PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पाल्पाको रानीमहल अब संग्रहालय



रासस

पाल्पाको रानीमहल अब संग्रहालय

पाल्पा : पाल्पाको रानीमहललाई संग्रहालयमा परिणत गरिएको छ। तानसेन नगरपालिकाले बौघागुम्हा र बगनासकाली गाउँपालिकासँग मिलेर रानीमहललाई संग्रहालयमा रुपान्तरण गरेको हो।

'नेपालको ताजमहल'का रुपमा चिनिएको रानीमहल दरबार अब नयाँ सजावटसाथ तयार छ। खड्ग शम्शेरले निर्माण गरेको यो दरबारमा संग्रहालयका रुपमा विकसित गर्दै उनले प्रयोग गरेका भाडा, मूर्ति, शंख, शालिग्रामजस्ता सामग्री राखिएको छ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताए।

हालसम्म करिब ४० लाख खर्च भइसकेको बताउँदै उनले आवश्यक बजेट बढाउँदै जाने जानकारी दिए। रानीमहलको सम्पूर्ण विकास गर्न अनुमानित रु १० करोडभन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरिएको छ। क्रमशः बजेट व्यवस्थापन गरेर विकास गर्दै जाने उनले बताए। 

नगरपालिकाका अधिकृत शंकर भण्डारीका अनुसार करिब दुई महिनाको मेहनतले दरबारलाई संग्रहालयका रूपमा विकास गर्न सकिएको हो। हराएका पुरातात्विक सामग्रीमध्ये १ सय ६६ वटा फिर्ता ल्याएर संग्रहालयमा राखिएको उनले बताए।

वि सं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शम्शेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए। विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर महल बनाइएको छ।

विसं १९६० मा खड्ग शम्शेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गरे भन्ने श्री ३ चन्द्र शम्शेरले थाहा पाए। चन्द्र शम्शेरले पाल्पामा सेना पठाई तैनाथी आफ्नो हातमा लिए। आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए भन्ने ऐतिहासिक कथन छ।

तानसेन नगरपालिकाको बौघागुम्हा र बगनासकाली गाउँपालिकाको खानीगाउँ गाउँको बिचमा अवस्थित रानीमहलमा घुमघाम युवापुस्ताको रोजाइमा पर्ने गरेको छ। धार्मिक र पर्यटकीयरुपले अति महत्वपूर्ण रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा अवस्थित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell