PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेताहरु 'आइसोलेट' हुँदा राजनीति ठप्प : प्रचण्डलाई राहत, एमालेलाई चाहिँ आहत



प्रकाश भण्डारी

नेताहरु 'आइसोलेट' हुँदा राजनीति ठप्प : प्रचण्डलाई राहत, एमालेलाई चाहिँ आहत

काठमाडौं : कोभिड-१९ संक्रमण तीब्र गतिमा बढ्न थालेपछि राजनीतिक गतिविधि ठप्प भएका छन्। एकातिर संसद बस्न सकेको छैन भने अर्कातिर राजनीतिक दलले आफ्ना गतिविधिलाई कटौती गर्न वाध्य भए। दलका शीर्ष नेताहरुमा नै कोभिड १९ संक्रमण देखिएको छ। नेता 'आइसोलेट' हुँदा राजनीतिक गतिविधि धिमा बन्न पुग्यो। नेकपा माओवादी केन्द्रको ८औं अधिवेशनपछि पुस १९ गते बसेको केन्द्रीय कमिटीको बैठकपछि माओवादी केन्द्रले सबैखालका गतिविधि रोकेको छ। कांग्रेसको पनि राजनीतिक गतिविधि ठप्प छै।

प्रचण्डलाई राहत

कोभिड-१९ संक्रमण माओवादी केन्द्रका हकमा गजबको वाहना बन्न पुग्यो। ८औं महाधिवेशनबाट पूर्ण केन्द्रीय कमिटी छान्न नसकेका प्रचण्डले २ सय ३६ जना केन्द्रीय सदस्यको सूची पास गराए। बाँकी सदस्य त छाडौं, पदाधिकारी छान्न पनि प्रचण्ड असफल रहे। आफूलाई अध्यक्ष छान्ने बाहेक पदाधिकारीको टुंगो लगाउन उनले आवश्यक ठानेनन्।

नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकपछि धेरैजसो शीर्ष नेताहरुलाई कोरोना भाइरसको संक्रमण देखिन थालेपछि माओवादी केन्द्रले त्यसैको 'निहूँ'मा पदाधिकारी चयनलाई थाँती राखेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ संक्रमित भए तेस्रो लहरको सुरुमै। उनी हाल संक्रमण मुक्त भइसकेको प्रचण्डको सचिवालायले जनाएको छ।

प्रचण्ड संक्रमित भएपछि सरकार सञ्चालनका लागि सत्तारुढ दलहरुले गठन गरेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्न सकेको थिएन। प्रचण्ड संक्रमण मुक्त भएपछि मंगलवार भने समितिको बैठक बस्यो। तर, बैठकमा सबै राजनीतिक दलका शीर्ष नेता सहभागी हुन सकेनन्। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल संक्रमित भएका छन्। त्यसैले उनी बैठकमा सहभागी हुन नसकेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। सबै नेता सहभागी नहुँदा स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारेमा पनि प्रष्ट निर्णय हुन नसकेको गुरुङको भनाइ छ। त्यसो त उक्त बैठकमा सहभागी भएका एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाललाई साँझ कोरोना संक्रमण पुष्टि भयो। जसकारण फेरि नेताहरु 'आइसोलेट' हुन बाध्य भएका छन्।

अधिवेशनमा एमालेलाई सास्ती

कोभिड-१९ को संक्रमणका कारण एमालेले सबै जिल्लाको अधिवेशन सम्पन्न गर्न भ्याएन। ६४ जिल्लाको अधिवेशन सम्पन्न भएर जिल्ला अध्यक्ष चयन भएको भए पनि बाँकी जिल्लामा संक्रमणका कारण अधिवेशन हुन नसकेको एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनका अनुसार अधिवेशन सम्पन्न नभएका जिल्लाहरु मध्ये पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख गरी चार जिल्लामा अधिवेशन उद्घाटन भएको भए पनि संक्रमणका कारण नेतृत्व चयन हुन सकेको छैन।

धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी ९ जिल्लामा अधिवेशनको मिति नै तय भएको छैन।

संक्रमण बढ्न थालेपछि एमालेको केन्द्रीय कार्यालयको बैठकले २५ जना भन्दा बढी भेला हुने सबै खालका गतिविधि तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो। एमालेका जनवर्गीय संगठनहरुले पनि भेला बैठकहरु नगर्ने निर्णय गरेका छन्।

एमालेले संक्रमण बढिरहेकाले चर्कोसँग सरकारको विरोध गर्न पनि पाएको छैन। संसद रोकिँदा उसले विरोधका लागि स्थान पाएन भने स्थानीय तहको निर्वाचनलाई लिएर सरकारसँग बहसमा उत्रिन पाएको छैन।

मस्त देउवा, सुन्न परेन आलोचना

नेपाली कांग्रेसले कोभिड-१९ को संक्रमण व्यापक हुनुअघि नै काठमाडौंमा महाधिवेशन सम्पन्न गरेको थियो। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई संक्रमणले राहत दिएको छ। संक्रमणका कारण पार्टीभित्र र बाहिर उनको चर्को आलोचना हुन पाएको छैन। पार्टी भित्रकै विपक्षीहरुले संक्रमण व्यापक हुनुअघि एकलौटी निर्णय गर्न थालेको भन्दै देउवाका विरुद्धमा उत्रने तयारी गरिरहेका थिए।

देउवाले झेलिरहेको अर्को संकट थियो- संसद चलाउने र एमसीसी अघि बढाउने। दुवै संकटमा देउवालाई तत्कालका लागि कोरोनाले राहत दिएको हो। संसद चलाउन र एमसीसी अघि बढाउने विषयमा केही समय अघि देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा भेटेका थिए। संसद चल्न दिन र एमसीसी पास गर्न देउवाले गरेको प्रस्तावलाई ओलीले अस्वीकार गरेका थिए। यतिखेर देउवा बालुवाटारमै 'आइसोलेट' हुन पुगेका छन्।

सरकारका गतिविधिलाई लिएर समेत आलोचना हुने भए पनि संक्रमणका कारण सरकारको आलोचना हुन पाएको छैन। यसै बिचमा मन्त्रीहरुले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन्। संक्रमणको रफ्तारका कारण उनीहरुको विवरणमाथि समीक्षा र टिप्पणी पनि खासै भएको छैन, भनौं - प्राथमिकतामा मन्त्रीका रिपोर्ट कार्ड परेनन्। त्यसैले आलोचना हुन पनि पाएन।

आलेको रफ्तार रोकियो

देउवा सरकारमा पछिल्लो समय चर्चामा रहेका मन्त्री हुन् पर्यटन मन्त्री प्रेमबहादुर आले। उनी पनि संक्रमित भएपछि राजनीतिक र सरकारका गतिविधिमा सहभागी हुन पाएका छैनन्। उनले पछिल्ल्लो समय बतास समूहले विभिन्न ठाउँमा बनाइरहेको संरचनामाथि धमाधम छानविन समिति बनाउँदै हिँडेका थिए। पूर्व मन्त्री योगेश भट्टराई विरुद्ध कडा रुपमा उत्रिएका आले यतिखेर भने बाहिर निस्किन नपाउनेगरी थन्किएका छन्। उनलाई पनि कोभिड १९ ले समातेको छ। अन्यथा उनका 'स्टन्ट' कति हेर्न मिल्थ्यो भन्न सकिन्न। किनकि उनले आफ्ना गतिविधिलाई 'कास्टिङ'मात्रै बताउँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell