
काठमाडौं : कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर संक्रमण दर ह्वात्तै बढेको छ। पुसको अन्तिम सातादेखि उकालो लागेको कोरोनाको गति माघमा थप बढ्दै गएको हो।
कोरोनाको पहिलो र दोस्रो लहरले जति क्षति नगरे पनि तेस्रो लहरमा संक्रमण भने घरघर पुगेको छ। पछिल्लो केही दिनयता दैनिक रेकर्ड ब्रेक गर्दै संक्रमितको संख्या बढिरहेको छ। बिहीवार हालसम्मकै धेरै संक्रमित (१२ हजार ३ सय ३८ जना) पहिचान भएसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३ सय २८ पुगेको छ।
सक्रिय संक्रमितमध्ये ५५ हजार ८ सय ३६ जना होम आइसोलेसनमा छन् भने १ हजार ४ सय ९२ जना संस्थागत आइसोलेसनमा छन्। यीमध्ये १ सय ८६ जना आइसीयूमा उपचाररत् छन्। २७ जनाको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
माघ ६ गतेसम्मको तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै सक्रिय संक्रमित वाग्मती प्रदेशमा छन्। त्यसपछि प्रदेश १ र गण्डकी प्रदेश छन्।
कुन प्रदेशमा कति छन् संक्रमित?
प्रदेश १ का तीन जिल्ला हाल ‘रेड जोन’मा छन्। मोरङ, सुनसरी र झापामा संक्रमण दर बढ्दै जाँदा प्रदेशमा कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ। यी मध्ये ५ हजार २ सय ६० जना होम आइसोलेसनमा छन् भने ७५ जना संस्थागत आइसोलेसनमा छन्। यस प्रदेशमा हाल सक्रिय मध्ये ९.३० प्रतिशत संक्रमित छन्। यहाँ २६ जनाको आईसीयूमा र ७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
मधेश प्रदेशका कुनै पनि जिल्ला ‘रेड जोन’मा छैनन्। यद्यपि, पाँच जिल्लामा भने दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रदेशको पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही र सिराहामा संक्रमितको संख्या बढ्दै छ।
हाल यो प्रदेशमा २ हजार १ सय ५१ जना सक्रिय संक्रमित छन्। यी मध्ये २ हजार १ सय ४८ जना होम आइसोलेसनमा छन् भने ३ जना संस्थागत आइसोलेसनमा छन्। ३ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ। प्रदेश २ मा हाल कूल सक्रिय संक्रमित मध्ये ३.७५ प्रतिशत 'एक्टिभ केस' छ।
वाग्मती प्रदेश कोरोनाको यो लहरमा सबैभन्दा प्रभावित छ। यहाँका ६ जिल्ला ‘रेड जोन’मा रहँदा काठमाडौं उपत्यकामा संक्रमण दर तीव्र गतिमा बढिरहेको छ। काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र काभ्रे ‘रेड जोन’मा परिसक्दा नुवाकोटमा संक्रमितको संख्या विस्तारै उकालो लाग्ने क्रममा छ।
वाग्मतीमा हालसम्म ४१ हजार ३ सय ८३ जना सक्रिय कोरोना संक्रमित छन्। यहाँ ४० हजार ५ सय १५ जना होम आइसोलेसनमा छन् भने ८ सय ६८ जना संस्थागत आइसोलेसनमा छन्। हाल कूल सक्रिय संक्रमित मध्ये ७२.१८ प्रतिशत वाग्मतीमा नै छन्।
वाग्मतीमा रहेका कूल सक्रिय संक्रमितमध्ये पनि ८९.६३ प्रतिशत काठमाडौं उपत्यकामा रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल काठमाडौंमा २६ हजार ६ सय ९८ जना, ललितपुर ६ हजार ६ सय १२ जना र भक्तपुरमा ३ हजार ७ सय ८३ जना सक्रिय संक्रमित छन्।
वाग्मतीमा १ सय ६ जनाको हाल आईसीयूमा उपचार भइरहेको छ। यस्तै, १८ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
यता, गण्डकी प्रदेशमा एकमात्र जिल्ला ‘रेड जोन’ मा रहँदा पाँच जिल्लाहरुमा विस्तारै संक्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ। कास्की जिल्ला रेड जोनमा सुरुवात देखि नै थियो। हाल नवलपरासी पूर्व, गोरखा, तनहुँ र स्याङ्जामा पनि संक्रमितको संख्या बढिरहेको छ।
संक्रमण फैलिरहँदा हाल यहाँ कुल सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय १ पुगेको छ। यस प्रदेशमा ३ हजार ४ सय २८ जना होम आइसोलेसनमा रहँदा ७३ जना संस्थागत आइसोलेसनमा छन्। गण्डकीमा हाल ६.१० प्रतिशत सक्रिय संक्रमित छन्।
गण्डकीमा १७ जना आईसीयूमा उपचाररत् छन्।
लुम्बिनी प्रदेशको बाँके र रुपन्देहीमा संक्रमण दर बढिरहेको छ। दुवै जिल्ला ‘रेड जोन’ मा पर्दा दाङमा समेत संक्रमितको संख्या बढिरहेको छ।
माघ ६ गतेसम्मको तथ्यांक अनुसार ३ हजार ३१ जना सक्रिय कोरोना संक्रमित छन्। यसमध्ये २ हजार ८ सय ६७ जना होम आइसोलेसनमा छन् भने १ सय ६४ जना संस्थागत आइसोलेसनमा। देशभरमा रहेको सक्रिय संक्रमितमध्ये यस प्रदेशमा ५.२९ प्रतिशत सक्रिय संक्रमित छन्। यहाँ २८ जना आईसीयूमा उपचाररत् रहँदा दुई जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
यस्तै, कर्णालीमा भने ३ सय ९३ सक्रिय संक्रमित छन्। यहाँ ३ सय ८६ जना होम आइसोलेनमा छन्। ७ जना भने संस्थागत आइसोलेसनमा रहँदा दुईजनाको आईसीयूमा उपचार भइरहेको छ। कूल सक्रिय संक्रमितमध्ये कर्णालीमा ०.६८ प्रतिशत संक्रमित छन्। यो प्रदेशमा पनि कुनै पनि जिल्ला ‘रेड जोन’मा छैनन्। अन्य जिल्ला भन्दा सुर्खेत जिल्लामा भने यहाँ संक्रमितको संख्या दुई सयभन्दा माथि छ।
यता, सुदूरपश्चिम प्रदेशको कैलाली ‘रेड जोन’मा छ। यस्तै, कञ्चनपुरमा पनि संक्रमितको संख्या बढिरहेको छ। सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ३८ जना सक्रिय संक्रमितमा १ हजार २ सय ३२ जना होम आइसोलेसनमा छन्। ३ सय २ जना संस्थागत आइसोलेसनमा छन्। प्रदेशमा चार जना हाल आईसीयूमा उपचाररत् छन्। हालसम्म कुल सक्रियमध्ये सुदूरपश्चिमा भने २.६८ प्रतिशत संक्रमित छन्।