
काठमाडौं : काठमाडौं उपत्यकामा शनिवार (माघ ७ गते राति १२ बजे) देखि जोर बिजोरमा सवारी साधन संचालन गर्ने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहीवार साँझ विज्ञप्ति जारी गर्दै जोर बिजोर प्रणाली लागू गरेको जानकारी दिएको थियो।
सार्वजनिक यातायात सहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत यो नियम लागू हुने प्रशासनले जनाएको छ। यसअघिको आदेशमा सार्वजनिक यातायात संचालन गर्नेबारे मात्र उल्लेख थियो।
शनिवारबाट जोर बिजोर लागू हुने भएपछि प्रशासनले आज अर्को विज्ञप्ति जारी गर्दै यसअघिको आदेशलाई स्पष्ट पारेको छ।
प्रशासनका अनुसार औषधि एवम् स्वास्थ्य सामाग्री बोकेको सवारी साधन, एम्बुलेन्स, दमकल र शववाहनमा जोर बिजोर लागू हुने छैन। यस्तै, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामाग्री बोक्ने साधन मा समेत जोर बिजोर लागू हुने छैन। यद्यपि, यी सवारी साधनमा भने चालक र सहचालक मात्र बस्न पाउने प्रशासनले भनेको छ।
यस्तै, खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, कृषि तथा पशुजन्य सामाग्रीहरु बोक्ने सवारीमा पनि यो प्रणाली लागू हुनेछैन। यी समाग्री बोक्ने गाडीमा पनि चालक र सहचालक मात्र बस्नु पर्नेछ।
यता, परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले सवारी चलाउन पाउनेछन्। यस्तै, बैंक, बीमा, वित्तिय संस्था र वायुसेवा निगमका कर्मचारीले पनि परिचय पत्र देखाएर सवारी चलाउन पाउनेछन्।
पत्रकारको हकमा भने सूचना तथा प्रशारण विभागले जारी गरेको परिचयपत्र बाहकले जोर बिजोरमा आधारित नभइ सवारीसाधन चलाउन पाउनेछन्।
सरकारी र कुटनीतिक नियोगका सवारी साधनमा पनि जोर विजोर लागू हुनेछैन।