PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रचण्ड-नेपालको ‘मन मिल्ने’ पार्टी नमिल्ने! पहिले अदालत अहिलेको तगारो को?



प्रकाश भण्डारी

प्रचण्ड-नेपालको ‘मन मिल्ने’ पार्टी नमिल्ने! पहिले अदालत अहिलेको तगारो को?
२०७७ पुस ५ गते पहिलोपटक भएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले बदर गरेपछि खुसियालीमा एक-अर्कालाई लड्डु खुवाउँदै प्रचण्ड-माधव। फाइल फोटो

काठमाडौँ: पार्टी विभाजनअघि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलनमा उत्रिँदा सोही पार्टीका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल बिरलै अलग देखिए। मञ्चमा कुम जोडेरै बसे, खुलेरै एक अर्काको प्रशंसा गरे। ओलीलाई कमजोर देखाउन द्वन्द्वकालको दोस्तीको घुर्की लाउन पछि परेनन्, प्रचण्ड-नेपाल।

तर, सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को एकता बदर गरेपछि भने चाहेरै पनि प्रचण्ड नेपालसँगै रहने स्थिति रहेन। नेपाल (एमाले) मा र प्रचण्ड (माओवादी केन्द्र) मै फर्किए।

एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाएका नेपाल हाल भने प्रचण्डसँग पार्टी एकता गर्ने कि नगर्ने? दोधारमा छन्। माओवादी कार्यकर्ताका अघि एकीकरण हुने र आफ्ना कार्यकर्तालाई एकता नहुने सन्देश दिन्छन्, नेपाल।

माओवादीको ८औँ महाधिवेशनको उद्घाटनमा पुस ११ गते नेपालले भनेका थिए, 'तपाईँहरूसँग मन मिल्यो। मन मिलेपछि अरू केही चाहिँदो रहेनछ। भावना मिल्दै जाँदो रहेछ।'

मनै मिलिसकेको बताएका नेपालले चार महिनाअघि आफ्ना कार्यकर्तामाझ भदौ १२ गते ठिक उल्टो अभिव्यक्ति दिएका थिए, 'यो पार्टी माओवादीमा गएर मिल्छ कि भन्ने भ्रम नराखे हुन्छ। यो पार्टी बलियो बनाउँछौँ।'

प्रचण्ड नेपाल आ-आफ्नो पार्टीलाई बलियो बनाउने गृहकार्यमा भने जोडतोडले लागिरहेका छन्। दुवै पार्टीमा स-साना राजनीतिक समूह जोडिएका छन् भने एकता वार्ताका लागि समिति बनाइएको छ।

किन भएन एकता?

अदालतले छुट्टिन बाध्य बनाएको प्रचण्ड-नेपाललाई चाहेर पनि एकै ठाउँमा रहन सजिलो छैन। तत्कालीन नेकपाको किचलो सकिएको केही समयमै एकीकरण गर्न चुनौती छ। चुनावसम्म गठबन्धन हुने तर पार्टी एक नहुने दाबी छ, एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठको।

'अहिले एकताको सम्भावना नै छैन, एकताको विषय नै उठेको छैन। भर्खर पार्टी निर्माण गरिरहेका छौँ। पहिला त बलियो पार्टी निर्माण गर्छौँ,'उनले भने।

माओवादी केन्द्रका नेताहरूले पनि तत्काल एकीकृत समाजवादीसँग एकता नहुने बताएका छन्। अरू साना कम्युनिस्ट घटकसँग एकता भए पनि चुनावअघि एकीकृत समाजवादीसँग एकता नहुने बरु गठबन्धन कायमै रहने माओवादी नेताहरूको भनाइ छ। एकता वार्ताका लागि गठित कार्यदलका सदस्य तथा पार्टी कार्यालयका सचिव श्रीराम ढकालले तत्काल एकता सम्भव नभएको बताए।

ढकालले भने, 'तत्काल एकता सम्भव छैन। चुनावसम्म गठबन्धन कायम रहने हो। बाहिर चर्चा भएजस्तो एकताका लागि वार्ता भएको छैन,' उनले भने।

एकताका लागि सैद्धान्तिक पक्षभन्दा संगठनात्मक पक्षका कारण तत्काल सम्भव नभएको वार्ता टोलीका अर्का एक सदस्यले बताए। अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालको मनोभावना एकता गर्ने भए पनि कार्यकर्ता तहमा भने दुई ठुला कम्युनिस्ट पार्टी एकीकरण भएर उत्पन्न भएको किचलोका कारण एकता गर्न नहुने मत छ।

त्यसो त भदौ ९ गते नै निर्वाचन आयोगबाट दलको मान्यता पाएको एकीकृत समाजवादी ५ महिनासम्म माओवादीसँग एक नभए पनि नेपालले भने एमालेमै रहँदाका बखत माओवादीमा मिसिन लागेको आरोप खेप्नुपरेको थियो। एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई 'प्रचण्डको मामुली कार्यकर्ता' भएको आरोप लगाएका थिए।

दुवै पार्टीमा छन् वार्ता गर्ने संयन्त्र

असोज ५-७ गते बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले पार्टीमा प्रवेश गर्न चाहनेका लागि सबै तहमा राजनीतिक संवाद गर्ने संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार केन्द्रमा महासचिव

वेदुराम भुसालको संयोजकत्वको संयन्त्र सक्रिय छ। उक्त संयन्त्रले वार्ता गरेर दुई वटा राजनीतिक समूहसँग एकता गराएको थियो। नेकपा जनवादीका महासचिव डिएम महतले पुस ११ गते आफ्नो पार्टीलाई एकीकृत समाजवादीमा मिसाएका थिए। यस्तै, राष्ट्रिय जागरण परिषद् पनि पुस १६ गते एकीकृत समाजवादीमा विलीन भएको थियो।

यता माओवादी केन्द्रको भदौ ६ गते बसेको स्थायी कमिटीको बैठकले एकताका लागि कार्यदल गठन गरेको थियो। कार्यदलमा वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल सदस्य छन्। कार्यदलले गरेको वार्ता अनुसार नेकपा मसालसँग फुटेर बनेको नेकपा मसाल (एकता केन्द्र) माओवादीसँग पुस ९ गते एकता भएको थियो।

चुनावसम्म सहकार्य त्यसपछि एकता!

दुवै पार्टीका नेताहरूले चुनाव अघिसम्म एकताको सम्भावना नभएको बताए पनि त्यसपछिको एकताबारे भने नकार्दैनन्। एकीकृत समाजवादीका सचिव श्रेष्ठले राष्ट्रिय आवश्यकता अनुसार चुनावपछि माओवादीसँग मात्रै नभई कम्युनिस्ट पार्टीबीच नै एकता हुन सक्ने बताए।

'एउटै पार्टी हुनुपर्छ भन्ने त हाम्रो सैद्धान्तिक मान्यता नै हो। तर अहिले तत्काल भन्दा पनि चुनावपछि राष्ट्रिय आवश्यकता नै बन्न सक्छ एकता त्यसैले माओवादीसँग पनि एकताका लागि लाग्छौँ,'उनले भने।

नेताहरूले अनौपचारिक कुराकानीमा बताए अनुसार तत्कालका लागि प्रचण्डले एकीकृत समाजवादीसँगको एकताभन्दा पूर्वमाओवादीलाई प्राथमिकतामा राखेर संवाद अघि बढाइरहेका छन्। तर, त्यसका लागि पूर्वमाओवादी घटक केही नेताले सकारात्मक संकेत देखाएको भए पनि अधिकांश भने प्रचण्डको चुनावमा उपयोग गर्ने रणनीति भएको भन्दै एकता वार्ताका लागि तयार भएका छैनन्।

यता एकीकृत समाजवादी पनि एमालेका कार्यकर्ता तान्न प्रयासरत छ। नयाँ पार्टी बनाएदेखि नै नेपालले एमालेमा रहेका आफू निकटका नेताहरूलाई एकीकृत समाजवादीमा आउन अपिल गरिरहेका छन्। नेपालको सक्रियतास्वरुप एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। हाल उनी स्थायी कमिटी सदस्य छन्। एमाले डडेलधुराका पूर्व अध्यक्ष तारा जोशीले पनि एमाले छोडेर एकीकृत समाजवादी रोजेका थिए।

एकातिर दुई ठुला कम्युनिस्ट पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादीको एकता गर्ने चर्चा र अर्कातिर स-साना कम्युनिस्ट समूहहरूसँग प्रचण्ड-नेपालले गरिरहेको एकता चुनाव लक्षित रणनीति देखिन्छ।

चुनावसम्मै गठबन्धन कायमै राख्न अधिकतम गृहकार्यमा रहेका प्रचण्ड-नेपालले पार्टी नै एक गराउन भने कम्तीमा निर्वाचनसम्म नसक्ने उनीहरू निकट नेताहरूको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell