PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

अग्रवालको घरमा भेटिएको 'त्यो नोट' : छोरी ज्वाइँसँग ८/१० लाख मागेपछि मोबाइल नै अफ गरेर कता हराए ग्रिनलाइनका सञ्चालक



सविन ढकाल

अग्रवालको घरमा भेटिएको 'त्यो नोट' : छोरी ज्वाइँसँग ८/१० लाख मागेपछि मोबाइल नै अफ गरेर कता हराए ग्रिनलाइनका सञ्चालक

काठमाडौं : '८/१० लाख रुपैयाँ चाहिएको छ। म्यानेज गर्दिनु है।'

पुस २२ गते बिहान १० बजेतिर अग्रवाल परिवारले आफ्ना छोरी ज्वाइँलाई फोन गरे। छोरी रजनीलाई करौडौंको व्यापार गरेर बसेका अग्रवाल परिवारले फोन गर्नुको कारण थियो पैसा।

त्यसपछि उनीहरूको फोन अफ भयो।

छोरी ज्वाइँले प्रहरीलाई दिएको जानकारी अनुसार उक्त परिवार पैसा लिन भने गएन। छोरीज्वाइँ ज्ञानेश्वरस्थित घरमा पुग्दा कोठामा बत्ती बलिरहेको थियो। तर अग्रवाल परिवारका सदस्य भने थिएनन्। कालीमाटीमा घर, टंगालमा अपार्टमेन्ट। कालीमाटीमा घर भए पनि पछिल्लो  समय ज्ञानेश्वरमा करिब २५ आनामा फैलिएको अर्को घरमा बस्दै आएका थिए अग्रवाल परिवार।

उनीहरु हराएको घटनाबारे प्रहरीले औपचारिक जानकारी पायो। पुस २३ गते परिवारलाई खोज्दिनु भन्दै प्रहरीमा उजुरी पर्‍यो। प्रहरीले अनुसन्धान गर्दा अग्रवाल परिवारले घरमा राखेको नोट समेत फेला पार्‍यो।

केही दिनेदखि सम्पर्कबिहीन भएका काठमाडौंको कान्तिपथ र दरबारमार्गमा विदेशी मदिरा बिक्री गर्ने रिटेल सप ग्रिनलाइनका सञ्चालक हुन् अग्रवाल।

अहिले पनि उनको खोजी कार्य जारी छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा सम्पर्क बिहीन भएका परिवारका आफन्तले जानकारी दिएपछि प्रहरीले खोजी सुरु गरेको हो। अहिलेसम्मको प्रहरी अनुसन्धान तथा खोजीमा उनीहरू कहाँ गए भन्ने खुल्न सकेको छैन। ग्रिनलाइनका सञ्चालक अमित र अभिषेक अग्रवाल परिवारसँगै सम्पर्कमा छैनन्। बाबु ओमप्रकाश अग्रवाल र परिवारका अन्य सदस्यहरू पनि सम्पर्कमा नरहेको बुझिएको छ।

अग्रवाल परिवारका ९ जना सदस्य सम्पर्क बिहीन भएका हुन्। ओमप्रकाश, भारती अग्रवाल, बुहारी उषा अग्रवाल, रुचिका अग्रवाल, १७ वर्षीया नातिनी नन्दनी अग्रवाल, ९ वर्षीया पार्थ अग्रवाल र २ वर्षीय अनव अग्रवाल रहेका छन्।

'उहाँहरू आफ्नो खुशीले कतै जानु भयो वा के भएको हो भन्ने विषयमा हामीले खोजी गरिरहेका छौँ। अहिलेसम्म उहाँहरूको कुनै सम्पर्क हुन सकेको छैन,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले भने।

प्रहरीले उनीहरूले प्रयोग गर्ने मोबाइलमा पनि सम्पर्क गरेको थियो। मोबाइलको कल ट्रेसिङ गर्दा पनि उनीहरू कहाँ गएको भन्ने खुल्न सकेको छैन। केही समयदेखि आफन्तलाई पनि खबर नै नगरी एकाएक 'गायब' भएका हुन् उनीहरु। 

अहिले उनीहरूले सञ्चालन गर्दै आएको दुई वटा मदिरा बिक्री गर्ने रिटेल पसल पनि बन्द छ। परिवारका सबै सदस्यको मोबाइल घरबाट नै अफ भएको प्रहरी अनुसन्धानमा देखिएको छ।

प्रहरीले उनीहरूले प्रयोग गर्ने सवारी लगायत अन्य पक्षहरूको पनि अनुसन्धान गरिरहेको छ। घरमा प्रयोग हुँदै आएका दुई वटा गाडी पनि उनीहरूसँगै 'गायब' छन्।

उनीहरु यसरी एक्कासी हराउनुमा आर्थिक कारण भएको व्यवसायीहरूले बताउँदै आएका छन्। उनीहरूले बैङ्क तथा वित्तीय सस्थाबाट करौडौं रुपैयाँ ऋण लिएको देखिएको छ। कान्तिपथ स्थित स्टोरमा कम्पनीसँग ऋण उठाउनुपर्ने भन्दै इन्भेस्टमेन्ट बैङ्क, एभरेस्ट बैङ्कले सूचना समेत टाँस गरेका छन्। रिटेल सप ठूला करदाताको सूचीमा थियो। यो रिटेल सपमा अहिले एभरेस्ट बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्कले सूचना टाँस्दै ‘सबै स्टक आफ्नो स्वामित्वमा रहेको’ भन्दै सिलबन्दी गरेका छन्।

तर, कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरुले आफ्नो लगानी डुबाएर वा ठगी गरेर फरार भएको भन्दै प्रहरीमा उजुरी भने अहिलेसम्म दिइसकेका छैन। अनुसन्धानका क्रममा अग्रवालको घरमा फेला परेको नोटमा आफूले सबै सम्पत्ति छोडेर गएको, मिटर ब्याज र लिएको ऋणले आफू डुबेको लेखिएको छ।

दुई वर्षदेखिको कोरोना सङ्क्रमण र अन्य विविध कारणले गर्दा उनीहरुको कम्पनी घाटा खेप्दै आएको थियो। त्यसलाई पूरा गर्न बैङ्क तथा वित्तीय संस्थाबाट होइन, व्यक्तिसँग पनि मिटर ब्याजमा करौंडौं रुपैयाँ ऋण लिएको देखिएको छ। अहिले अग्रवाल परिवार फरार भएपछि मिटर ब्याजमा लगेको रकम र अन्य सापट कसरी उठाउन भन्ने सकस भइरहेको छ। स्थापित व्यवसायीहरूले पनि अग्रवाल दाजुभाइमाथि लगानी गरेको खुलेको छ।

'मेरो पनि उनीहरूसँग कारोबार भएको थियो। पैसा लगानी गरेको थिएँ। खोज्दिनु पर्‍यो भन्दै फोनहरू आउने गरेको छ,' एक उच्च प्रहरी अधिकृतले सुनाए।

मिटर ब्याजले धेरैलाई यसरी नै डुबाएको छ। मिटर ब्याज गैर कानुनी बाटो हो कारोबारको। तर मोटो ब्याजको लोभमा मानिसहरू फस्ने गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell