PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मदानेचौरका डेढ सय परिवारलाई एउटै धाराको भर, हिउँद लागेपछि बस्नुपर्छ घण्टौं लाइन



पी बी खड्का

मदानेचौरका डेढ सय परिवारलाई एउटै धाराको भर, हिउँद लागेपछि बस्नुपर्छ घण्टौं लाइन

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका–१० मदानेचौरका स्थानीयवासीलाई खानेपानीको चरम अभाव छ। मदानेचौरका झण्डै डेढ सय घरपरिवारलाई खडेरी लागेपछि खानेपानीको अभाव झेल्नुपर्छ।

वर्षातमा केही सहज बने पनि हिउँद लागेपछि शुरु हुन्छ खानेपानीको पिरलो।

‘वर्षामा त खासै समस्या हुदैँन, मंसिर यता नुहाउन, कपडा धुन त परको कुरा पशुचौपाया र मान्छेलाई पिउने पानी जुटाउने धौँ धौँ हुन्छ,’ स्थानीय दिपक बीसीले भने, ‘डेढ सय बढी घरपरिवार छौँ, भएको त्यही एउटै धारो हो, घण्टौँ लाइन लाग्नुपर्छ।’

उनका अनुसार ढेड सय घरपरिवारका लागि समुदायमा एउटामात्रै पानीको स्रोत छ।

‘पिउने पानीको भाडा लिएर तीन चार घण्टा लाइनमा बस्नुपर्छ’ उनले भने, ‘चैत वैशाखमा त काकाकूल हुने अवस्था हुन्छ।’

घरदैलोका सरकारले मदानेचौरवासीको खानेपानी समस्याप्रति बेवास्ता गरेको स्थानीयवासीको गुनासो छ। निर्वाचनका बेला विकास र सेवा सुविधाको आश्वासन बाँड्ने तर, निर्वाचन जितेर गएपछि फर्केर नहेरेको स्थानीय टिका खनालको गुनासो छ।

‘चुनावको बेला दैलादैलामा आएर खानेपानी घर घरै व्यवस्था गर्छौ भनेर जान्छन्,’ उनले भनिन्, ‘नेताहरुको मुहार फेरियो, हाम्रो दुःख जस्ताको तस्तै छ।’

स्थानीय तहका जनप्रतिनिधि, सांसदले आफ्नो पीडाप्रति चासो नदिएको गुनासो छ।

यता, भेरीगंगा नगरपालिकाकी उपप्रमुख रेणु ढकालले समस्या समाधानका लागि आयोजनाको काम अघि बढेको दाबी गरिन्।

‘मदानेचौरवासीको खानेपानी समस्यालाई मध्यनजर गरेर आयोजनाको काम अघि बढिसकेको छ,’ ढकालले भनिन्, ‘ट्यांकी निर्माण, पाइप खरिद भइसकेको छ, सकेसम्म यसै आर्थिक वर्षभित्र खानेपानी समस्या पुर्‍याउने गरी काम भइरहेको छ।’

उनका अनुसार दीर्घकालिन रुपमा समस्या समाधान गर्न स्थानी सरकार लागेको बताइन्। पानीको स्रोत खोजी भइरहेकाले नगरका अन्य क्षेत्रमा समेत उचित खानेपानीको व्यवस्थापन गर्ने बताइन्।

                                                                                                                                                     



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell