PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

एक दशकपछि ब्युँतियो त्यो 'गुरुकुल' जसबाट सुनीलले नाटकलाई पुन: परिभाषित गरेका थिए



लक्ष्मी बलायर

एक दशकपछि ब्युँतियो त्यो 'गुरुकुल' जसबाट सुनीलले नाटकलाई पुन: परिभाषित गरेका थिए

गुरुकुल अब कहिले सुरु हुन्छ? बारम्बार सोधिने प्रश्न। यो प्रश्न जसले रंगकर्मी सुनील पोखरेललाई घोचिरहन्थ्यो। बन्द भएको थिएटर पुन: सञ्चालन गर्न नचाहेका होइनन् उनले। तर, अभाव पैसा र जग्गाको। त्यही अभाव सधैँ गुरुकुलका लागि तगारो। सुनील गुरुकुल थिएटरका लागि दिगो स्थानको खोजीमा थिए। उनले सरकारसँग जग्गा भाडामा उपलब्ध गराइदिन भनिरहे। र, सरकारहरुले आश्वासन पनि दिइरहे।

बन्द भएको गुरुकुल थिएटरले १० वर्षपछि भने पुनर्जीवन पाएको छ। पुस ३० गतेबाट यो थिएटर फेरि सञ्चालनमा आयो। सुरुवाती दिनमा सुनील पोखरेलको अनुवाद र निर्देशन रहेर पुरानै नाटक ‘पुतलीको घर’ मञ्चन गरिएको छ। यसरी १० वर्षपछि गुरुकुल सञ्चालन हुनुलाई एउटा संयोगका रुपमा लिन्छन् पोखरेल।

‘१० वर्षपछि गुरुकुल पुन: सञ्चालन हुनु संयोग हो। किनकि पहिलेदेखि नै मलाई गुरुकुल पुनः सञ्चालन गर्ने मन थियो। तर कहिले जुरेन। अहिले काठमाडौं महानगरपालिकाले एक वर्षका लागि भाडा तिर्ने भनेपछि हामीले थिएटर सञ्चालनमा ल्याएका हौँ। निकै खुशी लागिरहेको छ,’ सुनीलले सुनाए।

काठमाडौं महानगरपालिकाले एक वर्षको भाडा बेहोर्ने भएपछि थापागाउँ स्थित गुञ्ज थिएटरको एउटा हल ‘गुरुकुल थिएटर’ नाममा सञ्चालनमा आएको हो।

+++

उमेरले ५९ वर्ष कटिसकेका सुनीलको दाह्री सेतै भइक्यो। तर भने उनमा जोश र जाँगर पुरानै छ। बन्द भएको थिएटर पुन: सुरु गरेर जीवनमा निभ्न लागेको बत्ती बाल्न खोजिरहेका छन् उनी। जस्ले थिएटर पुन: सञ्चालन हुँदा उत्साहका साथै केही डर थपेको छ उनमा। एक त बढ्दो कोरोना संक्रमण र अर्को अहिलेसम्म थिएटरका लागि दीर्घकालीन जग्गा नभेटिनु। उनलाई फेरि डर छ - इतिहास बोकेको गुरुकुल थिएटर फेरि हराउने त होइन।

यसरी भएको थियो बन्द

२०५९ सालको अन्यतिर सुनील पोखरेलले साथीहरुसँग मिलेर गुरुकुल थिएटर सुरु गरेका थिए। गुरुकुल स्थापना हुँदा पोखरेल अभिनयको बुलन्दीतिर थिए। भारतको नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा पढेका उनले सीप, श्रम र ऊर्जा थिएटरमा समर्पण गरेका थिए।

गुरुकुल थिएटरलाई नेपाली रंगमञ्चको कोशेढ्ङगाको रुपमा पनि लिइन्छ। किनकि नाटकलाई जनमानसमा भिजाउन र पुरानो ढर्राको रंगमञ्चलाई व्यवसायिक बनाउन निकै योगदान पुर्‍याएको थियो।

गुरुकुलमा सुनीलको कलाकारिता जम्थ्यो। उनीसँग नाटक सिक्न चाहनेहरुको कक्षा जम्थ्यो। अभि सुवेदीजस्ता प्राज्ञहरु जम्थे। विश्वविद्यालयमा पढ्दै गरेका विद्यार्थीहरु कक्षा कोठामा नबुझेको पाठ - यही नाटक घरमा नाटक हेरेर बुझ्थे। एक किसिमले भिड लाग्थ्यो पुरानो बानेश्वरबाट मैतीदेवीतिर झर्दा दायाँतिरको डाँडोमा। अभिनय होइन, लाग्थ्यो ध्यान चलिरहेको छ त्यहाँ।

१० वर्षका लागि जग्गा लिजमा लिएर आरोहण गुरुकुल थिएटर सुरु गरिएको थियो। सम्झौता अवधि सकिन दुई वर्ष बाँकी थियो तर घरधनीले जग्गा बेच्न भनेपछि थिएटर २०६८ सालमै बन्द भयो।

बन्द भएपछि उनले लामो समयका लागि जग्गा लिजमा लिने कोसिस गरे। सरकार समेत गुहारे। काठमाडौंमा कौडीको भाउमा भाडा लगाएर समाज कल्याण परिषद आम्दानी उठाउँदै बसे पनि गुरुकुलका लागि भृकुटीमण्डप भित्रको खाली भाग दिन चाहेन। त्यहाँ ठाउँ देखेर गुरुकुलका सहृदयीहरुले पहल गरेकै थिए। राजनीतिक डनगिरी चलेको मुलुकमा रक्सीका भट्टी खोल्न जति सहज नाटक घर बनाउन किन हुन्थ्यो? यस्तै हालतले निराश बनाउथ्यो सुनीललाई। यसबिच उनी यतिसम्मको अवस्थामा पुगे किन थिएटर अब फेरि उनले उठाउँछन् भन्ने पत्याउन सकिने थिएन। जमिरहेको गुरुकुल बन्द भए पनि पोखरेल रंगमञ्चबाट भने टाढा रहन सकेनन्। उनी नाटक अध्यापन र अभिनयमा उनी जोडिइरहे। अपडेट भइरहे।

+++

थिएटर बन्द हुँदा सुनीलको जीवनमा निकै असर पुग्यो। त्यही असरबाट बाहिर निस्कन नै थिएटर फेरि सञ्चालन गरेको उनको भनाई छ। उनका लागि यो एक दशक साँच्चै तनावपूर्ण थियो। लामो समय नाटकमै समर्पित सुनीलका लागि फेरिएका नयाँ माध्यम र प्रवृत्तिले तानेन। त्यसैले त सुनील समकालीन नेपाली नाटकका सबैभन्दा अग्लो शिखर बनिरहे। उनका चेलाहरु नै यस क्षेत्रमा नामुद भइसकेका छन्। तिनीहरु नै सुनीलका लागि प्रेरणाका स्रोत बनिसके। सकसपूर्ण अवस्था पनि अस्थिर थियो उनका लागि जसरी गुरुकुलको 'वाह वाह' एकाएक अस्थिर बनेर बन्दको हालतमा पुग्यो।

त्यसैले समय बदलियो अनि ठाउँ फेरियो। पाका बन्दै गए उनी। तर सुनीलमा अभिनयको जोश उही छ। एक दशकपछि फेरि खुल्दै गरेको नाटक घरको उद्घाटनका दिन यताउता दौडधुप गर्दा केही गलेको देखिएका थिए उनी। कोसिस नछोड्ने उनको अठोट जब्बर देखिन्थ्यो। त्यसैले त दशकपछि बन्द भएको थिएटरमा पर्दा उघारिँदा, दर्शक दीर्घाका सिटहरु भरिँदा उनको अनुहार चम्किलो देखियो।

‘उमेरले पनि काम गर्दा असर गर्दो रहेछ। जुन स्वभाविक पनि हो। तर पनि ऊर्जामा त्यति फरक भने पाएको छैन्,' उनले आफ्नो जोशबारे सुनाए, 'उमेरले जीवनको अनुभवका साथै कामको अनुभव पनि दिने रहेछ।’

गुरुकुलको नयाँ टिममा युवाहरुको बढी सक्रियता छ। जसमा सुनीलले नै पढाएका विद्यार्थीहरु धेरै छन्। साथै पुराना साथीहरुले पनि सकेको सहयोग गरेका छन्। आफैले पढाएका विद्यार्थीहरु भएपछि काम गर्न त्यति गाह्रो भएन। साथै अहिलेका रंगमञ्चमा लाग्ने कलाकारहरु निकै मेहनती भएको र उनीहरुको राम्रो भविष्य रहेको उनको तर्क छ।

पुराना अनुभवी र नयाँ पुस्ताको समूह छ अहिले उनीसँग। सबै युवा साथीहरुले मिलेर सम्पूर्ण काम गरेको उनले बताए।

१४ वर्षको उमेरदेखि उनी नाटकमार्फत् पहिचानको खोजीमा लागे। त्यतिबेला खोजेको पहिचान र नामको अर्थ अहिले नरहेको ठम्याइ छ उनको। 'अहिले आएर आफूले जे खाजिरहेको छु त्यो चाहिँ महत्वपूर्ण लाग्छ,' सुनीलले भने। अहिले आएर सुनीलका लागि नाटक जीवनको अर्थ खोज्ने बाटो बनेको छ।

गुरुकुलमा कस्ता नाटक मञ्चन हुँदैछन्?

गुरुकुल थिएटरको हलमा १५० जना मात्रै अट्ने क्षमता छ। साथै थिएटरले असार मसान्तसम्म पुरानै नाटकहरु मञ्चन गर्ने तयारी गरेको छ। ती नाटक पहिले गुरुकुलमा नै मञ्चन भइरहेका हुन्।

‘गुरुकुलमा केही महिना पुरानै नाटकहरु मञ्चन गरिनेछ। किनभने पछिल्लो पुस्ताका साथीहरुले ती नाटकहरु हेर्न पाउनु भएको छैन,' किन त पूराना नाटक भन्ने प्रश्नमा उनले सुनाए, 'त्यो हिसाबले पुरानै नाटकहरु देखाउने सोचेका छौँ। नाटक टिममा पुरानै कलाकार हुनुहुन्छ। साथै केही नयाँ कलाकार समेत थपिनु भएको छ।’

पुराना गुरुकुलका चर्चित नाटकहरु ‘डल्स हाउस’, ‘ताराबाजी लैलै’,‘जात सोध्नु जोगीको’, ‘अग्निको कथा’ र एउटा नयाँ नाटक पनि मञ्चन गरिनेछन्। जसमध्ये हेनरिक इब्सनको ‘पुतलीको घर’ अर्थात ‘डल्स हाउस’ माघ १ गतेदेखि २२ गतेसम्म सोमवार बाहेक साँझ साढे ४ बजे मञ्चन हुनेछ। शनिवार भने १ बजे पनि देखाइने छ।

नाटक ‘डल्स हाउस’ गुरुकुल सुरु भइसकेपछि मञ्चन भएको दोस्रो नाटक हो। सुरुमा गुरुकुलले नाटक ‘अग्निको कथा’मञ्चन गरेको थियो। प्राध्यापक अभी सुवेदीले लेखेको यो नाटकले शिक्षा र ज्ञानमाथि गहन विष्लेषण गरेको छ। नाटक ‘पुतलीको घर’ त विभिन्न देशमा सहित २ सय १७ शो गरिसकेको गुरुकुलले। नाटकमा शेखर चापागाई, निशा शर्मा र राजकुमार पुरानै कलाकार छन् भने दुई जना नयाँ पनि थपिएका छन्।

शेखर नाटकमा नोराको श्रीमानको भूमिकमा छन्। पुरानै नाटकमा धेरै वर्षपछि अभिनय गर्दा नोस्टल्जिक सुनिए उनी। नाटक मञ्चन भएसँगै बेग्लै खाले ऊर्जा थपिएको बताए। गुरुकुल व्युँतिदा उनी दङ्ग छन्।

‘रंगमञ्च धेरै खुले पनि सरकारले बाटो बिराउँदा बाटो देखाउने काम पनि गुरुकुलले गरेको थियो,' उनले भने, 'गुरुकुल बन्द हुँदा यस्ता क्रियाकलाप छुटिरहेका थिए।'

उनले हरेक विधाका मानिसहरुलाई समेटेर फेरि एकै ठाउँमा उभ्याएर नयाँ तरिकाले अघि बढ्ने आशा पलाएको सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell