
काठमाडौं : 'बैंकले ग्रिनलाइनलाई बन्द गराइ ताल्चा लगाइदिएकाले, मिटर ब्याजीहरुको धम्की तथा बैंकहरु आइरहेकाले गर्दा मानसिक अवस्था अस्थिर भएकाले काठमाडौं छोड्न बाध्य भएका हौँ। र, हामी कहाँ जान्छौँ, बाँचिन्छ वा मरिन्छ भन्ने कुनै ठेगाना छैन। बाँचे भने फेरि भेटौँला।'
पुस २२ गते ओमप्रकाश अग्रवालले यही बेहोराको 'नोट' लेखे। बैंक तथा असंगठित रुपमा धेरैसँग लिएको अर्बौं रुपैयाँ ऋण तथा लकडाउनले बिगारेको आर्थिक अवस्थाका कारण सम्पर्कबिहीन हुन परेको त्यो नोटमा उल्लेख गरे। नोटमा श्रीमती उषा अग्रवालको पनि हस्ताक्षर छ, साक्षीका रुपमा। उनीहरुलाई खोजिनेछ भन्ने बुझेरै लेखिएको उक्त पत्र कोठाभित्र भेटिने ठाउँमा राखे।
पछिल्लो समय ज्ञानेश्वरमा बस्दै आएका अग्रवाल परिवारले घरमा भएका दुई वटा गाडी भने आफूसँगै लिएर गएका छन्। पत्र लेखेको मितिदेखि सिंगो अग्रवाल परिवार सम्पर्कविहीन छ। ओमप्रकाश, अमित, अभिषेक, भारती, उषा, रुचिका सँगै ओमप्रकाशकी १७ वर्षीया नातिनी नन्दनी, ९ वर्षीया पार्था र २ वर्षीय अनव कहाँ छन्, कसैलाई थाहा छैन।
पुस २३ गते ओमप्रकाशकी छोरीले प्रहरीमा पुगेर आफ्नो बुवाआमा सहित सिंगो परिवार नै हराएको भन्दै उजुरी दिएकी छिन्। त्यसपछि प्रहरीले उनीहरूको खोजी गरिहरेको छ।
पुस २२ गतेदेखि उनीहरूको मोबाइल स्विच अफ छ। हालसम्म खुलेको छैन। प्रहरीले खोजी गर्नसक्ने सम्भावित 'क्लु'हरू उनीहरूले चलाखीपूर्वक मेटाएका छन्। के उनीहरूले प्रयोग गरेको सिमकार्ड फेरे? उनीहरु चढेर गएको गाडी कुनै सीमानाकाबाट पास भएको छ वा छैन? प्रहरीले खोजिरहेको छ। नेपाल टेलिकमलाई उनीहरुले चलाउँदै आएको मोबाइल फोनको आईएमीआई नम्बर तथा अन्य प्राविधिक कुराको जानकारी माग्दै प्रहरीले पत्राचार गरिसकेको छ।
'अहिलेसम्म कुनै सम्पर्क भएको छैन। हाम्रो टोलीले खोजी गरिरहेको छ। विभिन्न पाटोबाट अनुसन्धान गरिरहेका छौँ,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले भने।
अग्रवाल परिवारले झन्डै तीन दशकयता काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालन गर्दै आएको थियो। त्यही व्यापारका लागि उनीहरूले बैंकबाट करोडौं रुपैयाँ ऋणसमेत लिएको देखिएको छ। बैंकहरुले कम्पनीसँग ऋण उठाउनका लागि प्रक्रियासमेत सुरु गरिसकेका छन्। ऋण तिर्नका लागि बैंकले ३५ दिने सूचनासमेत टाँस गरिसकेको छ।
स्रोतका अनुसार, एभरेस्ट बैंकको करिब २२ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकको करिब ३२ करोड, ग्लोबल आईएमई बैंकको करिब १८ करोड र मेगा बैंकको करिब २५ करोड ऋण लगानी छ उनीहरुमाथि। इन्भेस्टमेन्ट बैंक बाहेकले भने सार्वजनिक रूपमै ऋण उठाउने प्रक्रिया सुरु गरेका छैनन्। उनीहरूले मदिराको स्टक भएको गोदाममा सिलबन्दी गरेका छन्।
अग्रवाल परिवारले तीन अर्बभन्दा धेरै रुपैयाँ ऋण लिएको देखिएको छ। जसमा अहिलेसम्म बैंक तथा वित्तीय संस्थाबाट आधा र त्यसभन्दा धेरै रकम मिटर ब्याजमा लिएको अग्रवालले लेखेको नोटमा उल्लेख छ। छोरा अमित अग्रवाल मिटर ब्याजको फन्दामा पर्दा सम्पत्ति सिद्ध्याएको समेत उल्लेख गरेका छन्। धेरै मिटर ब्याजी साँवाको दोब्बर-तेब्बरसम्म समेत तिरेको बताइएको छ।
अग्रवाल परिवार सम्पर्कविहीन भएपछि बैंक तथा वित्तीय सस्थांहरुले कानुनी बाटोबाट ऋण उठाउने प्रकृया अगाडि बढाएका छन्। तर, कानुन विपरीत गएर मिटर ब्याजमा रकम दिने व्यक्तिहरू भने अलमलमा छन्। अग्रवाल परिवार भेटिएमात्र उनीहरुको सावाँ तथा ब्याज उठ्ने सम्भावना रहन्छ।
गैर कानुनी माध्यमको भनिए पनि व्यापार व्यवसाय गरिरहेकादेखि कर्मचारी समेतले मिटर ब्याजमा लगानी गरेको देखिन्छ।
'उहाँहरूले खुलेर नै आफूले यति पैसा मिटर ब्याजमा दिएको थिएँ भन्नुहुन्न। तर, मेरो पनि कारोबार छ खोज्दिनु भन्दै राम्रै मानिसहरूको पनि फोन आउने गरेको छ,' एक उच्चपदस्थ प्रहरीले सुनाए।
मिटर ब्याजी आफैँमा गैरकानुनी भएकाले अहिलेसम्म प्रहरीमा कसैले ठगिएको भन्दै अग्रवाल परिवारविरुद्ध उजुरी दिएको छैन। तर, ओमप्रकाशको नोटमा भने 'मिटर ब्याजीको नाम थाहापाइ एक प्रतिष्ठित परिवारलाई आत्महत्यासम्म पुर्याउनेलाई दण्ड सजाएँ दिन' सरकारसँग माग गरिएको छ।
अग्रवालको पत्रले फेरि एउटा प्रश्न जन्माएको छ - के मिटर ब्याजमा लगानी गर्नेलाई कारबाही हुँदैन? तराईदेखि पहाडसम्मका गरिबमाथि 'परिवन्ध'कै आधारमा बित्तीय अपराधमा कारवाही हुँदा मिटर ब्याजी 'हुनेखाने'लाई कारवाही भएको देखिँदैन।
धनी शहरमा मिटर ब्याजको नमीठो कथा
नेपाल राष्ट्र बैंक ऐनको दफा ७६ ले राष्ट्र बैंकको अनुमतिविना निक्षेप लिन तथा कर्जा प्रवाह गर्न निषेध गर्छ। सरकारले निर्धारण गरेको ब्याजभन्दा बढी रकम लिनु आफैँमा गैरकानुनी हो।
तर, चर्को ब्याजको लोभमा गाउँमात्र होइन, शहरमा झन् डरलाग्दो तरिकाले मिटर ब्याज मौलाएको छ। यस्ता मिटर ब्याजमा व्यापारी, कर्मचारी, नेतादेखि प्रहरीसम्मको संलग्नता देखिन्छ। मिटर ब्याजले धेरैको घरबार नै उठिबास लगाएको मात्र होइन, ज्यानैसमेत लिएको छ।
दुई वर्षअघिको एउटा घटनाले त्यही बताउँछ। २०७६ पुसमा धादिङको बेनीघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट सिंगो परिवार नै हामफाल्यो। विनय लामिछाने, उनकी श्रीमती र दुई छोरा त्रिशुली नदीमा हामफालेका थिए। विनयलाई प्रहरीले उद्धार गर्यो, बाँकीको ज्यान गुम्यो।
उक्त आत्महत्याको कारण मिटर ब्याजमै पुगेर टुंगियो। मिटर ब्याजमा लिएको १ करोडभन्दा बढी रुपैयाँ तिर्न नसक्दा आत्महत्या गरेको खुल्यो। तर, त्यस प्रकरणमा मृत्यु हुने परिवार बाहेककासँग जोडिएका अरुखाले पाटा भने खुलेनन्। उनीहरुलाई गैरकानुनी रुपमा ब्याज उठाउनेहरु किन भेटिएनन्? या खोजिएन? कसैले चासो दिएन।
अहिलेसम्म मिटर ब्याजमा ठगिएँ, रकम डुब्यो भन्दै कोही पनि उजुरी दिन जाँदैन। किनकि त्यसरी ऋण लिनु र दिनु दुवै अपराधको शीर्षकभित्र समेटिन्छ। त्यसैले मिटरब्याजसँग जोडिएका तथ्याङ्क प्रहरीसँग पनि छैन। प्रहरी प्रधान कार्यालय नक्सालले पनि मिटर ब्याजसँग जोडिएका घटनालाई अलग राखेर वर्गीकरण गरेको छैन। त्यसैले यस्ता घटनाको लगत नै छैन। तर, शहरमा मिटर ब्याजले निम्त्याएका अपराधको लहरो चाहिँ थोरै छैन। नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेल राजनीतिक दल आवद्ध व्यक्ति, व्यापारी र प्रहरीसमेत मिटर ब्याजमा लागेको बताउँछन्।
'धेरैजसो मिटर ब्याजीहरु पोलिटिकल्ली रुपमा र प्रहरीबाट पनि संरक्षित छन्। नेताको भ्रष्टाचारको रकम यिनै मिटरब्याजीले व्यवस्थापन गर्ने गरेका छन्,' खरेलले भने, 'गाउँमा भन्दा शहरमा यसको डरलाग्दो अवस्था छ।'
गत साउनमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काठमाडौंको चाबहिलबाट १९ करोड रुपैयाँभन्दा बढी रकमको चेकसहित दोलखा मेलुङ घर भएका ३३ वर्षीय गणेश उप्रेतीलाई समात्यो।
गणेशले भक्तपुर बस्ने प्रकाश कार्की र रामेछाप घर भई काठमाडौँ बस्ने हेमरा गुभाजुले लिएको ऋणमा मिटर ब्याज लगाएका थिए। ऋण उठाउन उनले उनीहरुमाथि यतिसम्मको निरगानी गरेका थिए कि -उनको त्रासमा बाहिर हिँड्डुल गर्नसमेत सक्दैन थिए। पैसा तिर्न नसक्दा मार्नेसम्मको धम्की आएपछि भने उनीहरु प्रहरीकहाँ पुगेका थिए। र, प्रहरीले उप्रेतीलाई नियन्त्रणमा लिएको थियो। उनले अन्य व्यक्ति समेतलाई चर्को मिटर ब्याजमा रकम दिने गरेको अनुसन्धानमा खुलेको थियो। तर, उनी जिल्ला अदालत काठमाडौंको आदेशमा धरौटीमा रिहा भइसके।
'मिटर ब्याजीले रकम नउठेपछि अपहरण गर्ने धम्की दिने गर्छन्। कतिपय पीडितले देश नै छोडेर भागेका उदाहरण छन्। शहरमा जताततै मिटर ब्याजी भेटिन्छ,' पूर्व डीआईजी खरेलले भने।