PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पुसको अन्तिम सातादेखि काठमाडौँ उपत्यकामा उकालो लागेको कोरोना ग्राफ, माघमा अझै बढ्ने संकेत



पहिलोपोस्ट

पुसको अन्तिम सातादेखि काठमाडौँ उपत्यकामा उकालो लागेको कोरोना ग्राफ, माघमा अझै बढ्ने संकेत

काठमाडौँ: कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमोक्रन’ फैलिएसँगै काठमाडौँ उपत्यका फेरि भाइरसको ‘हटस्पट’ बन्दै गएको छ। निकै संक्रामक मानिएको ‘ओमोक्रन’ फैलिनबाट रोक्न प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाए पनि उपत्यकामा भीड कम भएको छैन। जसकारण पुसको अन्तिम सातामा उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढ्यो।

संक्रमणदर दिनहुँ बढ्दै जाँदा माघमा संक्रमणको ग्राफ अझै बढ्ने संकेत देखिएक छ। चिकित्सकहरुले जनस्वास्थ्यको मापदण्ड पालना नभए संक्रमण तीव्र गतिमा फैलिने चेतावनी दिइरहेका छन्। कोरोनाको तेस्रो लहरमा करिब १५ हजार मानिस अस्पताल भर्ना हुन सक्ने अनुमान सरोकारवाला निकायले गरेको छ। हाल गम्भीर संक्रमति अस्पतालमा धेरै नभए पनि आउने दिनमा संक्रमण फैलिन अस्पतालमा दोस्रो लहरको जस्तै चाप बढ्ने अनुमान छ। पुसको अन्तिम साता काठमाडौँ उपत्यकामा अधिकांश अस्पतालमा संक्रमितको संख्या बढ्यो। खोप नलगाएका मात्र नभइ खोप लगाएका संक्रमित नै अस्पताल पुगे। हाल काठमाडौँमा ९० प्रतिशत संक्रमित होम आइसोलेसनमा छन्।

गत शनिबार (पुस २४ गते) काठमाडौं उपत्यकामा मात्र दुई हजार ९७५ सक्रिय कोरोना संक्रमित थिए। आज (माघ) १ गतेसम्म आइपुग्दा उपत्यकामा सक्रिय संक्रमितको संख्या १२ हजार ८१४ पुगेको छ।

कूल सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी संक्रमित काठमाडौँ उपत्यकामा छन्। हाल काठमाडौँमा ९ हजार ६१ जना, ललितपुरमा दुई हजार ३८२ जना र भक्तपुरमा एक हजार ३७१ जना गरी कूल १२ हजार ८१४ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ५९ प्रतिशत संक्रमित छन्।

संक्रमण बढेसँगै उपत्यकाका अस्पताल भरिन थालेका छन्। यद्यपि, अधिकांश संक्रमित होम आइसोलेसनमै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै संक्रमितको संख्यामा दिनहुँ बढ्दै गएको छ। निकै संक्रामक भनिएको कोभिड १९ को ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमणदर पनि बढेको हो।

उपत्यकामा पछिल्लो केहीदिन यता दैनिक हजारभन्दा धेरै जनामा संक्रमण देखिँदै आएको छ। पुसको अन्तिम सातामात्रै उपत्यकामा ९ हजार बढीमा संक्रमण पुष्टि भएको छ। माघ १ गते भने काठमाडौं उपत्‍यकामा थप दुई हजार २१९ जनामा संक्रमण देखिएको छ।

शनिबार पुष्टि भएको कूल संक्रमितको यो ४७.८६ प्रतिशत हो। आज १४ हजार ५५६ जनाको परीक्षण गर्दा देशभर चार हजार ६३६ जनामा संक्रमण देखिएको थियो।

कुन दिन कति थपिए?

शुक्रबार (पुस ३० गते) काठमाडौं उपत्यकामा दुई हजार ६०७ जनामा कोभिड १९ संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा एक हजार ९१३ जना, ललितपुरमा ३७७ जना र भक्तपुरमा ३१७ जनामा संक्रमण देखिएको थियो।

बिहीबार (पुस २९ गते) काठमाडौँ उपत्यकामा एक हजार ९१६ जनामा संक्रमण देखिएको थियो। बिहीबार काठमाडौँमा एक हजार ४४९ जना, ललितपुरमा ३१७ जना र भक्‍तपुरमा १५० जनामा संक्रमण देखिएको थियो।

बुधबार (पुस २८) उपत्यकामा एक हजार ५३८ जनामा संक्रमण देखिएको थियो। काठमाडौँमा एक हजार १६८ जना, ललितपुरमा २३६ जना र भक्तपुरमा १३४ जनामा संक्रमण देखिएको थियो।

मंगलबार (पुस २७ गते) भने काठमाडौँ उपत्यकामा एक हजार २८६ जनामा संक्रमण देखिएको थियो। काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जनामा संक्रमण देखिएको थियो। मंगलबारदेखि नै दैनिक संक्रमितको संख्या हजारमाथि नाघेको हो।

सोमबार (पुस २६ गते) उपत्यकामा ८७६ जनामा संक्रमण देखिएको थियो। काठमाडौँमा ६७५ जना, ललितपुरमा १३६ जना र भक्तपुरमा ६५ जनामा संक्रमण देखिएको थियो।

आइतबार (पुस २५) काठमाडौँमा ४९१ जना ललितपुरमा ९९ जना र भक्तपुरमा २५ जना गरी कूल ६१५ जनामा संक्रमण देखिएको थियो।

पुस २४ गते शनिबार भने काठमाडौँ उपत्यकामा ४८१ जनामा संक्रमण देखिएको थियो। काठमाडौँमा ३६२ जना, ललितपुरमा ९४ जना र भक्तपुरमा २५ जनामा संक्रमण देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell