हरेक यात्रा सहज हुँदैन। घुमघाम रमाइलो मात्र कहाँ! केही रमणीय र कष्टपूर्ण भोगाइले नै हो यात्रा स्मरणीय बनाउने। जोखिमले नै हो रोमाञ्चकता थपिदिने। यस्तै बन्यो म र मेरो सहधर्मीको एउटा यात्रा। यात्रा कपुचेको थियो तर विना कुनै योजना।
सुमन दिदीसँग घुम्न जाने कुरा पहिल्यैदेखिको। धैरैपछि सिक्लेसको पल्लोपट्टिको ताङतिङ गाउँ जाने योजना बन्यो। हाम्रो योजनामा दिल दाइ पनि थपिए। योजना बनेको लगभग महिना दिनपछि पुस १० गते पोखराबाट ताङतिङका लागि निस्कियौं। बिहान आठ बजे काँहुखोलाबाट यात्रा सुरु भयो। बादलले ढाकिएको हिमाल र नाङ्गा पहाड र रुख। मौसम खुलेको थिएन। केही दिन अझै घमाइलो नहुने सूचना थियो। पानी नपर्ने भएपछि मौसमको वास्ता गरिएन। ठ्याक्कै डाँडापारि देखिने बाटोले सिक्लेस डोहोर्याउथ्यो। पर्यटकीय स्थलको खाल्डाखुल्डी बाटोमा उफ्रिएको बस र धुलो खाँदै लगभग चार घण्टामा ताङतिङ पुग्यौं।
मोटरबाटो नजिकै रहेछ हामी बस्ने लज। बसबाट ओर्लनसाथ ताङतिङको चिसो स्याँठले शरीर कमायो। लजका दाइ भाउजुको आतित्थ्य सत्कारले न्यायो महसुस भयो। बादलमा लुकेको हिमालको वास्ता नभए पनि पर देखिएको खोँचले लोभ्याइरहेको थियो। अर्थात्, कपुचेको खोँचले तानिरहेको थियो।
ताङतिङमा भेटेको यो पिङ जसले मलाई मच्चिने रहर जगायो भलै पिङ मेरा लागि नौलो थिएन।
कपुचे जाने रहर पुरानो। ताङतिङ जाने योजना बनाइसकेपछि सुमन दिदीलाई कपुचेसम्मै जाने प्रस्ताव नराखेको होइन। तर दिदीले आँटिनन्।
लजका दाइले सिक्लेसबाट मात्र होइन, ताङतिङबाट पनि कपुचे जान मिल्ने सुनाए - त्यो पनि मात्र तीन घण्टामा। हौसिनका लागि यति कुरा काफी थियो। छोटो समयमा पुग्ने कुराले सुमन दिदीलाई पनि तान्यो। एकाएक हाम्रो यात्रा कपुचेको लागि तय भयो।
लजका दाइले तीन घण्टा लाग्ने बताए पनि हामीलाई पाँच वा छ घण्टा लाग्ने अनुमान गरेका थियौं। गाउँमै उकालो ओरालो गर्नेको गतिमा कसरी सक्नु?
यो यात्रामा हौस्याए एक बेकरी सञ्चालकले। साँझ चिया पिउँदै गर्दा बेकरीका सञ्चालकसँग कुरा भयो। उनले कपुचे जाने बाटो सहज र छिटो रहेको बताए। जाने मन बनिसकेको थियो त्यसमा अरुको राय बुझ्न आवश्यक ठानेर सोधेका थियौं। जतिलाई सोध्यो सबैले बाटो सहज बताएपछि यात्राको निश्चित।
कपुचे यात्राको पहिलो दिन
११ गते बिहान खाजा खाँदै गर्दा लजमा अर्का एक दाइले बाटो सहजै भएको बताएपछि अझ निर्धक्क भइयो। बेकरी सञ्चालकले बाटो अलमलिन सक्छ भनेर गाइड लैजान सुझाएका थिए। तर, जिप चालक दाइको कुरा सुनेर गाइड नचाहिने लाग्यो। बेकरी सञ्चालकको बोलीमा व्यवसायिक पारा सुनिएको थियो। उनले सुझाएअनुसार आधा बाटोसम्म फिर्ता हुने गाइड! दुई घण्टाको बाटोलाई मात्र साथ दिने गाइड किन लैजाने? लगिएन।
निर्माण हुँदै गरेको जलविद्युत आयोजनाले बाटो पुर्याएको रहेछ। हामीलाई त्यही बाटो नछाडी जान सुझाएका थिए। बिहान साढे आठ बजेतिर कपुचेका लागि गाउँ छाड्दा घरमा एक दिन फोनको नेटवर्कबाट टाढा रहने जानकारी गराइयो।
बिना योजना र तयारी! ताङतिङका लागि अड्कलेर लगेको खर्च र कपडा। किताब बोक्ने झोलामा दुई जोर बाक्ला कपडा कोचेकी थिएँ। हाइकिङको जुत्ताधरी थिएन। दिदी र दाइसँग त्यति पनि थिएन जति मसँग थियो। उनीहरु एउटै ज्याकेटको भरमा।
गाउँलेले दुई घण्टा जंगलको बाटो उक्लिएर मोटरबाटोमा पुगेपछि तल झर्न भनेका थिए। त्यहाँबाट बाटैबाटो कपुचे पुगिने भनेका थिए। उनीहरुले भनेअनुसार हामी जंगलको बिचमा भेटिएको मोटरबाटोमा समात्यौं। डेढ घण्टा हिँडेपछि तल बन्दै गरेको हाइड्रो देखियो। तर अगाडि बढ्दा बाटो सकियो। जानु पो कता? त्यतिन्जेलसम्म हामीले बाटो बिराइसकेछौं। पारी हाइड्रोका कामदार देखिए पनि मादीको चर्को सुसाहटले के सुन्थे, हाम्रो कुरा? हात हल्लाएँ। पछि एकजनाले देखेर इशारा गर्दै बाटो घुम्नुपर्ने भने।
उनको इसारालाई पहिल्याउँदै तल झर्न थाल्यौं। तलतिर देखिएको बाटोले नै कपुचेतिर डोहोर्याउने ठान्यौं। बाटो नभए पनि जंगलभित्र पसेर तलतिर झर्यौं। डोजरले खोस्रेको भित्ताबाट तल झर्नमात्र के भ्याएका थियौं - एकजना मजदुर दाइले बाटो बिराएको बताए।
बाटो रहेनछ। फेरि त्यहीँ अप्ठ्यारो बाटो उक्लिनु पर्ने भयो! कपडामा कुरै कुरो। त्यो पनि जंगलको सेतो झुसे। त्यतिखेरको हालत सम्झदा हाँसो लाग्छ। कुरोले बिगारेको कपडाको स्वरुप सम्झेर यो लेख्दै गर्दा हाँसो रोक्न सकिरहेको छैन। हामी तीनै जनाको हालत हेर्ने लायक थियो त्यतिखेर।
दुई घण्टासम्म जंगलमा रुमलिएर फेरि पहिलेकै बाटोमा पुग्यौं। बाख्रा चराउने भाइ देखिए। उनलाई बाटो सोधेको २० मिनेट माथिसम्म हिँडे सही बाटो आउने सुनाए। त्यतिखेर दिउँसोको दुई बजिसकेको थियो। अब यसै दिन कपुचे पुगिँदैन भन्ने थाहा भयो। यात्रा छोट्याएर हुगु गोठसम्म जाने कि! केहीबेरको हिँडाइपछि हामी सही बाटोमा पुग्यौं - एउटा बाटो उक्लिए सिक्लेस जान्थ्यो, अर्को हुगु गोठ हुँदै कपुचे। बल्ल राहत महसुस भयो। अफसोच! त्यो राहत क्षणिक बन्यो।
मोटरबाटोबाट ओरालो झरेर मादीको तिरैतिर जलविद्युत आयोजनाले खनेको बाटोमा पुगियो। बिचमा दुईजना कामदार भेटिए।
हामी हिँडेको बाटो ठीक छ?
उनीहरुले त्यही बाटै बाटो जाँदा आठवटा साँघु नाघेपछि हुगु पुगिने सुनाए। हामी ढुक्क भयौं। लाग्यो अब कष्टको बाटो सकियो। हिँडियो पनि। तर हुगु आएन। घण्टौंदेखि छेउमै सुनिएको मादीको आवाज अब बिरहलाग्दो सुनिन थालेको थियो। खोलाको बगरका ढुंगाले खुट्टा बिझाउन थालिसकेको थियो। भोको शरीर, मर्दै गरेको जाँगर। यात्राका लागि केही खानेकुरा त लैजानुपर्थ्यो नि! साथ हुन्थ्यो त त्यतै जता हुन्थ्यो त्यतै बास बस्थ्यौं। दिदी सबैभन्दा धेरै थकित। उनका सुस्ताएका पाइलाको लयमा हामी पनि। मन अधैर्य बन्दै थियो।
हिँड्दै थियौं तर दुरी छोटिएको अनुभूति थिएन। रोमाञ्चक ठानेको यात्रा कष्टकर बन्दै थियो। हुँदाहुँदा मादी तर्न राखिएका साँघु पनि देखिन छाडे। कतै ढुंगाका फट्के। त्यहीँ पनि खोलाको बेगले लडाउला भन्ने डर। भएका साँघु पनि असाध्यै असहज। दुवै किनारमा जंगल बिचमा मादी। मादीको तिरैतिर हामी। झिसमिसे साँझ पर्दै थियो। अँध्यारोसँगै मनमा डरले डेरा जमाउँदै गयो। हुँदाहुँदा अब साँघु समेत छैन तर खोला तर्नु छ।
जुत्ता खोलेर खोलामा खुट्टा हुल्दा चिसोले समात्यो। हिमनदी न पर्यो, मुटु नै कमायो। माथि भनेजस्तो बाटो सहज होइन, पूरै जोखिमपूर्ण रहेछ - थाहा भयो। जसोतसो मादी तर्यौं - एक पटक होइन, दशपटक। स्याँठ र अँध्यारो रात, कष्टको बयान गर्न सकिन्न।
मोबाइलको टर्च बाल्दा पनि उज्यालो नदेखिने। तै पनि साँघु खोज्यौं। भेटिएको ठाउँमा त्यसैबाट पार गर्यौं। नभेट्दा पानीमा हेलिनुको विकल्प थिएन। सुरुमा खोलाको बहाव कम र कम गहिराई हुँदा सहन सकिन्थ्यो। तर जति अघि बढ्दै गयो उति नै नदीको करेन्ट ज्यादा। अनि गहिराई पनि। कम्मर तलतिर पूरै भिजिस्कयो। यतिखेर अँध्यारो, चिसो स्याँठसँगै निथ्रुक्क कपडा! गन्तव्य पुग्न कति समय लाग्छ? पत्तो नाई। थकाइ बताएर नसकिने।
अति भएपछि खोलाको तिरैमा बास बस्न सुझाएँ। एक ठाउँमा दाउरा र आगो बालेको कोइला बाँकी थिए - रात गुजार्न सकिन्थ्यो सायद। तर, दुवै बस्न तयार हुनु भएन। फेरि मादी तर्नुपर्ने। अब तिनैजनाले हात समाएर तर्ने तय भयो - मोबाइल बालेर। अवस्था यस्तो थियो कि - एक जना लडे, तिनै जनालाई बगाउने पक्का!
घडीमा आठ बजिसक्यो। टाढासम्म अँध्यारोमात्रै देखिन्छ। केहीबेर हिँडेपछि पर एउटा लाइट देखियो। त्यो आशाको दीप थियो। लाग्यो अब त खोला तर्नुपर्दैन। होइन रहेछ। झन डरलाग्दो भेलबाट पार लाग्नुपर्ने! यहाँनेर पानीको बहाव अचाक्ली धेरै। गहिराई पनि उस्तै। दिल दाइले सकिँदैन भन्दै थिए। हामीसँग पछाडि फर्किने विकल्प पनि थिएन किनकि कतै पुगिने थिएन फर्किँदा। फेरि जबरजस्ती खोला तर्ने तयार भयौं।
नदीको बिचमा नपुग्दै सुमन दिदी लडिन्। उनी ढुंगामा आड लगाएर जोगिइन्। उनलाई जोगाउन दिल दाइले मेरो हात छोड्नपर्यो। मादीको बहावलाई मेरो सानो शरीरले बेतोडसँग टक्कर दियो। थाहा थियो - म लडेँ भने धानिन सक्दिन। पक्का बगाउँछ। तर मादी पनि के कम! मादीको बिचमा हाम्रो पैठेजोरी चल्यो।
‘दाई छिटो आउनु न म धेरैबेर होल्ड गर्न सक्दिन। खोला बेस्सरी आएछ। बगाउन लाग्यो,’ मैले भनेँ।
दिदीलाई ढुंगामा अड्याएर दाइ मतिर आए। मलाई पार गराए। दिदी खोलाको बिचमै। उनलाई लिन दाइ फेरि खोलामा हेलिए। र, आफैँ लडे।
लाग्यो दाइलाई मादीले पक्का बगायो। धन्न दाइ ढुंगामा आड लगाउन भ्याए। त्यतिखेर एकाएक मम्मीको याद आयो। रुनमात्र सकेकी थिइन् म। मिल्थ्यो त डाँको छोडेर रुन्थेँ।
शरीर सबै रुझिसकेको थियो। सुरुमा खोलाभित्र पस्दा चिसो लागे पनि अब त्रासले त्यसलाई भुलाइरहेको रहेछ। खोलाबाट बाहिर निस्किएपछि कम्मरमुनि शरीर छैन झै लाग्यो। अघि देखिएको बत्तितिर पुग्नु थियो। केहीबेरपछि पुग्यौं पनि। अघि सरेँ र बोलाए। भर्खरै निभाएको आगो र बत्तीले जानकारी दिइसकेको थियो मान्छे छन्। बोलाएँ। हामी हाइड्रोको क्याम्पमा पुगेका रहेछौं।
टेन्टबाट मानिसहरु निस्किए। हाम्रो हालत देखेर उनीहरुले आगो बाले। र, गलत बाटो आएको पनि जानकारी दिए। त्यत्रो ज्यान फालेर आएको त फेरि गलत!
‘तपाईँहरुलाई यो बाटो कसले पठाएको?’ सँगै बेकरी सञ्चालकको नाम लिँदै, 'उसैले हो? भनेर सोधे।'
ताङतिङको कुरा सुनेर दु:ख पाउनेमा हामी मात्र रहेनछौं। यसअघि पनि हामी जस्तै अरु पनि अलपत्र पर्दै यहाँ आइपुगेका रहेछन्। उनीहरु त यो क्याम्पसम्म पनि नपुगी ओडारमै रात बिताएका रहेछन्।
यहाँबाट हुगु गोठ पुग्न बीस मिनेट लाग्ने रहेछ। फेरि खोला तर्नुपर्ने। धन्य! अघिल्लो दिनमात्र साँघु हालिएको रहेछ। हामी हिँडेको पहाड नै बेग्लै रहेछ। क्याम्पकै दाइहरुले हामीलाई हुगु गोठ पुर्याइदिए। नौ बजिसकेको थियो हुगु गोठ पुग्दा। आगोले एकछिन न्यानो दिए पनि कपडा चिसो थियो। म र दिदीसँग फेर्ने कपडा थिए। दिल दाइसँग थिएन। होटलका दाइले नै फेर्ने कपडा दिए। भिजेका कपडा आगोमा सेकायौं। बिहानदेखि भोको पेटले खाना पायो। थाकेको शरीरले न्यायो बिस्तारा।
भोलिपल्ट ढिलै उठेका थियौं हामी। हुगु गोठबाट कपुचे ताल पुग्न आरामले हिँडे लगभग तीन घण्टा लाग्ने रहेछ। साढे आठ बजेको हुँदो हो हामी त्यहाँ बाट निस्किँदा। सुमन दिदीलाई उकालोमा हिँड्न गाह्रो भयो। हाम्रो पनि पाइलाको गति सुस्ताएको थियो।
बाटोमा उक्लिदै गर्दा कुहिरोले सबै ढाक्न थाल्यो। पहिलोपटक त्यसरी हिमाल ढाकिएकोमा असाध्यै मन नपरेको मलाई। रिस उठ्यो। एकपटक त फर्किम् भन्ने नि सोचेँ। त्यत्रो दु:ख खेप्दा पनि नथाकेको शरीरलाई त्यो कुहिरोले कमजोर बनाइदियो।
हामी बल्लबल्ल कपुचे ताल पुग्यौं। जति सकस भोगे पनि तालको दृश्यले भने मन तान्यो। हुगु हुँदै टाढैबाट हिम पहिरो पनि देखियो। हिमालको खोँचबाट झरेको हिम पहिरो अनि तल थुप्रिएर बनेको हिमताल कपुचे। वाह!
प्रकृतिको सुन्दरता। त्यहीँ तालले आफ्नो गति समातेर केही पर बगेको नदी। गर्जने क्षमता सबैसँग हुन्छ मात्र समय र स्थान सही हुनुपर्ने रहेछ। मौन रहेका हरेक चिज शान्त हुँदैनन् - तालको स्थिरता र नदीको गर्जनले त्यही बुझायो।
ताल छेउ धेरै नभुली हुगुतिर फर्किहाल्यौं। माथि उक्लिँदा र ओर्लिँदा मैले एउटा चिज खोजिरहेकी थिएँ जुन भेटिन। हुगु पुग्दा लजको आँगनमा एकजना नौलो अनुहारका व्यक्ति आगो तापेर बस्दै थिए। हिँडेर फुलेको सासले उनीसँग बोल्न सकिन। आराम गर्दै थिएँ। आगो तापेर बसेका ती व्यक्ति त हिँडिसकेछन्। मैले होटलको दाइलाई उनीबारे सोधेँ। ती तिनै व्यक्ति रहेछन् जसलाई मैले भेट्न चाहिरहेको थिएँ। यी शब्दहरु लेख्दैगर्दा पनि थकथकी लागेको छ भेट्न नपाएकोमा। त्यतिखेरको दु:ख सम्झिँदा कहिल्यै त्यता नफर्किउँ लाग्छ। तर उनलाई भेट्ने इच्छाले मन अझै हुगुमै अड्किएको छ। समय जुरेछ भने फेरि कपुचे नगए पनि हुगुसम्म पुग्नेछु। थकथकी मेटाउन उनको कथा सुन्नेछु। र, मिलेसम्म तपाईँलाई सुनाउनेछु उनीबारे।
हुगुमा धेरै समय अल्झिनु थिएन हामीलाई। सिक्लेस पुग्नु थियो। लगभग तीन बजे हुगुबाट हिड्यौं। लजका दाइले सिक्लेसमा होटल भनिसकेका थिए। फर्किदा धेरै ठाउँमा ओरालो। सुमन दिदी गति बढाएर अगाडि थिइन्। फेरि दुई स्थानमा ठाडै उकालो! दिदीको गति अब धिमा भयो। तर अस्ततिर लागेको सूर्यको गति सुस्ताएको थिउन। ऊ अस्तायो। ढिलोमा छ बजेसम्म सिक्लेस पुग्ने अड्कल फेल खायो। आधा बाटोपनि पार गरेका थिएनौं झपक्कै हुन थाल्यो। बाटो छोटिँदै थियो, उकालो बढ्दै। अँध्यारो जंगलको बिचमा हामी तीन। नचिनेको बाटो। सुनेको थिएँ यो जंगलमा भालुको डर हुन्छ। मोबाइलको टर्च बाल्दै यात्रा छोट्याउँदै थियौं।
घडीले सात बजेको संकेत गरिसक्यो तर गाउँको नामोनिसान देखिन्न। पहाडमात्र देखिन्छ। त्यो पहाड पार गर्न कयौं खोँच पार गर्नुपर्ने अनुमान मात्र गर्न सक्थेँ।
रातमा बाटो बिराइन्छ भनि बिच बाटोमा लिन आउने मान्छे पठाउन भनेको थियौं। होटलका दाइले एउटा डाँडामा पुगेपछि मोबाइलको टावर लाग्ने भनेका थिए। दिल दाइले टावर टिप्ने ठाउँ आएपछि बेल गुरुङ दाइलाई फोन लगाए। सिक्लेस घर भए पनि पोखराको रेडियोमा काम गर्ने दाइसँग चिनाजानी थियो। उनले आधाबाटोसम्म लिनका लागि कोही पठाउँदै थिए।
पाइला चालेकै थियौं सुस्तै भए पनि। केहीबेरमा पहाडतिर एउटा बत्ती देखियो। सुरुमा लाग्यो सिक्लेस होला। तर, गोठ रहेछ। दिदी यति थाकेकी थिइन् कि त्यहीँ गोठमा बास बस्न चाहन्थिन्। जसै पनि सिक्लेस पुग्ने मनासय दाइको र मेरो थियो। त्यो डाँडामा पुगेपछि पर अर्को डाँडाको जंगलमा बत्ती बालेको देखियो। हामीलाई लिन आउनेले इशाराले दिँदै थिए बत्तीबाट।
करिब आधा घण्टाभन्दा धेरै हिँडेपछि उनीहरुसँग भेट् भयो। मेरो गति छिटो र अघि थियो।
‘नानी हामी आयौं।’
मलाई देख्ने बित्तिकै आड उनीहरुले दिए। उनको सम्बोधनमा मातापिताको प्रेम मिसिएको थियो। आखिर लिन आउने अरु कोही नभएर बेल दाइका बुवाआमा।
खै! किन हो यो भेटपछि डर हट्यो। म बेल दाइको आमासँगै गति बढाएँ। दिदीलाई गाह्रो भएकाले बुबा र दाइ पछिपछि हिडिरहे। त्यहाँबाट पनि निकै समय लाग्ने रहेछ। हामीलाई लिन दुईघण्टा बढीको बाटो पार गर्नु सानो कुरा थिएन। बेल दाइलाई धन्यवाद - अँध्यारो बाटोमा आशाका रुपमा आमाबुवा पठाएकोमा। आमासँग गफिँदै हिँड्दा मम्मीको यादले पनि सतायो। दुई दिन भइसकेको थियो घरमा मेरो अत्तोपत्तो थिएन। मम्मीलाई सम्झिँदै गर्दा फोनमा पनि नेटवर्क टिपेछ। सिक्लेससँगको दूरी छोटिएसँगै फोनको घण्टी बज्यो।
सोचेँ - पक्का गाली गर्नुहुन्छ मम्मीले।
उताबाट रुन्चे स्वर सुनियो - बल्ल फोन लाग्यो। कहाँ होस् ठीक छस्?
त्यतिखेर हामी दुवैले राहतको सास फेर्यौं।
अब त गाउँ देखिँदै गयो। त्यतिखेरको अनुभूति शब्दमा उतार्न सक्दिन। जति गाउँ नजिकिँदै गयो, म झन् थाक्न लागेकी थिएँ। हामी बस्ने होटलको बिचमै पर्ने रहेछ आमाको घर। घर पुगेर तातो पानी पिएर आगो तापेँ। दाइ दिदी अझै आइपुगेका थिएनन्। लजमा पुगेको केहीबेरपछि मात्रै दाइ दिदी आइपुगे। त्यतिबेला घडीमा साढे नौ भइसकेको थियो।
भोलिपल्ट हिँड्दा खुट्टा असाध्यै दुखेका। हामीलाई लिन जाने बुवा आमालाई उज्यालोमा भेटेर धन्यवाद दिन मन भए पनी शरीर त्यता जान मानेन। खाना खाएर चुठ्न नपाउँदै बस हिँड्न लाग्यो। सिक्लेसमा बाटो बन्दै छ। समयमा नहिँडे घण्टौंसम्म अड्किन्थ्यौं। त्यसैले हिड्हाल्यौं। यसपालाको यात्रा कष्टपूर्ण रहे पनि अविस्मरणीय रह्यो। कपुचे यात्रामा रहँदासम्म अब कहिल्यै यो ठाउँमा हिँड्दिन लागेको थियो। तर, मन न हो। यात्रा संस्मरण लेख्दै गर्दा फेरि हुगु पुगौं पुगौं भइसकेको छ। जिन्दगीको यात्रा होस् वा अरु केही - चोट खानैपर्छ। यात्राले नै हो सिकाउने। एकपटक ठोक्कियो भन्दैमा हिँड्न छोड्न पनि भएन। एउटा यात्रा कठिन भयो भन्दैमा अर्को गन्तव्य तय गर्न छाड्न मिल्दैन। त्यसैले फेरि यात्रा गर्ने मन छ। तर, यसपाला आफ्नै पाइलाका गतिमा...।