टेनिस स्टार नोभाक जोकोभिचलाई अस्ट्रेलियाबाट निकाला गरिने भएको छ। कोभिड १९ विरुद्धको खोप नलगाइ अस्ट्रेलिया पुगेका जोकोभिचको भिसा अस्ट्रेलियन सरकारले दोस्रो पटक रद्द गरेको थियो। उक्त कारवाहीको विरुद्ध जोकोभिचले अदालतमा दायर गरेको निवेदनमा आज सुनुवाइ भएको हो। जसमा अदालतले सरकारले गरेको कारवाहीलाई सदर गर्ने फैसला गरेको छ। यस फैसलासँगै जोकोभिचलाई अब अस्ट्रेलियाबाट 'डिपोट' गरिनेछ।
अस्ट्रेलियाबाट 'डिपोट' नगरिएसम्म उनी मेलबर्नमा 'डिटेन्सन'मा रहनेछन्। यसको अर्थ, उनले भोलिबाट हुने अस्ट्रेलियन ओपन गुमाउनेछन्।
पुरुष तर्फ नम्बर १ र्याङ्किङमा मा रहेका जोकोभिचको खेल भोलि सोमवारका लागि तय थियो। उनले ९ पटक अस्ट्रेलियन ओपन जितिसकेका छन्। प्रतियोगितामा उनी आफ्नो उपाधीको प्रतिरक्षा गर्दै २१ पटक ग्रान्ड स्लाम जित्ने खेलाडी बन्ने तयारीमा थिए। तर, अदालतको निर्णयसँगै उनको सपना टुटेको छ।
दोस्रो पटक उनको भिसा रद्द भएसँगै अब उनले ३ वर्षसम्म अस्ट्रेलियाको भिसा पाउने छैनन्। यद्यपि, सरकारले यसमा पुनर्विचार भने गर्न सक्छ।
शुक्रवार अस्ट्रेलियाले टेनिस स्टार नोभाक जोकोभिचको भिसा दोस्रो पटक रद्द गरेको थियो। इमिग्रेशन मन्त्री एलेक्स हवकेले आफ्नो पदीय शक्तिको प्रयोग गर्दै 'जनस्वास्थ्य सुरक्षा'को लागि जोकोभिचको भिसा रद्द गरेको बताएका थिए। मन्त्रीले अस्ट्रेलियाको 'माइग्रेस एक्ट' ले दिएको छुट्टै शक्तिको प्रयोग गर्द भिसा रद्द गरेका हुन्। जोकोभिचले कारवाही विरुद्ध कानुनी प्रतिवाद गरेका थिए। आज भएको सुनुवाइमा ३ सदस्यीय इजलासले मन्त्रीको निर्णय सदर गरेको हो।
दुई साता अघि कोरोना भाइरसविरुद्धको खोप नलगाइ अस्ट्रेलिया प्रवेश गर्ने क्रममा जोकोभिचलाई अस्ट्रेलियन बोर्डर फोर्सले रोकेको थियो। उनले खोप लगाएको प्रमाण पेश गर्न नसकेपछि उनलाई 'डिटेन' गरिएको थियो। खोप नलगाएका जोकोभिचलाई प्रवेश गर्न दिएको भन्दै अस्ट्रेलियामा विरोध भएपछि पहिलोपटक उनको भिसा रद्द गरिएको थियो।
सरकारको निर्णय पछि जोकोभिचले आफूलाई गरिएको कारवाहीको विरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले जोकोभिचलाई गरिएको कारवाहीको प्रक्रियामा प्रश्न उठाउँदै उनको पक्षमा फैसला गरेको थियो। तर, आजको फैसलाले भने जोकोभिच अस्ट्रेलियाबाट बाहिरने पक्का भएको हो।
जोकोभिचले भने अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै अस्ट्रलियाबाट बाहिरिन सरोकारवाला निकायसँग समन्वय गर्ने बताएका छन्।
जोकोभिचले अस्ट्रेलियामा प्रवेश गर्नुपूर्व आफूले गलत सूचना दिएको स्वीकार गरिसकेका छन्। उनको आफ्नो यात्रा विवरणमा अस्ट्रेलिया आउनु अघि १४ दिन कतै नगएको उल्लेख गरेका थिए। तर, उनी त्यस बिच स्पेन पुगेका थिए। जुन तथ्य उनले लुकाएका थिए। यद्यपि, उनले यात्रा विवरण जानीजानी नलुकाएको दाबी गरेका छन्। उनले आफ्नो 'एजेन्ट' ले उक्त गल्ती गरेको भन्दै बचाउको प्रयास गरेका छन्।
जोकोभिचले आफू कोभिड १९ संक्रमित हुँदा एक पत्रकारलाई भेटेको र फोटोसुट पनि गरेको स्वीकार गरिसकेका छन्।