PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कर्णालीमा कोरोना संक्रमणको जोखिम बढ्दो, तर बजारमा चहलपहल सामान्य अवस्थाको जस्तै



पी बी खड्का

कर्णालीमा कोरोना संक्रमणको जोखिम बढ्दो, तर बजारमा चहलपहल सामान्य अवस्थाको जस्तै

सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नयाँ भेरियन्ट (ओमिक्रोन)ले विश्व नै त्रसित बनिरहेको बेला कर्णालीमा भने सर्वसाधारण नागरिकको सतर्कतातर्फ ध्यान गएको छैन। संक्रमणबाट सुरक्षित रहन सर्वसाधारणले सामान्य स्वास्थ्य सुरक्षाको मापदण्ड भौतिक दुरी कायम, स्यानिटाइजर प्रयोग, माक्सको प्रयोग जस्ता सतर्कता अपनाउन छोडिसकेका छन्।

यसअघि संक्रमणले थिलो-थिलो बनाएको सुर्खेतमा पनि अवस्था उस्तै छ। अझै पनि नागरिक बेलैमा सचेत नभए विगतको नियती नदोहोरिएला भन्न नसकिने चिकित्सकले चेतावनी दिएका छन्।

सरकारले संक्रमणको अवस्था भयावह हुनसक्ने भन्दै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिसकेको छ। तर, प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सरकारी विद्यालयहरु बन्द छन् भने संस्थागत विद्यालयहरु लुकीछिपी चलाइरहेका छन्।

अर्कोतिर निजी इन्स्टिच्युटहरुले पनि आयोगका तयारी कक्षा र ट्युसन धमाधम पढाइरहेका छन्। इन्स्टिच्युटहरुले आयोगका तयारी कक्षामा एउटै कक्षा कोठामा ८० देखि डेढ सय बढी विद्यालयहरु पढाइरहेका छन्। यस्तो देख्दा लाग्छ कर्णालीको चहलपहल सामान्य अवस्थाको जस्तै छ।

सरकारले नै तोकेको मापदण्ड पालना नगरी बढेको लापरवाहीतर्फ स्थानीय प्रशासनले कुनै ध्यान दिएको छैन। अर्कातिर, स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक हेर्दा पनि जोखिम बढेसँगै दैनिक संक्रमण दर पनि फेरि बढ्न थालेको छ। तर, नागरिक र सरोकारवाला निकायले भने यसतर्फ खासै ध्यान दिएका छैनन्।

कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिरहेका बेला कर्णालीमा पनि संक्रमणको दर उकालो लागेको छ।

स्वास्थ्य सेवा निर्देशक डा रविन खड्काले पनि संक्रमणको दर बढ्दै गएको बताउँछन्। उनका अनुसार बुधवार मात्रै गरिएको पीसीआर परीक्षणमध्ये ७६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।

बुधवार २१ जनाको पीसीआर परीक्षण गरिएकोमा १६ जनामा संक्रमण पुष्टि भएको हो। बिहीवार मात्रै ७ जनामा गरिएको पीसीआरमा ४ जनामा पुष्टि भएको छ। उनले आमनागरिकलाई बेलैमा सचेत हुन समेत आग्रह गरेका छन्।

‘हाम्रो यस्तै छाडा गतिविधि भइरहने हो भने गएको बैशाख, जेठ असारमा हामीले भोगेको नियती फेरी नआउँला भन्न सकिन्न,’ निर्देशक खड्काले भने।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हाल सुर्खेतमा १२ जना, सल्यानमा १४ जना र रुकुमपश्चिममा ३ जना संक्रमित होम आइसोलेसनमा बसिरहेका छन्। बिहीवार मात्रै थप १६ जना संक्रमित थपिएका छन्।

प्रदेशको राजधानी समेत भएको सुर्खेतसहित प्रदेशका दश वटै जिल्लामा  चहलपहल उस्तै छ। जिल्लामा स्थानीय प्रशासनले संक्रमणको जोखिम न्यूनीकरणका लागि तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना, निगरानी, परीक्षणको दायरा बढाउने तथा आवश्यक स्वास्थ्य पूर्वाधार निर्माणमा चासो दिएका छैनन्। केवल कागजी निर्णयमा सीमित बनेका छन्।

हालसम्म भारतलगायत विदेशबाट भित्रिने नागरिकको न जाँच गरिएको छ न त सीमा नाकामा होल्डिङ्ग सेन्टर नै निर्माण गरेर प्रदेशमा भित्रिनेहरुको विवरण संकलन गरिएको छ। हाल सुर्खेतको बबई र कुइने तथा सल्यानको कपुरकोट नाका हुँदै सयौँ नागरिक प्रदेश भित्रिरहेका छन्।

जसले गर्दा निर्वाध गाउँघर पुगेका छन् बाहिरबात आएका मानिसहरु। उनीहरु होमआइसोलेसनसम्म पनि बस्ने गरेका छैनन्।

यता, प्रदेश सरकार र स्थानीय प्रशासनहरु भने कागजी निर्णयमा सीमित छन्। प्रदेशको राजधानी र प्रमुख व्यापारीक केन्द्र मानिएको सुर्खेतमा पनि संक्रमण फैलिन सक्ने जोखिम नियन्त्रणका लागि कुनै तयारी भएको नै देखिदैन।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोनाको नयाँ भेरियन्टको संक्रमणको जोखिम कम गर्न गरेको निर्णय कार्यान्वयनको चरणमा रहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको भनाइ छ।

उनका अनुसार तत्काल कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार र सीमा नाकाहरुमा आवश्यक सावधानी अपनाउने, सार्वजनिक स्थलहरुमा निगरानी बढाउने रणनीति लिइएको छ। त्यसका साथै जिल्लामा स्वास्थ्य पूर्वाधार तयारीको अवस्थालाई पनि मजबुत बनाइने उनले बताए।

संक्रमण बढेपछि रोजगारीका लागि भारतलगायत देशका विभिन्न शहरहरुमा पुगेका कर्णालीका नागरिक घर फर्किनेको लर्को लाग्न थालेको छ। निर्देशनालयका निर्देशक खड्काले संक्रमण दर बढेको भन्दै सीमा नाकाहरुमा स्वास्थ्यकर्मी परिचालन गरेर कडाई गरिएको बताए।

‘संक्रमण दर बढ्ने एकातिर संक्रमणको जोखिम भारतलगायत अन्य शहरहरुबाट आउने क्रम बढेकाले सीमा नाकामा हामीले जाँच गर्न शुरु गरिसकेका छौँ’, उनले भने, ‘जाँचको क्रममा संक्रमित भेटिएमा सम्बन्धित स्थानीय तहमा खवर गर्ने र सुरक्षित आइसोलेसनमा बस्ने व्यवस्था मिलाउने गरी पठाउने गरिएको छ।’

उनका अनुसार अब केही दिनभित्र होल्डिङ सेन्टर निर्माण गरेर भारतलगायतका स्थानबाट आउने व्यक्तिहरुलाई राखिने छ। नयाँ भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागि आवश्यक रणनीति बनाएर अगाडि बढिरहेको उनले बताए।

उनका अनुसार अहिले कर्णाली प्रदेशमा कोभिडका आईसीयू बेड ५७ वटा रहेका छन्। प्रदेश अस्पताल सुर्खेतमा २५ बेड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १० बेड, सल्यानमा २, जाजरकोटमा २, दुल्लु दैलेखमा ५, कालिकोटमा ८, हुम्लामा ३ र डोल्पामा २ वटा आईसीयू बेड तयारी अवस्थामा छ।

त्यस्तै, कर्णालीमा रहेका भेन्टिलेटरमध्ये सुर्खेतमा १०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १५, डोल्पा, जाजरकोट र रुकुमपश्चिम एक÷एक, कालिकोटमा ४, दुल्लु दैलेखमा २, हुम्लामा ३ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको निर्देशक खड्काले जानकारी दिए।

विगतको वर्षमा अक्सिजनको अभावलाई मध्यनजर गरेर कर्णालीका प्रत्येक जिल्लामा अक्सिजन प्लान्ट निर्माण गरिएको बताए। आवश्यक पूर्वाधार थप गर्ने गृहकार्य भइरहेको उनले बताए।

निर्देशक खड्काले जनस्वास्थ्यका मापदण्डहरु समेत पुरापुर पालना गर्न अनुरोध गरेका छन्। पछिल्लो समय राजनीतिक दलहरुको भइरहेको अधिवेशन जस्ता सभा, सम्मेलन जुलुशहरु पूर्ण रुपमा बन्द गर्न, अनावश्यक रुपमा घर बाहिर यात्रा नगर्न उनको आग्रह छ।

त्यस्तै, विद्यालय, शिक्षण संस्थाहरु केही समयका लागि पूर्ण रुपमा बन्द गर्नुपर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी लक्षित समूहले कोभिड विरुद्धको खोप लगाउनुपर्ने, भारतलगायत विदेशबाट फर्किएका व्यक्तिहरु अनिवार्य होम आइसोलेसनमा बस्नुपर्ने उनको सुझाव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell