PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

मान्छे त त्यही हो बानी ब्यहोरा चाहिँ चेन्ज भएको छ : विमल घर्तीमगर



पहिलोपोस्ट

मान्छे त त्यही हो बानी ब्यहोरा चाहिँ चेन्ज भएको छ : विमल घर्तीमगर

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा मछिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि ४-० को सहज जित निकाल्यो। मछिन्द्रको जितमा विमल घर्तीमगरले दोहोरो गोल गर्दा रेजिन सुब्बा र अभिषेक रिजालले समान १/१ गोल गरे।

दोहोरो गोल गरेका विमलको प्रदर्शन उत्कृष्ठ थियो। जितपछि प्रतिकृया दिँदै मगरले आफ्नो प्रदर्शनले भन्दा पनि टीमको जितले खुशी भएको बताए।

‘कमब्याक भन्दा पनि मछिन्द्रले जित्यो त्यसमा खुशी छु’, उनले भने, ‘मान्छे त त्यही हो बानी ब्यहोरा चाहिँ चेन्ज भएको छ।’

उनले अबको लक्ष्य राष्ट्रिय टोलीमा राम्रो प्रदर्शन गर्ने रहेको बताए। एन्फाको कारवाहीमा परेका कारण अघिल्लो सिजनको लिगको अन्तिम खेलमा खेलेका उनले राष्ट्रिय टोलीको अभ्यासका क्रममा चोट बोकेपछि कतारमा उपचार गराएर नेपाल फर्किएका हुन्।

‘अघिल्लो वर्ष लिगको अन्तिम एउटा मात्र म्याच खेलेको थिएँ। यो पाली पनि टिम राम्रो छ। यसपटक सबै खेल खेल्ने कोसिस गर्नेछु। लामो समयपछि मैदान फर्कँदै छु। पहिलाको भन्दा फिट छु’, लिग अघि मगरले भनेका थिए, ‘राम्रो नराम्रो दुबै समयहरु आए। चोट पछिको मेहेनतबारे पनि राम्रो ज्ञान पाएको छु।’

जारी लिगमा उनले तीन गोल गरेका छन्। दुई गोल आजको खेलमा र एक गोल चौथो चरणको खेलमा हिमालयन शेर्पा क्लब बिरुद्ध गरेका थिए।

आजको खेलको ५५औं मिनेटमा मछिन्द्रका रेजिन सुब्बाको क्रसमा विमल घर्ती मगरले हेडिङमार्फत गोल गरेका थिए। लगत्तै सुनिल बलको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो। त्यस्तै, दोस्रो गोल ६२औं मिनेटमा विमल घर्ती मगरले वान भर्सेस वानको अवस्थामा गोल गरे।

६५औं मिनेटमा पनि गोल गर्दै बिमलले ह्याट्रिकको अवसर पाए पनि ब्रिगेड ब्वाइज क्लबका गोलकिपर गुरप्रीत सिंहले बचाएका थिए। त्यस्तै, ७६औं मिनेटमा पनि सुनौलो अवसरमा मगर र रेजिन सुब्बबीच असझदारी हुँदा उनी ह्याट्रिकबाट चुके।

योसँगै जारी लिगमा मगरले तेस्रो गोल पूरा गरेका छन्। यसअघि चौथो चरणको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले इन्ज्युरी समयमा हिमालयन शेर्पा क्लबविरुद्ध गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell