PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दरबन्दी छ, जनशक्ति छैनः भीमफेदी कारागारका कैदीलाई प्राथमिक उपचारमै समस्या



निशा गुरुङ

दरबन्दी छ, जनशक्ति छैनः भीमफेदी कारागारका कैदीलाई प्राथमिक उपचारमै समस्या

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको  भीमफेदी कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारका लागि समस्या भएको छ।

दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएको हो। कारागारमा अहेबको दरबन्दी छ। जनशक्ति नहुँदा उपचारका लागि हेटौंडा अस्पताल लैजानुपर्ने बाध्यता छ।

कारागारमा कुनै दुर्घटना भएमा उपचार नपाई मृत्यु हुने अवस्था आउनसक्ने नाइके सुयस ढकालले बताए।

‘केही समयअघि कारागारका एक कैदी एक्कासी बेहोस् भए। बेहोस् हुने बित्तिकै उपचारका लागि भीमफेदी अस्पताल लगियो। भीमफेदीबाट हेटौंडा हस्पिटल रिफर गरियो तर, हेटौंडा पुग्दासम्म मृत्यु भइसकेको थियो’, समस्याबारे ढकालले भने।

स्वास्थ्यकर्मी नहुँदा आकस्मिक सेवा समेत दिन नसकेको ढकाल बताउँछन्।

जेलर मदन लामा भने उपचारका लागि बाहिर लैजान एम्बुलेन्स समेत नभएको बताउँछन्। ‘भित्र उपचार गर्न नसके एम्बुलेन्स बोलाउनुपर्ने अवस्था आउँछ। भीमफेदीमा एउटा मात्रै एम्बुलेन्स छ। त्यो पनि भनेको  बेला पाउन सकिँदैन। कारागारको एउटा बस बन्दी र कैदीहरुलाई अदालत ल्याउने पुर्‍याउन नै ठिक हुन्छ', उनले भने।

गर्मी र चिसो समयमा विभिन्न समस्याले कैदीबन्दीहरु बिरामी भइरहने उनी बताउँछन्।

उपचारका लागि सरकारले दिने रकम समेत पर्याप्त नभएको लामा बताउँछन्। सरकारले वार्षिक ४ लाख उपचार खर्च दिने गरेको र कतिपय अवस्थामा हप्तौँ आइसियूमा राख्नपर्ने बिरामी हुँदा खर्चमै समस्या हुने उनको भनाई छ।

मानसिक समस्याका कैदीहरुको उपचारमा थप समस्या रहेको लामाको भनाई छ।

भीमफेदी कारागारमा एक हजारभन्दा बढी कैदी छन्।

पछिल्लो समय बढिरहेको कोभिड समस्यालाई मध्यनजर गरेर कारागार प्रशासनले भेटघाट बन्द गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell