PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोनाको जोखिममा खेलाडी मैदानमा : नतिजा सन्तोषजनक नभएको भन्दै प्रशिक्षक रुष्ट, संक्रमण बढे पनि खेल भने जारी



मुकुन्द घिमिरे

कोरोनाको जोखिममा खेलाडी मैदानमा : नतिजा सन्तोषजनक नभएको भन्दै प्रशिक्षक रुष्ट, संक्रमण बढे पनि खेल भने जारी

काठमाडौं : शनिवार प्रधानमन्त्री कप क्रिकेट टी २० राष्ट्रिय प्रतियोगितामा दुईवटा खेल हुनुपर्ने थियो। तर प्रदेश १ र नेपाल पुलिस क्बलबीच हुने भनिएको खेल स्थगित भयो।

कारण - कोभिड संक्रमणको आशंका। आशंका वास्तविकतामा परिणत भयो पनि। प्रदेश १ का एकजना खेलाडीमा कोरोना संक्रमण पुष्टि भयो।

आइतवार शहीद स्मारक ए डिभिजन लिगमा दुई वटा खेल तय थिए। पहिलो खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब प्रतिस्पर्धा गरिरहँदा खबर आयो - दोस्रो खेल स्थगन भयो। कारण थियो, दोस्रो खेल खेल्ने एउटा टिम च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोभिड - १९ संक्रमण।

जारी क्रिकेट र फुटबलका यी महत्वपूर्ण दुई प्रतियोगितामा देखिएको यी दुई वटामात्र उदाहरण होइनन्। लिगको नवौं चरणमा आइपुग्दा लिग लिडर मछिन्द्र क्लबलाई कडा टक्कर दिइरहेको मनाङ मर्स्याङदी क्लब सातदोबाटो युथ क्लबसँग पराजित भयो। जसको दोष मनाङका प्रशिक्षक टोफे फुजाले कोभिडलाई दिए। उनको तर्क थियो - ४/५ जना महत्वपूर्ण खेलाडीलाई कोभिड संक्रमण हुँदा हामी पराजित हुन पुग्यौं।

आइतवारमात्रै पनि ब्रिगेड ब्वाइज क्लबविरुद्धको खेलमा मछिन्द्र क्लबका विदेशी खेलाडी नुर्लान घाइते भएपछि रेजिन सुब्बा मैदानमा उत्रिए। उनले गोल पनि गरे। तर मैदानमा उनी त्यति फिट थिएनन्। भर्खरै उपचारपछि कतारबाट फर्किएका उनले खेलपछि आफूलाई गाह्रो भएको प्रतिकृया दिएका थिए। मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले मनिष डाँगीलाई कोरोना संक्रमण भएका कारण रेजिनलाई मैदान उतारेको स्पष्टीकरण दिए।

त्यस्तै आजै एनआरटीसँग भिड्न लागेको जावलाखेलका प्रशिक्षक किशोकुमार केसीले केही दिनअघि खेलाडीमा ज्वरो र रुघाखोकी देखिँदा प्रशिक्षण नै प्रभावित भएको बताएका थिए। एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले आफ्नो टिममा पनि खेलाडीहरु बिरामी भएको बताएका थिए। यद्यपि उनीहरुले कोभिड हो या सामन्य फ्लु भन्ने स्पष्ट पारेनन्।

काठमाडौंबाहेक पोखरामा पनि दर्शकको भव्य उपस्थितिमा खेलकुदका प्रतियोगिता चलिरहेका छन्। जसले कोरोनाको जोखिमलाई थप बढाएको छ। यता कोरोना संक्रमणको ग्राफ भने ह्वात्तैमाथि उठेको छ। हिजोमात्र ४ हजार ९ सय ६१ जनामा कोभिड संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ८० पुगेको छ। अझ काठमाडौं उपत्यका त महामारीको इपिसेन्टरकै रुपमा देखिएको छ। काठमाडौं उपत्यकामा ३ हजार ३४७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ५४५ जना, ललितपुरमा ४७४ जना र भक्तपुरमा ३२८ जनामा संक्रमण देखिएको हो। जुन कुल संक्रमितको ६७.४६ प्रतिशत हुन आउँछ।

चलिरहेको लिगमा दर्शकको उल्लेखनिय उपस्थिति हुँदा पछिल्लो केही दिनयता खोप कार्ड र सामाजिक दुरीलाई अनिवार्य बनाइएको छ। अर्कोतर्फ क्रिकेटको प्रधानमन्त्री कपमा दर्शकको उपस्थिति खासै छैन र कुनै आधिकारिक मापदण्ड पनि अघि सारेको छैन। यद्यपि सेमिफाइनल र फाइनलको खेल नजिकिँदै गर्दा त्यहाँ भीडभाड हुने सम्भावना देखिन्छ।

त्यसबाहेक केही प्रतियोगिताहरु कोभिडका कारण स्थगित भएका छन् भने केहीले मिति निधो गर्न सकेका छैनन्। माघ १ गतेदेखि ८ गतेसम्म हुने भनिएको काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने ११ औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता स्थगित भएको छ। त्यस्तै राष्ट्रिय बास्केट बल लिगको घोषणा गरेर पनि आयोजकले मिति तोक्न सकेको छैन।

अर्कोतर्फ महामारी फैलिँदै गर्दा सरकारले कडाइ गर्न थालेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड सम्बन्धीको नयाँ मापदण्डबारे जानकारी दिएका थिए। जसमा विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रम गर्न प्रशासनको स्वीकृति लिनुपर्ने लगायतका मापदण्ड छन्। जसले जारी खेलकुदमा पनि मन्त्रिपरिषद् बैठकका निर्णयले प्रभाव पार्ने भएको छ। कुनै पनि प्रतियोगितामा कूल क्षमताको एक तिहाईमात्र दर्शकले प्रतियोगिता हेर्न पाउने छन्। खेल आयोजकको खर्चमा उपस्थित दर्शकमध्ये 'र्‍यान्डमली' छनोट गरेर एक तिहाईको एन्टिजेन परीक्षण गर्नपर्ने पनि निर्णय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell