PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

दश वर्षपछि पुन: सञ्चालनमा आयो गुरुकुल थिएटर

दश वर्षपछि पुन: सञ्चालनमा आयो गुरुकुल थिएटर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एकदशक अघि बन्द भएको गुरुकुल थिएटर आजबाट पुन: संचालनमा आएको छ। १० वर्षअघि बन्द भएको 'आरोहण'को गुरुकुल थिएटरको आज उद्घाटन भएको हो। काठमाडौंको थापागाउँमा 'गुरुकुल थिएटर'को उद्घाटन गरिएको हो। चित्रकार किरण मानन्धर र कलाकार हरिहर शर्माले संयुक्त रुपमा  थिएटरको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा चित्रकार किरण मानन्धरले गुरुकुल पुन: सुरु भएकोमा खुसी व्यक्त गरे। उनीसँगै थिएटर परिसरमा चित्रकारहरुले विभिन्न चित्रहरु कोरेका थिए। उक्त समारोहमा ४ जना कविले कविता वाचन गरेका थिए। विप्लव प्रतिक, शारदा शर्मा, मोमिला र मणि लोहनीले कविता वाचन गरेका थिए।

काठमाडौं महानगरपालिकाको सहयोगमा एक वर्षका लागि थापागाउँस्थित गुञ्ज थिएटरमा 'गुरुकुल' संचाालनमा ल्याइएको थिएटरका संचालक तथा रंगकर्मी सुनील पोखरेलले बताए। आजबाट शुभारम्भ भएको थिएटरमा सुनील पोखरेलको अनुवाद र निर्देशन रहेको नाटक 'पुतलीको घर' समेत मञ्चन भएको छ।

'पहिलेदेखि नै गुरुकुललाई पुनः संचालन गर्ने मन थियो। अहिले काठमाडौं महानगरपालिकाले भाडा तिर्ने भनेपछि हामीले एक वर्षका लागि सम्झौता गरेका छौं। लामो समयपछि थिएटर सुरु हुँदा उत्साह र डर दुवै हुँदो रहेछ। कोरोना संक्रमणको समय भएकाले पनि अझ बढी चुनौति थपिएको छ' उनले भने।

वि.सं २०५९ सालमा पुरानो बानेश्वरमा आरोहण गुरुकुल थिएटरको स्थापना भएको थियो। 'थिएटर ब्रान्ड'का रूपमा स्थापित भएको यो थिएटर जग्गा अभावका कारण २०६८ सालमा बन्द भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell