PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

कारागारको चौघेराभित्र कैदीबन्दीको सक्रियता : बनाउँछन् अढाइ लाखसम्मका गलैँचा



निशा गुरुङ

कारागारको चौघेराभित्र कैदीबन्दीको सक्रियता : बनाउँछन् अढाइ लाखसम्मका गलैँचा

हेटौँडा : भिमफेदी कारागारमा ८ वर्षदेखि सजाय भोगिरहेका माइतेसिं बल नाम्लो बुनिरहेका थिए। चिसो मौसममा घाम तापेर उनी आफ्नै तालमा नाम्लो बुनिरहेका थिए।

२० वर्ष कैदको कर्तव्यज्यान मुद्धामा सजाय काटिरहेका ६० वर्षे माइतेसिं दैनिकजसो नाम्लो बुनेर समय बिताउने गरेका छन्। एउटा नाम्लो बेचेबापत ३ सय रुपैयाँ आम्दानी हुने र समयको सदुपयोग पनि हुने हुँदा आफू नाम्लो बुनेर समय बिताउने गरेको उनले बताए।

अर्का कैदी सीतराम थिङ पनि कारागारमा गलैँचा बुनिरहेका थिए। ९ वर्ष ८ महिनादेखि कारागारमा रहेका उनले जेलमै बसेर घरमा महिनाको ५ हजारसम्म खर्च पठाउने गरेको बताए।

गलैँचाको माग उच्च भएकाले उनीहरुलाई गलैँचा बुन्न भ्याइनभ्याइ छ। जेलमा बुनेका गलैँचा अमेरिका निर्यात हुने गर्छ। कारागारका बन्दीले करिब साढे दुई लाख रुपैयाँसम्मका गलैँचा उत्पादन गर्ने गरेका छन्।

अर्का श्यामसिं पनि सैलुन खोलेर बसेका छन्। उनले त्यहाँ ६० वर्षमाथिका कैदीको सित्तैमा कपाल काट्ने गरेका छन्। कपाल काटेबापत् २० रुपैयाँ, दारीको १०, कपाल रेजर गरेको १०, फेसवास गरेको ३०, कालो लगाएको ५० रुपैयाँ, कलर लगाएको २ सय र फेसियल गरेको २ सय लिने गरेका छन्।

त्यत्तिमात्र होइन, कारागारमा आफ्नै मेडिकल खोलेर बसेकाहरु पनि छन्। सामान्य औषधिलगायत प्राथमिक उपचार गर्न कैदीले नै मेडिकल खोलेका हुन्। कारागारमा विभिन्न व्यवसाय कपडा पसल, सुनचाँदी पसल, होटल, किरानालगायत व्यवसाय गरेर बसेका छन् कैदी। कोही मुढा बनाउन भ्याइनभ्याइमा छन् त कोही फोटो राख्ने फ्रेम बनाउन त कोही कपडा सिलाउन व्यस्त देखिन्छन्।

कारागारका कैदीबन्दी आम्दानीको स्रोततर्फ लागेका छन्। विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानीको स्रोतको बाटो अवलम्बन गरेका हुन्। कैदीबन्दीले कारागारभित्र मुढा बुनेर आम्दानी गर्दै आएका छन्।

कारागारमा बस्दा यत्तिकै जाने समयको सदुपयोग गर्दै उनीहरु मुढा बुन्न व्यस्त रहने गरेका छन्। मुढा बिक्री गरेर आम्दानी गरेको रकम उनीहरुले घर पठाउने गरेका छन्। कारागारका कैदीबन्दीले सीपको सदुपयोग गर्दै मुढा बुन्ने काम गरिरहेको उनीहरुले जानकारी दिए।

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कैदीबन्दीले मुढा बिक्री गरेर दशैँतिहारमा घरखर्च पठाएका छन्। कैदीबन्दी दिनभर मुढा बुन्ने, टायर राख्ने र बिट मार्नेलगायतका काममा व्यस्त हुन्छन्।

कारागारमा मुढा बुन्ने कामले मन बहलाउनुका साथै आम्दानीको स्रोत पनि भएको उनीहरुले बताए। भन्छन्, ‘कारागारमा यत्तिकै बसिरह्यो भने कस्तोकस्तो भइन्छ। मुढा बुन्ने कामले चाहीँ दिन काट्ने वातावरण बनेको छ।’

कैदीबन्दीका अनुसार एउटा मुढा तयार गर्न दुई/तीन दिन लाग्छ। दशैँतिहारमा मुढाको बढी माग हुने भएकाले चाडपर्वका बेला कैदीबन्दीलाई मुढा बुन्न भ्याइनभ्याइ हुने गरेको छ।

एउटा मुढा २ सय ५० देखि ६ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको कारागारका अधिकारीले जानकारी दिए। कारागारका कैदीबन्दीलाई सीपको सदुपयोग गरी मुढा बुन्न प्रेरित गर्दै आयआर्जन गर्ने वातावरण सिर्जना गरिएको ती अधिकारीले बताए।

कारागारका कैदीहरु छुट्टै संसारमा भुलिरहेका देखिन्छन्। कोही दिन कटाउन टिभी हेरिरहेका हुन्छन् त कोही भलिबल, क्यारमबोर्ड, चेस, पुल, जिम, पोर्ट खेलेर दिन कटाइरहेका छन्। त्यहाँ पुजारीसमेत कैदी छन्। मन्दिरमा पुजारी कैदीले पूजा गर्ने गरेका छन्। कोही कैदी पुस्तकालयमा पुस्तक पढेर दिन कटाइरहेका छन्। वर्षौँ जेल सजाय भोगिरहेका उनीहरु दैनिकजसो विभिन्न क्रियाकलाप गरेर दिन कटाउने गरेका छन्।

सुन्दा अचम्म लाग्न सक्छ कि कारागारभित्र लाखौँ कमाइ गर्ने काम गर्न सकिन्छ भनेर। तर, यो सत्य हो। कैदीबन्दीहरु नियमित धागोबाट बन्ने विभिन्न सामग्री बनाउँछन्। हरेक कैदीको आम्दानी उनीहरुको खातामै राखिदिने व्यवस्था गरिएको छ, ताकि कारागारभित्रको बन्द संसारमा कमाएको पैसाले पछि केही व्यापार/व्यवसाय गर्न सकुन्। कच्चापदार्थ ल्याउनु पर्ने भएकोले ढुवानी खर्चमा बढी जान्छ। जसका कारण आम्दानी कम देखिएको हो।

कतैबाट कच्चापदार्थ खरिदका लागि सहयोग भए कैदीले मनग्ये कमाउन सक्नेछन्। अझै पनि मासिक रुपमा सरदर प्रतिकैदी १० देखि १५ हजार कमाइरहेका छन्। कोही आफ्नै पैसाले धागो खरिद गर्छन् भने कोही कारागारले दिने भत्ताबापतको पैसाले किन्ने गरेका छन्।

जेल प्रशासन कैदीहरुको जाँगर देख्दा निकै खुशी छ। कैदपछिको जीवनलाई एक सफल उद्यमीका रुपमा स्थापित गर्न कारागारका कैदीले आफूलाई सक्षम बनाइसकेका छन्। स्रोतले भ्याएसम्म धागोका सामग्रीमात्र नभएर मुढा बनाउने, डोको बुन्ने, गलैँचा बुन्ने, राडीपाखी बुन्ने समेत सीप भएका कैदी छन् त्यहाँ।

त्यहाँ कैदीलाई जाडोमा न्यानो कपडा लगाउन १ हजार ८ सय ७५ रुपैयाँ वितरण गर्ने गरिएको कारागारका नाइके सुयस ढकालले बताए। विभिन्न काममा व्यस्त भएपछि कैदीबन्दीको समय पनि सजिलै बित्ने र आम्दानी हुने नाइके ढकालले बताए। भिमफेदीस्थित कारागारका २ वटा ब्लकमा ९ सय ९० कैदीबन्दी रहेको जेलर मदन लामाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell