
काठमाडौं : सरकारले विवाह, ब्रतबन्ध लगायत धार्मिक कार्यक्रम गर्न निश्चत मापदण्ड तोकेको छ।
शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक कार्यक्रमहरुमा मापदण्ड तोकेको जानकारी दिएका छन्।
माघ महिनाबाट बिवाहको लगन सुरु हुन्छ। ठीक त्यही बेला सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि यस्तो मापदण्ड तय गरेको हो।
कोरोना संक्रमण बढेपछि सरकारले भिडभाड हुने कार्यक्रमहरुमा रोक तथा मापदण्ड लागू गरेको हो। बिवाह, ब्रतवन्ध लगायतका धार्मिक कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति समेत लिनुपर्ने भएको छ।
पार्टी प्यालेसमा एक पटकमा कूल क्षमताको एक तिहाई नबढ्ने गरी बढीमा ५० जनामात्र उपस्थित गरेर संचालन गर्न पाउने व्यवस्था गरिएको छ।
अरु क्षेत्रमा पनि सरकारले कडाई गरेको छ।
सरकारले केही समयका लागि सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटहरु संचालनमा रोक लगाएको छ।
मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै रोकथामका लागि यस्तो निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।
धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गरी नित्यकर्म धार्मिक पूजा गराउने निर्णय भएको छ। त्यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एक पटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरी संचालन गर्नुपर्ने मापदण्ड तोकिएको छ। जथाभावी समानहरु छुन पनि रोक लगाउन निर्देशन दिएको छ।
जारी खेलकुदमा पनि मन्त्रिपरिषद बैठकका निर्णयले प्रभाव पार्ने भएको छ। कुनै पनि प्रतियोगितामा कूल क्षमताको एक तिहाई मात्र दर्शकले प्रतियोगिता हेर्न पाउने छन्। खेल आयोजकको खर्चमा उपस्थित दर्शक मध्ये र्यान्डमली छनोट गरेर एक तिहाईको एन्टिजेन परीक्षण गर्नपर्ने पनि निर्णय गरिएको छ।