PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

नेपालद्वारा अफगानिस्तानलाई मानवीय सहयोग सामग्री हस्तान्तरण



रासस

नेपालद्वारा अफगानिस्तानलाई मानवीय सहयोग सामग्री हस्तान्तरण

  • भीष्मराज ओझा-

काबुलः नेपाल सरकारले अफगानिस्तानका जनताका लागि नेपाली जनताका तर्फबाट प्रदान गरेको मानवीय राहत सामग्री हस्तान्तरण गरेको छ। राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको सहायता मिसनमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले राष्ट्र सङ्घका महासचिवका उपविशेष प्रतिनिधि डा रामिज अलकबारोभलाई सामग्री हस्तान्तरण गरेकी हुन्।

सार्कको सदस्य राष्ट्र र नेपालको सुमधुर सम्बन्ध भएको मुलुकका जनतालाई सहयोग गर्न पाउनु खुसीको कुरा भएको लम्सालले बताइन्। उनले यस कार्यमा परराष्ट्रमन्त्री डा नारायण खड्काको पहलमा मन्त्रालयले धेरै अघिदेखि तयारी गरेको जानकारी गराउँदै सहयोग सामग्री उपलब्ध गराउने नेपालका निजी क्षेत्रलाई धन्यवाद दिइन्।

यसैगरी उपविशेष प्रतिनिधि डा अलकबारोभले नेपालले गरेको सहयोगका लागि आभार व्यक्त गर्दै उपलब्ध मानवीय सहायता सामग्री दैनिक आवश्यकता भएका अफगान जनतालाई पारदर्शी रुपले वितरण गरिने विश्वास दिलाए। परराष्ट्रमन्त्री डा खड्काको पहलमा नेपाल सरकारले औषधि, लत्ताकपडा र घरायसी सामानसहित नौ हजार ७१५ केजी मानवीय सहायता सामग्री आजै चार्टर्ड विमानमार्फत अफनानिस्तान पठाइएको थियो। अफगानिस्तानमा पछिल्लो समय आर्थिक कठिनाइ र कठोर जाडो मौसमले त्यहाँका जनतालाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता र समर्थनको आवश्यकता छ।

नेपालका तर्फबाट उक्त सामग्री नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, अवैतनिक महावाणिज्य दूतावास नेपाल, अग्रवाल सेवा केन्द्र, हिमालय एयरलाइन्सलगायत निजी क्षेत्रका संघ संस्थालगायतले सहयोग गरेका हुन्।

हिमालय एअरलाइन्सले उक्त मानवीय सहायता सामग्री पुर्‍याउन आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काबुलतर्फ आफ्नो निःशुल्क कार्गो उडान भरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell