PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र नेपाल पुलिस



पहिलोपोस्ट

प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र नेपाल पुलिस

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्बल र एपीएफ पुगेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न सेमिफाइनल खेलहरुमा नेपाल पुलिस क्बलले वाग्मती प्रदेशलाई र एपीएफले त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

टीयू मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसले वाग्मती प्रदेशमाथि ५० रनको जित निकाल्यो। टस जितेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। जसका लागि पवन सर्राफको सर्वाधिक ५९ रन, दीलिप नाथको अविजित ३१ रन र अनिल साहको २५ रन महत्वपूर्ण रह्यो। बलिङतर्फ वाग्मतीका नन्दन यादव र रिजन ढकालले समान २ विकेट लिँदा प्रतिस जिसीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको वाग्मती १०५ रनमा समेटियो। वाग्मतीका लागि आदिल खानको २७ रन, कप्तान ज्ञानेन्द्र मल्लको २२ रन बनाउँदा रामनरेश गिरी २२ रनमा अविजित रहे। वाग्मतीलाई लक्ष्यसम्म पुग्न नदिन पुलिसका दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गरे। उनले ४ ओभर बलिङ गर्दा १० रन दिएर ५ विकेट लिए।

त्यस्तै दोस्रो सेमिफाइनलमा लोकेस बमको विस्फोटक ब्याटिङको सहायतामा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ४७ रन हरायो।

टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३० रन बनायो। जसका लागि आशिफ शेखले सर्वाधिक ८४ रन बनाउँदा प्रदीप ऐरी ५७ रनमा अविजित रहे। एपीएफको स्कोर उकास्न लोकेश बमको विस्फोटक ब्याटिङ महत्वपूर्ण रह्यो। उनले १८ बलमा २ चौका र ९ छक्काको सहायतामा ६६ रन बनाउँदै अविजित रहे।

जवाफी ब्याटिङमा उत्रिएको आर्मी १८३ रनमा समेटियो। जसका लागि राजेश पुलामीले सर्वाधिक ३८ रन बनाउँदा भीम सार्कीले ३५, सुमित श्रेष्ठले २४ र हरि चौहानले २२ रनको योगदान दिए। आर्मीलाई लक्ष्य सम्म पुग्न नदिन एपीएफका शरद भेषवाकरले सर्वाधिक ३ विकेट लिँदा भुवन कार्की र अविनास बोहोराले समान २ विकेट लिए। त्यस्तै दीपक बोहोरा र किशोर महतोले समान १ विकेट लिए।

प्रतियोगिताको फाइनलमा बुधवार पुलिस र एपीएफ आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell