PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जो अगुवा उही..., नेताहरु नै पालना गर्दैनन् कोरोना रोकथामको स्वास्थ्य मापदण्ड



प्रकाश भण्डारी

जो अगुवा उही..., नेताहरु नै पालना गर्दैनन् कोरोना रोकथामको स्वास्थ्य मापदण्ड

काठमाडौँ: दैनिकजसो राजनीतिक दलका शीर्ष नेतादेखि जिल्ला तहका नेताहरूले सर्वसाधारणलाई पाठ पढाइरहेका हुन्छन् -कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउँ। ‘दिव्योपदेश’ शैलीमा सामाजिक सञ्जालमा नेताहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लामा-लामा चेतनामूलक सामग्री पनि पोस्ट गर्छन्। तर यिनै नेता तथा अगुवा आफू भने संक्रमण रोकथामका सामान्य मापदण्डसमेत पालना गर्दैनन्।

‘जो अगुवा उही प्रोटोकल मिचुवा’ शैलीमा फुक्काफाल हिँड्छन्।

+++

पछिल्लो उदाहरण हो -नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा।

शर्माले बुधबार आफूसहित परिवार नै कोभिड -१९ संक्रमित भएको जानकारी गराए।

'सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु,' सतर्कता नअपनाएकोबारे माफी माग्दै शर्माले ट्विट गरेका छन्। संक्रमणपछि भने उनी आइसोलेसनमा छन्।

शर्मा मंगलबार इलामको खाल्डेमा श्रद्धाञ्जली सभामा सहभागी भएका थिए। जहाँ उनले स्वास्थ्यको मापदण्ड भने पालना गरेनन्। कार्यकर्ताको भीडमा पनि मास्क नलगाई उभिएको तस्विर उनी आफैँले सार्वजनिक गरेका छन्। मापदण्ड पालना नगरेको उनैले स्वीकारेका छन्। अघिल्लो दिन भीडभाड गरेको र पछिल्लो दिन आफैँ संक्रमित भएको जानकारी गराएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ।

स्वास्थ्य मापदण्ड पालनमा नेताहरू कति हेलचेक्र्याइँ गर्छन् भन्ने अर्को उदाहरण हो -नेकपा (एमाले) का सचिव योगेश भट्टराईको बालुवाटार प्रवेश। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको सुझावको पोको बोकेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका भट्टराई आफू भने मास्कविहीन देखिए। संक्रमण नियन्त्रणबारे आफ्नो पार्टीका तर्फबाट ध्यानाकर्षण गराउन योगेश पार्टीका उपाध्यक्ष सुवास नेम्वाङसँगै माघ १ गते बालुवाटार पुगेका थिए।

एमालेले देउवालाई २२ बुँदे ध्यानाकर्षण पत्र बुझायो। तर, कोभिडबारे देउवालाई सम्झाउन पुगेका भट्टराई आफैँ भने संक्रमण नियन्त्रणबारेको मापदण्ड पालना गर्न चुके।

पत्र बुझाएको तस्विर सार्वजनिक भएपछि भट्टराई आलोचनाको सिकार भए। प्रधानमन्त्री देउवा र एमाले उपाध्यक्ष नेम्वाङ मास्कमा देखिँदा भट्टराईले भने मास्क लगाएका थिएनन्। संक्रमण रोकथामलाई हेलचक्र्याइँ गरेको आरोपपछि भट्टराईले माफीसमेत मागे।

'ध्यानाकर्षण पत्र वाचनका क्रममा मैले मास्क खोलेको थिएँ। तत्क्षण पत्र हस्तान्तरण गर्नुपर्दा मास्क लगाउन भुलेको बारेमा सञ्चार माध्यममा आएको टिप्पणीको स्वागत गर्दछु। विषय र घटनाको सार र रूप पक्षलाई छुट्टाएर बुझ्न सबैमा अनुरोध गर्दछु,' भट्टराईले फेसबुकमा भनेका छन्।

दैनिक संक्रमणको दर उकालो लाग्दो भए पनि नेताहरूले जनस्वास्थ्यमा हेलचक्र्याइँ कति गर्छन् भन्नेबारेको अर्को उदाहरण हो पर्यटनमन्त्री प्रेम आलेको दौडधुप।

माघ २ गते पशुपति धर्मशालाको निरीक्षणमा पुगेको भोलिपल्टै मन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि भयो। उनी पछिल्लो समय विभिन्न स्थानमा निरीक्षणको डफ्फासहित दौडधुपमा निस्किएका थिए। मन्त्री आलेको कोरोना रिपोर्ट आउँदा उनीसँग हेलमेल भएको मानिसबारे कुनै जानकारी गराइएको छैन।

नेता/ मन्त्रीमात्र हैनन्, शीर्ष नेताहरूले नै संक्रमण रोकथाम तथा नियन्त्रणमा चासो दिएको देखिन्न।

+++

कोरोनाको तेस्रो लहर सल्किसकेपछि प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटे।

देउवाले ओलीलाई संसद् खुलाउन अनुरोध गर्दै पुस २४ गते भेटेका थिए। अघिल्लो दिन बसेको सत्तारुढ गठबन्धनको बैठकमा सहभागी भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुस २४ गते नै संक्रमण भएको पुष्टि भएको थियो। दाहालले संक्रमणको लक्षण देखिएपछि पुस २३ गते साँझ नै पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए।

दाहाललाई संक्रमण भएको सार्वजनिक भएपछि स्वतः देउवा कनट्याक्ट ट्रेसिङमा परे। ट्रेसिङमा परे पनि देउवाले ओलीसँगको भेटलाई भने रोकेनन्।

त्यसो त ओली पनि के कम!

भोलिपल्टै संखुवासभामा जिल्ला अधिवेशन उद्घाटन गर्न पुगे। कनट्याक्ट ट्रेसिङमा परेका ओलीले आफूलाई परीक्षण गर्न चाहेनन्। करकापमा परेपछि प्रधानमन्त्री देउवाले भने पुस २६ गते परीक्षण गराए, तर संक्रमण देखिएन।

यता पुस २३ गतेको सर्वदलीय बैठकमा सहभागी भएका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल भने संक्रमित भए। पुस २८ गते नेपाललाई संक्रमण भएको पुष्टि भएको थियो।

नेताहरूले संक्रमणलाई कम आँकिरहेका बेला कोरोना भाइरस भने व्यापक रूपमा फैलिरहेको छ।

मंगलबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी भएका एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाललाई मंगलबार साँझ नै कोभिड-१९ संक्रमण पुष्टि भएको छ। साँझ नै संक्रमण पुष्टि भएकाले उनले परीक्षणका लागि स्वाब दिएर बैठकमा गएको भनेर धेरैले आलोचना गरेका छन्।

बैठकमा देउवा, प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत नेताहरूको सहभागिता थियो।

बुधबारको अपडेट अनुसार एकैदिन ११ हजारभन्दा धेरैलाई संक्रमण पुष्टि भएको छ। संक्रमण बढ्न थालेपछि सरकारले भीडभाड गर्न नदिन प्रतिबन्धात्मक व्यवस्थालाई थप कडा पार्दै लगिरहेको छ। पछिल्लो समय जनस्वास्थ्यमा मापदण्डलाई कडाइ गर्दै निषेधात्मक व्यवस्था (स्मार्ट लकडाउन गर्न सकिने सम्मको व्यवस्था) समेत लागू गरिएको छ।

मास्क नलगाएको व्यक्ति सार्वजनिक यातायातमा चढ्न नपाइने, सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य हुनुपर्ने, २५ जनाभन्दा बढी भेला हुन नपाउने लगायतामा प्रतिबन्धात्मक व्यवस्था सरकारले जारी गरेको छ।

तर कानुनी र स्वास्थ्य मापदण्ड नेताहरुका लागि भने छुटजस्तै मानिएको छ।

कोभिड-१९ नियन्त्रणका लागि सरकारको पहलका बाबजुद संक्रमण भने तीव्र गतिमा छ।

+++

यसअघि नेकपा (माओवादी केन्द्र) को पुस १९ गतेको केन्द्रीय कमिटी बैठकमा सहभागी अधिकांश नेताहरूलाई संक्रमण देखिएको थियो। प्रचण्डसहित माओवादीका नेताहरू सहभागी भएको उक्त बैठकपछि माओवादीले कुनै पनि भेला तथा सभाको आयोजना गरेको छैन।

ओमोक्रन भेरियन्टका कारण तेस्रो लहरले जनजीवन प्रभावित भए पनि पुस महिनाको अन्तिमसम्म एमालेले संक्रमणलाई त्यति ध्यान दिएको थिएन। हाल भने एमालेले पनि २५ जनाभन्दा बढी भेला हुनुपर्ने सबै गतिविधिलाई स्थगित गरेको छ।

माघ ३ गते मात्रै एमालेले संक्रमणलाई ध्यानमा राखेर पार्टीका भेला तथा बैठक स्थगित गरेको थियो। यसअघि एमालेका जिल्ला अधिवेशन भइरहेका थिए। सरकारले २५ जनाभन्दा बढी भेला नहुन अनुरोध गरिरहेको भए पनि पुस अन्तिमसम्म भने एमालेले जिल्ला जिल्लामा भेला गरिरहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell