‍तपुरमा १ सय ५० जनामा संक्रमण देखिएको थियो।

बुधवार उपत्यकामा १ हजार ५ सय ३८ जनामा संक्रमण देखिएको थियो। काठमाडौंमा १ हजार १ सय ६८ जना, ललितपुरमा २ सय ३६ जना र भक्तपुरमा १ सय ३४ जनामा संक्रमण देखिएको थियो।

मंगलवार भने काठमाडौं उपत्यकामा १ हजार २ सय ८६ जनामा संक्रमण देखिएको थियो। काठमाडौंमा ९ सय ८० जना, ललितपुरमा २ सय २१ र भक्तपुरमा ८५ जनामा संक्रमण देखिएको थियो। मंगलवारबाट नै दैनिक संक्रमितको संख्या हजारमाथि नाघेको हो। 

सोमवार उपत्यकामा ८ सय ७६ जनामा संक्रमण देखिएको थियो। काठमाडौंमा ६ सय ७५ जना, ललितपुरमा १ सय ३६ जना र भक्तपुरमा ६५ जनामा संक्रमण देखिएको थियो।

यस्तै, देशभर दैनिक फेला पर्ने संक्रमितमध्ये आधाभन्दा धेरै उपत्यकामै भेटिएका छन्। संक्रमणको दर बढ्दै जाँदा प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। यद्यपि, सडक, बजारमा भिड कायमै छ। साथै, स्वास्थ्य मापदण्डको पालना पनि कम मात्रामा भएको छ।

आज थपिएको संक्रमितको संख्या गरी हाल देशभर १८ हजार २ सय ३५ जना सक्रिय कोरोना संक्रमित छन्। कूल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा १० हजार ८ सय ११ सक्रिय संक्रमित छन्। यो संख्या कूल संक्रमितको ५९.२८ प्रतिशत हो। मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा ७ हजार ६ सय २५ जना, ललितपुरमा १ हजार ९ सय ३५ जना र भक्तपुरमा १ हजार २ सय ५१ जना सक्रिय संक्रमित रहेका छन्।

संक्रमितको संख्या बढेसँगै उपत्यकाका अस्पतालमा बिरामीको चाप पनि बढ्दो छ। अधिकांश संक्रमित भने होम आइसोलेसनमै बसिरहेको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell