वीरगंज : वीरगंजमा जारी चाथौ सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको शुक्रवार हुने दुई वटा सेमिफाइनल खेलमा नेपाल आर्मी, गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेश बिच हुने भएको छ।
दिउँसो साढे १२ बजे पहिलो खेलमा आर्मी र गण्डकी भिड्नेछन्। यस्तै, दिउँसो साढे दुई बजे हुने दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश बिच हुनेछ।
बिहीवार वीरगंजस्थित आदर्शनगर रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा प्रदेश १ लाई आर्मीले शून्य गोलको विरुद्ध ७ गोल गरी पराजित गरेको थिय। उक्त खेलमा आर्मीकी कमला चन्दले सर्वाधिक ४ गोल गरेकी थिइन् भने निलिमा पाण्डेले दुई र सीता मगर बमले एक गोल गरेका थिए। खेलको उत्कृष्ट खेलाडी आर्मीकी अन्जनाचन्द ठकुरी घोषित भएकी थिइन।
त्यसैगरी, दोस्रो क्वाटारफाइनल खेलमा गण्डकीले लुम्बिनीलाई २ गोलले पराजित गर्दै सेमिफाइनलमा ठाउँ पक्का गरेको हो। गण्डकीका तर्फबाट कमलादेवी घर्ती पुन र नानु गुरुङले १-१ गोल गरेका थिए। उक्त खेलको उत्कृष्ट खेलाडीको रुपमा गण्डकीकी सबिन पुन राणा घोषित भइन्।
सानो पाइला वीरगंजको सहकार्यमा नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगितामा आर्मी, प्रदेश १, मधेश प्रदेश, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम गरी ६ वटा टिमको सहभागिता रहेको छ। राष्ट्रिय हक्की प्रतियोगिताको पहिलो र तेस्रो संस्करण नेपाल आर्मीको टिमले जितेको थियो।