
काठमाडौं : पछिल्लो समय कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै देशभर संक्रमण दर ह्वात्तै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मंगलवार हालसम्म कै बढी १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको थियो। मंगलवार काठमाडौंमा मात्रै ४ हजार ४ जना, ललितपुरमा ९ सय ७५ जना र भक्तपुरमा ५ सय ७० जना गरी कुल ५ हजार ५ सय ४९ जनामा संक्रमण देखिएको थियो। कुल संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्र ५४.११ प्रतिशतमा संक्रमण देखिएको थियो।
संक्रमण दर बढेसँगै 'रेड जोन' पनि थपिँदै छन्। हालसम्म ७७ जिल्लामा १२ जिल्ला 'रेड जोन'मा परेका छन्। माघ ३ गतेसम्म देशभरका ९ जिल्ला 'रेड जोन'मा थिए। माघ ४ गते भने थप ३ जिल्ला 'रेड जोन' मा थपिएका हुन्। वाग्मतीको मकवानपुर र काभ्रे र प्रदेश १ को झापा हिजो 'रेड जोन'मा थपिएका जिल्ला हुन्।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ को मोरङ, सुनसरी र झापा 'रेड जोन'मा छन्। झापामा ६ सय ४४ जना, मोरङमा १ हजार ७ सय ७८ र सुनसरीमा १ हजार १ सय ८७ जना संक्रमित छन्।
वाग्मती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रे 'रेड जोन' परेका छन्। देशभर सबैभन्दा बढी संक्रमित यही प्रदेशमा छ। काठमाडौंमा १७ हजार ७ सय ९ जना, भक्तपुरमा २ हजार ३ सय ९६ जना, ललितपुरमा ४ हजार ४ सय ७१ जना, चितवनमा ९ सय ७९ जना र मकवानपुरमा ६ सय ४५ जना सक्रिय संक्रमित छन्।
यस्तै, गण्डकीको कास्की, लुम्बिनीको रुपन्देही र सुदूरपश्चिमको कैलाली पनि 'रेड जोन'मा छन्। मन्त्रालयको तथ्यांक अनुसार कास्कीमा १ हजार ३ सय ४ जना, रुपन्देहीमा ९ सय २ जना र कैलालीमा ७ सय ३७ जना संक्रमित छन्।
यस्तै, प्रदेश २ को धनुषा र पर्सा, गण्डकीको नवलपरासी पूर्व र लुम्बिनीको बाँके र दाङ र सुदूरपश्चिमको कञ्चनपुरमा पनि पनि संक्रमण दर बढ्दो छ। यी जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्।