PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

जग्गा किन्ने क्रममा भेट, भाग्ने प्रस्ताव गर्दा हत्या!



पहिलोपोस्ट

जग्गा किन्ने क्रममा भेट, भाग्ने प्रस्ताव गर्दा हत्या!

काठमाडौं : ३२ वर्षीय महिलाको हत्याको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १० कटानी टोल बस्ने सुरतराम हजराकी श्रीमती सावित्रीकुमारी महराको हत्या भएको थियो।

३२ वर्षीया महराको हत्याको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा सर्लाही हरिवन नगरपालिका वडा नम्बर १० ताइवान टोल बस्ने २७ को सन्तोष साह, २७ वर्षीय मुकेश ब्लोन र २२ को रोहित हजरा रहेका छन्।

उनीहरु विरुद्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। पुस २३ गते बिहान साढे १० बजे सावित्रीकुमारी महराको शव आधा जलेको अवस्थामा उखु खेतभित्र फेला परेको थियो। उनी पुस १७ गते औषधी गराउन भनेर घरबाट वीरगंज हिँडेकी थिइन्।

किन भयो सावित्रीको हत्या?

करिब ८ महिना अघि जग्गा खरीद गर्नेक्रममा सावित्री र सन्तोष साह बिच चिनजान थियो। जग्गा हेर्ने क्रममा सावित्रीका बुबा मार्फत् चिनजान भएको थियो उनको। जग्गा किन्न दुई लाख रुपैयाँ बैना रकम दिएका थिए उनले। त्यसपछि सावित्री र सन्तोष बिच पटकपटक भेट हुन थालेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

उनीहरु बिच निकटता बढ्दै थियो। त्यसपछि सावित्रीले भगाएर लैजान दबाब दिएको सन्तोषले प्रहरीमा बयान दिएका छन्। सन्तोष विवाहित नै हुन्। सँगै बस्ने र भाग्ने दबाव झेल्न नसकेपछि सावित्रीको हत्या गर्ने योजना सन्तोषले नै बनाएको प्रहरीको अनुसन्धानमा देखिएको छ।

सन्तोषको हत्या योजनालाई गाउँकै साथी मुकेश ब्लोन र रोहित हजराले साथ दिए। उनीहरुलाई पैसा दिएर सन्तोषले आफ्नो योजनामा पारेको प्रहरीको दाबी छ। पुस १७ गते सन्तोषले फोन गरेर सावित्रीलाई तयार बस्न भनेका थिए। त्यसपछि उनीहरुले गाउँकै बिको भन्नेको रक्सी भट्टीमा मदिरा सेवन गरेको देखिएको छ।  

त्यसपछि ना ४५ प ५२०७ नम्बरको मोटरसाइकलमा तीन जना केटाहरु चढेर गएको देखिएको छ। बरहथवा श्रीपुर कटानी जाने बाटोमा पर्ने ईट्टा (चिमनी) भट्टा नजिक मोटरसाइकल रोके। मुकेश ब्लोन र रोहित हजरा रोड भन्दा पूर्वको उखूबारीमा लुक्न गए। 

त्यसपछि सन्तोषले मोटरसाइकलमा सावित्रीलाई लिन गए। सावित्रीलाई लिएर सोही ठाउँमा मोटरसाइकल रोके। पिसाब फेर्ने बाहान बनाई सावित्रीलाई मोटरसाइकल नजिकै छाडेर ईट्टा भट्टातिर गएको प्रहरीको बयानमा उल्लेख छ। त्यसपछि मुकेश र रोहित आएर सावित्रीको मुख थुनी, घाटी थिची हत्या गरेका थिए।

उनको शव बाटो छेउकै उखुबारीभित्र लगे। अपराध लुकाउन उनको कपडा खोली जिउमा पेट्रोल छरेर आगो लगाएका थिए। पेट्रोल आफ्नै मोटरसाइकलबाट झिकेर लगेको खुलेको छ।

त्यसपछि सावित्रीले बोकेको व्याग लिएर उनीहरु फरार भएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell