PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रदेश २ को नाम अब 'मधेश प्रदेश' : ९९ मध्ये ८० सांसदले गरे पक्षमा मतदान



पहिलोपोस्ट

प्रदेश २ को नाम अब 'मधेश प्रदेश' : ९९ मध्ये ८० सांसदले गरे पक्षमा मतदान

जनकपुरधाम : प्रदेश २ को नाम 'मधेश प्रदेश' कायम भएको छ। तीन दलको संयुक्त प्रस्ताव 'मधेश प्रदेश'को पक्षमा केहीबेर अघि मतदान भएको हो।

मतदानमा सहभागी ९९ मध्ये ८० जना सांसदले 'मधेश प्रदेश'को पक्षमा मतदान गरेका हुन्। प्रदेश २ को सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा 'मधेश प्रदेश' प्रस्ताव गरेका थिए। शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह प्रस्तावक रहेको नाम 'मधेश प्रदेश' कायम गर्न प्रदेशसभामा शैलेन्द्र कुमार यादवले प्रस्ताव पेश गरेका थिए।

यसअघि, आजै प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको थियो।

यससँगै मुलुकका सात प्रदेश मध्ये अब प्रदेश १ को मात्र नामाकरण हुन बाँकी छ।

सोमवार प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरुका तर्फबाट संयुक्त रुपमा प्रस्ताव पेश भएपछि मतदान भएको हो।

यसअघि आज स्थायी राजधानी 'जनकपुरधाम'का लागि भएको मतदानमा ९९ जना प्रदेशसभा सदस्यहरु सहभागी मध्ये ७८ जना प्रदेशसभा सदस्यले पक्षमा मतदान गरेको सभामुख सरोजकुमार यादवले जानकारी दिए।

प्रदेशसभा सदस्यहरु परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरतप्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गरेको थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell