कोभिड-१९ महामारीको तेस्रो लहरबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दो छ। सात प्रदेशमध्ये वाग्मती 'हटस्पट' बन्दै गएको छ। संघीय प्रदेशको राजधानी रहेको काठमाडौं उपत्यकामा सबैभन्दा धेरै सक्रिय संक्रमित छन्।
पछिल्लो तथ्यांकअनुसार देशभर २५ हजार ६८० सक्रिय संक्रमित हुँदा वाग्मतीमामात्र झन्डै १८ हजार सक्रिय संक्रमित छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँ संघीय सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउनेदेखि सार्वजनिक सेवा लिन कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ।
यतिमात्र हैन सरकारले कोरोना महामारी नियन्त्रणका लागि खोप कार्यक्रमलाई प्राथमिकता दिएको दाबीसमेत गरिरहेको छ। संघीय सरकारले चैत मसान्तसम्म शतप्रतिशत जनतालाई खोप पुर्याउने घोषणा यसअघि नै पटकपटक गरिसकेको थियो।
यद्यपि संघीय सरकारको राजधानी रहेको वाग्मतीमै पछिल्लो समय गाउँ केन्द्रित खोप कार्यक्रम नभएको स्थानीयको गुनासो छ। यता संक्रमितको संख्या बढ्न थालेपछि वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री काभ्रेको धुलिखेलदेखि प्रदेश राजधानी हेटौंडाका अस्पतालहरुको निरीक्षणमासमेत निस्किएका छन्। यस्तो अवस्थामा वाग्मती सरकारले कोरोना न्युनीकरण तथा रोकथाम प्रतिकार्यमा कसरी काम गरिरहेको छ? समुदायमा खोप कार्यक्रम पुग्न कति समय लाग्ला? यिनै विषयमा पहिलोपोस्टकर्मी निशा गुरुङले वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामासँग गरेको कुराकानीको सम्पादित अंश :
संघीय सरकारले खोप अभियानलाई मुख्य प्राथमिकता दिइरहेको छ, वाग्मतीमा खोप अभियान कसरी चलिरहेको छ?
संघीय सरकार अहिलेको मुख्य उद्देश्य हो चैत समान्तसम्म सबैलाई खोप पुर्याउने। वाग्मती प्रदेशमा पनि यसले तीव्रता पाइरहेको छ। हामीले कोही नछुट्ने गरी खोप अभियान सञ्चालन गरिरहेका छौं। कतिपय समुदायका मानिसलाई खोपबारे भ्रम पनि रहेछ। त्यो भ्रम चिर्दै खोप अभियान सञ्चालन गरी अभियान सफल बनाउने अभियानमा हामी छौं।
अहिले गाउँगाउँमा खोप पुगेकै छैन, यसरी सफल होला त अभियान?
कतिपय दूर्गम समुदायका मानिसहरु खोप केन्द्रमा आउन निकै अप्ठेरो पर्ने अवस्था छ। त्यो साँचो हो। त्यसैले समुदायमै खोप पुर्याउन हामीले खोप केन्द्र स्थापना गर्ने तयारी गरेका छौं ता कि दुर्गम क्षेत्र समुदायका मानिसलाई खोप लगाउन शहर आउनुपर्ने अवस्था नआओस्।
कतिपय समुदायमा खोप लिएपछि विभिन्न रोग लाग्न सक्छ भन्ने भ्रम पनि रहेछ। हामी ती समुदायका जनप्रतिनिधि तथा अगुवाहरुसँग छलफल गरी खोप केन्द्र स्थापना गर्छौ र अभियान सफल बनाउँछौं।
स्थानीय सरकारले पनि खासै ध्यान दिएको देखिदैन नि?
पहिलो चरणको अवस्थामा कोभिड नियन्त्रण गर्न स्थानीय सरकारले निकै ठूलो भूमिका खेलेको थियो। फेरि पनि सक्रिय भइदिन हामी अनुरोध गरिरहेका छौं। मन्त्रालय एक्लैले मात्र नियन्त्रण गर्न सम्भावना छैन। सबैको हातेमालो सहयोगले नै रोगविरुद्ध सफल हुने हुँदा सबैलाई साथ दिन अनुरोध गर्दछु।
अहिलेसम्म कतिले लगाए वाग्मतीमा खोप?
वागमती प्रदेशका १३ वटै जिल्लामा हाल खोपको अवस्था राम्रो छ। प्रदेशका जनताले कोभिडशिल्ड पहिलो र दोस्रो गरी ७१.६९ प्रतिशत, भेरोसेल ८८.०७ प्रतिशत्, जोन्सन खोप १८ वर्षभन्दा माथिका ४ लाख २९ हजार ४ सय ३२ जनाले लगाइसकेका छन्।
१२ वर्षदेखि १७ वर्षका बालबालिकालाई फाइजर खोप पहिलो डोज १२ लाख ६३ हजार ७३ र दोस्रो २० हजार ३ सय ३४ जनाले लगाइसकेका छन्। प्रदेशमा मोडर्ना पहिलो डोज १९ लाख ९१ हजार ५० जनाले लगाइसकेका छन्। वाग्मतीमा १८ वर्षमाथिकाले ७४ प्रतिशत्ले डबल डोज खोप लगाइसकेका छन्।
सरकारले रोकथाम तथा नियन्त्रणका लागि कडा नियम लागू गरे पनि संक्रमित त दिनानुदिन बढ्दो छ नि!
पहिलो चरणको कोभिडमा एक जना संक्रमितले अर्को २ वा ३ जनालाई भाइरस सार्ने गर्थ्यो। तर अहिलेको भाइरस १ एकजनाबाट १० जनासम्म सार्ने रहेछ। नाकाबाट नेपाल भित्रने सवारी साधनका चालक तथा कामदारले स्वास्थ्य सावधानी नअपनाउँदा पनि समस्या बढिरहेको छ।
त्यसैले प्रदेश छिर्ने नाकामा पीसीआर टेष्ट, खोपकेन्द्र वृद्धि र भिड नियन्त्रण जस्ता अभियान गर्दै संक्रमण न्युनीकरणका लागि सरकार लागि परेको छ। जनतालाई निर्देशनात्मक सूचना जारी गरेरमात्र पनि नहुने देखियो। कतिलाई हौसला दिने गरी त कतिलाई उत्साहित पार्ने खालका कार्यक्रम ल्याएर भए पनि स्वास्थ्य मापदण्ड पालना गराउन प्रदेश सरकार प्रयत्नशील छ।
पहिलो लहरको कोरोना संक्रमणमा स्वास्थ्यकर्मीदेखि बिरामीहरु उपचार केन्द्र नपाएर हायलकायल भएका थिए, तपाई पछिल्ला दिन प्रदेशका अस्पतालहरुमा निरीक्षणमा पनि निस्कनुभयो, कस्तो छ स्वास्थ्य संस्थाहरुको तयारी?
वाग्मती प्रदेशमा स्वास्थ्यकर्मीदेखि स्वास्थ्य संस्था कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहेका छन्। हिजोका दिनमा कोभिड लाग्नेबित्तिकै मान्छे मरिहाल्ने भन्ने जस्ता बुझाइ थियो। त्यसैले धेरै आतंकित भएका थिए। अहिले धेरैले बुझिसकेका छन् कि कोभिड लाग्नेबित्तिकै अस्पतालमा भर्ना भइहाल्नुपर्ने रहेनछ भनेर।
त्यो बेला एउटा अक्सिजनले पुग्ने ठाउँमा आत्तिएर १ जनाले नै १० वटासम्म सिलिण्डर रिजर्भ गर्ने/लुकाउने गरेकाले अभाव भएको थियो। हाल हामीसँग अक्सिजन नै दैनिक आवश्यकभन्दा दोब्बर स्टक पुग्ने अवस्थामा छ। आपूर्ति विभागमा कन्स्ट्रेटर छ, आत्तिहाल्नुपर्ने अवस्था छैन। हाल हामी सकेसम्म अस्पताल आउनु नपर्ने वातावरण मिलाउन खोज्दै छौं, आइहाल्नु परे पनि हामीसँग एक जनालाई आवश्यक पर्नेभन्दा दोब्बर अक्सिनसहितको बेड तयारी छ।
भनेपछि स्वास्थ्यकर्मी पनि प्रशस्त उपलब्ध छन्?
हामीले उपचारमा कुनै कमी नआउने गरी वातावरण बनाएर स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छौं। स्वास्थ्य मन्त्रालय मातहत नै प्रदेशमा ७ सय कर्मचारी छन्।