
काठमाडौं: प्रधानमन्त्री कपम टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो खेलमा प्रदेश १ सुदूरपश्चिम प्रदेशसँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले ७ विकेटको जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १९.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
सुरुवाती ब्याटिङ गरेको प्रदेश १ का लागि मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाउँदा सोनु अन्सारीले ३१ रन बनाए। त्यस्तै मिनस थापा र कप्तान अंकित सुवदीले समान २३ रन रन बनाउँदा श्रवण यादव ९ रनमा अविजित रहेका थिए।
बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले समान २ विकेट लिँदा कैलास ऐयर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य महताले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले सानदार सुरुवात गरेको थियो। ओपनर राजु रिजालले सर्वाधिक ६८ रन बनाउँदा अर्को ओपनर सन्तोष भट्टले ४८ रन बनाए। त्यस्तै अर्जुन साउद र नारायण जोशी २६ र ८ रनमा अविजित रहे।
प्रदेश १ का लागि फिर्दोस अन्सारी, मुकुन्द यादव र कमल खत्रीले समान १ विकेट लिए।
जितसँगै ४ अंक जोडेको सुदूरपश्चिम समूह ए को तेस्रो स्थानमा रहँदै बाहिरिएको छ भने १ अंक जोडेको प्रदेश १ तालिकाको पुछारमा छ। प्रदेश १ ले एक खेल खेल्न बाँकी छ। समूह ए बाट नेपाल पुलिस क्बल र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।