PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

स्वास्थ्य मापदण्ड पालना गरी माघी मनाउन प्रधानमन्त्री देउवाको आग्रह



रासस

स्वास्थ्य मापदण्ड पालना गरी माघी मनाउन प्रधानमन्त्री देउवाको आग्रह
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन्।

उनले शुभकामना सन्देशमार्फत कोभिड-१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड-१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन्।

थारु समुदायमा माघी र अन्य समुदायमा माघे सङ्क्रान्ति नामले चिनिने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा मनाइँदै आएको छ। हाम्रा संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको बताएका छन्।

यही सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्वमध्ये माघे सङ्क्रान्ति अर्थात माघी पनि एक हो। यो पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने उहाँले विश्वास लिएका छन्। प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस भन्ने कामना गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell