PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कोरोनाको त्रासले छैनन् फिल्म हलमा दर्शक, 'चपली हाइट ३' ले पाएन साथ



लक्ष्मी बलायर

कोरोनाको त्रासले छैनन् फिल्म हलमा दर्शक, 'चपली हाइट ३' ले पाएन साथ

काठमाडौँः शुक्रबारदेखि देशभरका सिनेमा हलमा फिल्म 'चपली हाइट ३' प्रदर्शनमा आएको छ। साथै हलिउड फिल्म 'माई हिरो एकेडेमिया' पनि रिलिज भएको छ।

देशभरिका हलहरुमा शो पाएको 'चपली हाइट ३' मा दर्शकको संख्या भने न्युन छ। दुई साताअघि रिलिज भएको 'कठपुतली'ले दर्शक फर्काएर नेपाली फिल्म मेकरमा आशा दिलाएको थियो। तर कोरोना त्रासबीच रिलिज भएको चपली हाइटले पुन: निराश बनाएको छ।

नेपालमा ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ। कोरोना सङ्क्रमणको बढ्दो ग्राफलाई मध्यनजर गर्दै सरकारले भीडभाड हुने गतिविधिमा प्रतिबन्ध लगाएको छ। साथै माघ ७ गतेबाट फिल्म हेर्न सिनेमा घर जानेहरूले अनिवार्य खोप कार्ड देखाउनु पर्ने नियम छ।

कोरोना महामारीबीच रिलिज मिति स्थगित भइरहेको बेला निर्माता अर्जुनकुमारले फिल्मलाई हलमै रिलिज गर्ने आँट गरे। तर फिल्मले भने हलसम्म दर्शक भने तान्न सकेन।

चावहिलमा रहेको एफक्युब सिनेमामा 'चपली हाइट ३' रिलिज भएको पहिलो दिन दर्शकको संख्या न्युन रहेको व्यवस्थापक रामहरि कोइरालाले जानकारी दिए।

'आज फिल्मलाई ५ शो दिए तापनि एउटा शोमा ३० देखि ४० जनामात्रै दर्शक हुनुहुन्छ। आज खासै दर्शक आउनुभएको छैन। नेपाली फिल्मभन्दा बरु हलिउड फिल्ममा बढी दर्शक हुनुहुन्छ। सायद पहिलो दिन भएर पनि दर्शक कम आएको हुनुपर्छ', उनले भने।

कमलादीमा रहेको क्युज सिनेमाजमा पुग्दा पनि दर्शकहरुको संख्या न्युन नै देखियो। क्युज सिनेमाले पनि यस फिल्मलाई आज ५ वटा शो दिएको थियो।

तर एउटा शो मा ६ -१० जना मात्रै दर्शक आएको क्युज सिनेमाका इञ्चार्ज अभिषेक थपलियाले बताए।

भन्छन् 'कोरोनाको त्रासले सिनेमा हलमा दर्शकको संख्या फेरि घट्न थालेको छ। एउटा शोमा ६ देखि १० जना मात्र हुनुहुन्छ। कोरोना बढेसँगै अहिले खासै फिल्म नै छैनन्।'

त्यसैगरी, कमलपोखरीस्थित बिग मुभिजमा पुग्दा 'चपली हाइट ३' लाई फाट्टफुट्ट दर्शक देखिए। फिल्मलाई बिग मुभिजले पनि ४ शो दिएको थियो। तर एउटा शोमा दर्शकहरुको संख्या २० देखि ३० जना मात्रै रहेको छ। यसअघि हलमा दर्शक भरिभराउ भए पनि अहिले भने दर्शकको संख्या घट्न थालेको बिग मुभिजका कर्मचारी बताउँछन्।

देशकै ठूलो क्यूएफएक्स चेनले यस फिल्मलाई आज २६ शो उपलब्ध गराएको छ। तर क्युएफएक्सका सम्पूर्ण हलहरुमा दर्शकको संख्या ३० प्रतिशत मात्रै रहेको विश्लेषक आदर्श सिग्देलले जानकारी दिए।

सिभिल मलमा रहेको क्युएफएक्समा ३ शोमा जम्मा १७५ जना दर्शकहरु आएको पाइयो। उपत्यकालगायत बाहिरका हलहरुमा पनि दर्शकको संख्या न्युन नै रहेको छ।

'हामीले यस फिल्मलाई बढी शो दिए पनि दर्शकको संख्या भने सोचेको भन्दा कम नै छ। कोरोनाले हो कि चिसोले दर्शक खासै हुनुहुन्न', सिग्देलले भने।

सस्पेन्स र थ्रिलर कथामा निर्माण भएको यस फिल्मलाई निकेश खड्काले निर्देशन गरेका छन्। यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell