PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

माघ १६ गतेपछि ५ दिनलाई खुल्दै विद्यालय, खोप अभियान सञ्चालन गर्ने सीसीएमसीको निर्णय 



पहिलोपोस्ट

माघ १६ गतेपछि ५ दिनलाई खुल्दै विद्यालय, खोप अभियान सञ्चालन गर्ने सीसीएमसीको निर्णय 

काठमाडौँः सरकारले विद्यालयहरुमा खोप अभियान सञ्चालन गर्ने भएको छ। अभियान सञ्चालनका लागि माघ १६ गतेदेखि विद्यालय खोल्न निर्णय भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको संयोजकत्वमा मंगलबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले विद्यालयमा खोप अभियोन सञ्चालन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको निर्देशक समितिको बैठकका निर्णयलाई प्रभावकारी कार्यान्वयन गराउने पनि बैठकले निर्णय गरेको छ।  

बैठकपछि गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले खोप अभियान सञ्चालनका लागि माघ १६ गतेबाट ५ दिन विद्यालय खुल्ने बताए। 

बैठकपछि कोइरालाले भने, ‘माघ १६ गतेपछि २० गतेसम्म विद्यालय खुला गरिने छ। यो सम्बन्धी सूचना सम्बन्धित मन्त्रालयले जारी गर्नेछ र कार्यान्वयनमा जानेछ।’

सीसीएमसी निर्देशक समितिको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्दको निर्णय यसअघि गरिसकेको छ। 

यस्तै, बैठकले माघ ७ पछि सार्वजनिक स्थलमा खोप कार्डलाई अनिवार्य गर्ने निर्णय पनि गरेको छ। यसअघिको निर्देशक समितिको सिफारिस अनुसार सो निर्णय भएको छ। स्थानीय प्रशासनहरुले पनि सो निर्णय गरिसकेका छन्। 

कोरोना संक्रमित विद्यार्थीलाई पनि परीक्षा दिने व्यवस्थाका लागि सम्बन्धित मन्त्रालयमार्फत विश्वविद्यालयहरुलाई सूचित गर्ने निर्णय पनि बैठकले गरेको छ। हवाइ यात्रको टिकटमा पनि खोप कार्डलाई अनिवार्य गरिने निर्णय भएको छ। कोरोना संक्रमणको जोखिम हेरेर अत्यावश्यक बाहेकका अन्य सेवाबारे निर्णय लिन बैठकले स्थानीय प्रशासनहरुलाई पनि निर्देशन दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell