PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रदेश २ को नाम र राजधानी आज टुंगिएला ?



राधेश्याम पटेल

प्रदेश २ को नाम र राजधानी आज टुंगिएला ?

वीरगंज : प्रदेश नम्बर २ को नाम र राजधानी तय गर्न आज प्रदेश २ को प्रदशेसभामा मतदानको कार्यतालिका छ।

प्रदेशसभाको आइतबार बसेको बैठकमा दलका सांसदहरूले आ-आफ्नै अडान दोहोर्‍याएपछि नाम र राजधानी टुंग्याउन आज मतदान हुने भएको हो। आज प्रदेशसभाको बैठकमा सांसदहरुको बोल्ने क्रम सकिएको छ। तर, राजनीतिक दलहरुबिच सहमति जुट्न सकेको छैन। अब नाम र राजधानी छिनोफानो गर्न मतदानको समय तोकिने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

सभामुख सरोज यादवको संयोजकत्वमा गठित १६ सदस्यीय संसदीय समितिले प्रदेश नम्बर २ को नाम र राजधानीका लागि कुनै सहमति जुटाउन सकेको छैन। समितिले प्रदेशको नामका लागि ४ वटा र राजधानीको लागि ३ वटा नाम सिफारिस गरेको थियो। समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेश तथा राजधानी जनकपुरसहित उत्तरपूर्वमा ढल्केवर–कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगंज महानगरपालिका र वीरगंज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल प्रस्ताव गरेको छ।

प्रदेशको नाम 'मधेश'मा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी (केन्द्र) को साझा प्रस्ताव हो। 'जानकी' नाममा भने नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) तथा मिथिला–भोजपुरा कांग्रेसको प्रस्ताव हो।

यी सबै दलका बारा–पर्साका सांसदले भने प्रदेशको नाम 'मध्य मधेश' भनेर छुट्टै प्रस्ताव गरेका छन्।

राजधानीको नाममा भने जनकपुर सबै दलको साझा प्रस्ताव रहे पनि बारा–पर्साका सबै दलका सांसदहरुले वीरगंज छुट्टै प्रस्ताव हालेका छन्।

प्रदेश २ मा हाल जसपा, कांग्रेस, माओवादी (केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार छ। प्रदेशसभाका १०७ सांसदमध्ये माओवादीले ४ सांसदलाई कारबाही गरेपछि हाल १०३ सांसद छन्।

प्रदेशको नाम र राजधानी टुंग्याउन दुई तिहाइ मत अनिवार्य छ। प्रदेश २ का सत्ता गठबन्धनले नै नाम र राजधानीको नाम फरक-फरक प्रस्ताव गरेपछि यो मामिला मतदान प्रक्रियाबाट टुंगो लाग्ने भएको हो।

डेढ वर्षअघि प्रदेशसभामा प्रदेशको नाम मधेस, जानकी र मिथिला–भोजपुरा तथा राजधानी जनकपुर वा वीरगंज भन्ने प्रस्तावमा मतदान भएको थियो। उक्त कुनै पनि प्रस्तावमा दुई तिहाइ नपुग्दा प्रस्ताव अस्वीकृत भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell