PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विन्टर ओलम्पिक सुरु हुन तीन हप्ता बाँकी छँदा बेइजिङमा भेटिए पहिलो ओमोक्रन संक्रमित



पहिलोपोस्ट

विन्टर ओलम्पिक सुरु हुन तीन हप्ता बाँकी छँदा बेइजिङमा भेटिए पहिलो ओमोक्रन संक्रमित
Photo: Thomas Peter/Reuters

चीनको राजधानी बेइजिङमा स्थानीय रुपमा प्रसारित पहिलो ओमोक्रन भरियन्टको संक्रमित भेटिएका छन्। चिनियाँ संचारमाध्यमका अनुसार बेइजिङ 'ओलम्पिक विन्टर गेम्स' सुरु हुन तीन हप्ता बाँकी छँदा यो रिपोर्ट बाहिर आएको हो।

बेइजिङको रोग नियन्त्रण प्राधिकरणका एक अधिकारीले पत्रकार सम्मेलन गर्दै प्रयोगशाला परीक्षणले एक व्यक्तिमा ‘ओमोक्रन भेरियन्टको विशिष्ट उत्परिवर्तित रुप’ फेला पारेको बताएका हुन्। अधिकारीहरूले संक्रमितको डिसेम्बर ३१ सम्मको गतिविधिको विस्तृत विवरण समेत प्रकाशित गरेका छन्।

संक्रमित व्यक्तिको आवासीय परिसर र कार्यस्थल 'सिल' गरिएको हाइडियन जिल्लाका अधिकारीहरूले बताएका छन्। संक्रमित व्यक्तिसँग सम्बन्धित दुवै स्थानबाट गरी दुई हजार ४३० नमूनासमेत परीक्षणका लागि सकंलन गरिएको छ।

अत्यधिक संक्रामक मानिएको ओमोक्रन भेरियन्टको पहिचान फेब्रुअरी ४ मा विन्टर गेम्सको उद्घाटन समारोह र फेब्रुअरी १ मा सुरु हुने लुनार न्यु इयर उत्सवको तीन हप्ता अघि भएको हो। नयाँ भेरियन्टले देशको शून्य-कोभिड रणनीतिमा सबैभन्दा ठूलो खतरा सिर्जना गरेको त्यहाँको जनस्वास्थ्य विज्ञहरुले बताएका छन्।

मेनल्याण्ड चीनमा पहिलो ओमोक्रन केस डिसेम्बर ९ मा उत्तरी सहर टियानजिनमा देखिएको थियो। विदेशबाट फर्केका एक व्यक्तिमा ओमोक्रन संक्रमण देखिएको थियो जसमा आगमनका बेला कुनै लक्षण देखिएको थिएन। अन्य प्रान्तमा नयाँ भेरियन्टका संक्रमित भेटिएपछि बेइजिङमा उच्च सतर्कता अपनाइएको थियो।

पछिल्लो केही हप्तामा संक्रमणको प्रसारण नियन्त्रण गर्न दर्जनौँ आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू स्थगित गरिएको छ। लुनार न्यु इएरको बिदाको समयमा अनावश्यक रुपमा बाहिर ननिस्कन पनि प्रशासनले नागरिकलाई आग्रह गरेको छ।

४ फेब्रुअरीबाट शुरु हुने विन्टर गेम्स ‘क्लोज लुप’मा खेलाइने छ। यसको अर्थ खेलकुद हुने स्थानहरूमा सीमित संख्यामा मात्र दर्शकहरूलाई अनुमति दिइनेछ। विदेशी दर्शकहरूलाई चीन प्रवेश गर्न अनुमति दिइने छैन भने खेलमा संलग्न व्यक्तिहरूले ‘क्लोज लुप’ बाहिरका मानिसहरूसँगको सम्पर्कमा आउन पाउने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell