PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

लागू औषध कारोबारीलाई समात्न गएका प्रहरी मोबाइल चोरेर फर्किए



एम बम

लागू औषध कारोबारीलाई समात्न गएका प्रहरी मोबाइल चोरेर फर्किए

कैलाली : कैलालीमा प्रहरीले नै मोबाइल चोरी गरेका छन्। धनगढी उपमहानगरपालिकाको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा प्रहरीले मोबाइल चोरी गरेको सीसीटीभी क्यामराको भिडियो फुटेज सार्वजनिक भएको हो।

उक्त मोबाइल पसलमा लागू औषधको कारोबार भइरहेको भन्दै प्रहरी खानतलासीका लागि पुगेको थियो। खानतलासी गर्दा लागू औषध र ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले मोबाइल समेत चोरी गरेको भिडियो बाहिरिएको हो। १ ग्राम ५ सय ५० मिलिग्राम खैरो हेरोइनसहित धनगढी ५ का दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक विष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पसल सञ्चालक सुवास रावलले भने प्रहरीले खानतलासी गर्ने भन्दै दुई वटा मोबाइल समेत चोरेको भन्दै भिडियो फुटेज सार्वजनिक गरेका छन्। उनले प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दर्ता गराएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले घटनाबारे छानबिन भइरहेको बताए। कार्यालयमा कार्यरत प्रहरी हवलदार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाललाई हिरासतमा राखेर छानबिन थालिएको छ। कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले दुवै जनालाई हिरासतमा राखिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell