
कोभिड-१९ को संक्रमणका कारण प्रवेशाज्ञामा कडाइ गरेको अष्ट्रेलिया सरकारले प्रवेशाज्ञा सम्बन्धि व्यवस्थालाई खुकुलो बनाउँदै लगेको छ। प्रवेशाज्ञा भए पनि देशको प्रतिबन्धात्मक नियमका कारण प्रवेश नपाएकाहरुलाई प्रवेश छुट दिइएको छ।
प्रवेशमा सहजता आएसँगै पछिल्लो २ महिनामा मात्र ४३ हजार बढी विद्यार्थीहरु अष्ट्रेलिया प्रवेश गरेको त्यहाँका अध्यागमन सम्बन्धि मन्त्री अलेक्स ह्वाकेले दुई दिन अगाडि मात्र जानकारी गराएका थिए।
अष्ट्रेलिया सरकारले पूर्णमात्रा खोप लगाएका भिसाबहाकलाई अष्ट्रेलिया प्रवेश गर्न दिने घोषणा नोभेम्वर २२ मा गरेको थियो।
डिसेम्वर १ देखि लागु हुने गरी गरिएको घोषणा पछि डिसेम्वर १ देखि प्रवेश गर्ने विद्यार्थीहरुको संख्या ४३ हजार बढी पुगेको हो। त्यहाँको सरकारले सीपयुक्त व्यक्तिहरु, विद्यार्थीहरु, परिवारिक प्रवेशाज्ञा वाहक, काम विदामा गएकाहरुलाई प्रवेश दिने बताएका थिए।
हाल अष्ट्रेलियामा एक लाख ५० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरु रहेको बताएका छन्। अष्ट्रेलियाली मन्त्री ह्वाकेले अझै पनि अष्ट्रेलिया अध्ययनका लागि प्रमुख गन्तव्य भएको सन्देश यो संख्याले दिने बताएका थिए।
त्यस्तै, विद्यार्थीहरुसँगै ८ हजार बढी सीपयुक्त कामदारहरु, २२ बढी कार्यविदामा गएकाहरु र ६० हजार परिवार भिसाबहाकहरु यसबिच अष्ट्रेलिया पुगेको तथ्यांकमा उल्लेख छ।
अष्ट्रेलियाले ‘टेम्प्रोअरी ग्राजुएट भिसा’मा पनि खुकुलो पार्ने भएको छ। यस्तो भिसा भएकाहरुको भिसा १८ फेब्रअरीदेखि थप गर्दै उनीहरुलाईसमेत अष्ट्रेलिया प्रवेश दिने भएको छ। अष्ट्रेलिया पुगेपछि उनीहरुले थप बसाईका लागि आवेदन दिन सक्नेछन्।
अष्ट्रेलियाबाट ग्राजुएट भई १ फेब्रुअरी २०२० देखि १४ डिसेम्वर २०२१ को बिचमा अष्ट्रेलियाबाट बाहिर रहेकाहरुको भिसा अवधी थपिने छ। यो अवधि जुलाई १ सम्म रहने बताइएको छ।
अस्ट्रेलिया सरकारले तत्काल आफ्नो देश आउने अन्तर्राष्ट्रिय विद्यार्थी र वर्किङ होलिडे भिसावाहक कामदारका लागि भिसा शुल्क नलिने वा लिएकाहरुको हकमा फिर्ता गर्ने घोषणा अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले बुधवार पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन्।
कामदारको चरम अभाव भएपछि विदेशी विद्यार्थी वा कामदारको आवागमनलाई प्रोत्साहन गर्न प्रधानमन्त्री मरिसनले अस्थायी नीति सार्वजनिक गरेका हुन्।
मरिसनका अनुसार आगामी ८ साताभित्र अस्ट्रेलिया प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले भिसाका लागि तिरेको शुल्क फिर्ता पाउनेछन्। विद्यार्थी भिसाका लागि हाल ६ सय ३० अस्ट्रेलियाली डलर शुल्क तिर्नुपर्छ।
अझै पनि १ लाख ५० हजार भिसावाहक अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलिया बाहिर रहेको भन्दै उनीहरुलाई अष्ट्रेलिया फर्किन र आफ्नो अध्ययन पूरा गर्न उनले आग्रह गरेका छन्। त्यसका लागि अध्ययन भिसामा रहेका विद्यार्थीहरुको कार्यवाधीमा समेत सुधार गरिएको छ।
यसअघि अध्ययन भिसामा गएका विद्यार्थीहरुका लागि लगाइएको ‘२० घण्टे’ नियमलाई हटाएको प्रधानमन्त्रीले घोषणा गरे। अब उनीहरुले २० घण्टा बढी काम गर्न सक्नेछन्।
त्यस्तै, अष्ट्रेलियाले कोभिड-१९ संक्रमणसँगै कामदारमा आएको कमीलाई पूर्ति गर्नका लागि ‘व्याकप्याकर्स’हरुलाई निम्तो दिएको छ।
जनवरी १ देखि प्रवेशमा गरिएको खुलापनका कारण यसबिच दुई हजार बढी विदेशी व्याकप्याकर्सहरु अष्ट्रेलिया प्रवेश गरेको दी सिड्नी मर्निङ हेराल्डले जनाएको छ।
बुधवारको पत्रकार सम्मेलनमा पनि प्रधानमन्त्री मोरिसनले उनीहरुलाई सम्बोधन गरेका थिए। उनले उनीहरुको भिसा शूल्क समेत हटाइने घोषणा गरे। आगामी तीन महिनासम्म अष्ट्रेलिया प्रवेश गर्नेहरुबाट लिइएको ४९५ डलर भिसा शूल्क समेत फिर्ता गरिने उनले घोषणा गरे। अझै पनि २३ हजार ५ सय भिसाबहाक ‘व्याकप्याकर्स’हरु अष्ट्रेलिया बाहिर रहेका छन्।
‘मेरो सन्देश उनीहरुका लागि हो। तपाईँहरु आउनुहोस्, अहिले नै आउनुहोस्। किनभने तपाईँहरु अष्ट्रेलिया आउन चाहनुहुन्छ। तपाईँहरुले तपाईँले भिसा पनि पाउनुभएको छ। हामी चाहन्छौँ। तपाईँहरु अष्ट्रेलिया आउनुहोस्। छुट्टीको आनन्द लिनुहोस् । घुमघाम गरी रमाइलो गर्नुस् र कामदार कमी भएका क्षेत्रमा योगदान पनि पुर्याउनुहोस्,’ पत्रकार सम्म्लनमा प्रधानमन्त्रीले मोरिसनले भनेका छन्, ‘हाम्रो कृषि क्षेत्रलाई सहयोग गर्नुहोस्। हाम्रो स्वास्थ्य क्षेत्र र अन्य क्षेत्रमा सहयोग पुर्याउनुहोस्।’
उनले यसरी अष्ट्रेलिया भ्रमण गर्ने व्याकप्याकर्सहरुले पूर्ण मात्रा खोप लगाएको हुनुपर्ने बताए। त्यस्तै, राज्य अनुरुप कायम रहेको क्वारेन्टाइन सम्बन्धी नियमलाई भने पालना गर्नुपर्ने उल्लेख गरे।
उनले अष्ट्रेलियाको पर्यटनक्षेत्र सुधार तथा व्याकप्याकर्सहरुलाई लक्षित गरी कार्यक्रम गर्नका लागि ३ मिलियन डलर छुट्याइने घोषणा गरे।
कोभिड-१९ को ओमोक्रन भेरियन्टका कारण अष्ट्रेलियाको १० प्रतिशत कामदार विदामा हुने र जुन १३ लाखको हाराहारीमा रहेको। जुन अझ पाँच प्रतिशत बढ्ने सक्ने बताइएको छ।