
काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर २७ ज्याठा बस्ने नरेश श्रेष्ठ भनिने नरबहादुर श्रेष्ठले ७ वर्षदेखि महको व्यापार गर्दै आएका थिए।
सिन्धुपाल्चोकको ईन्द्रावति गाउँपालिका ६ का ३८ वर्षीय उनकी श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ नामको कम्मनी खोलेर महलाई बजारसम्म पुर्याउने गरेका थिए।
नतिजा प्याकेजिङले ‘स्पर्स हनी’ नामको लेबल टाँसेर बिक्री गर्ने गरेको मह उपयोग गर्न हानिकारक भेटिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले उनको कम्पनीमा छापा मारेपछि यस्तो तथ्य बाहिरिएको हो।
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री भइरहेको भन्ने सूचनाको आधारमा बिहीवार महाशाखाको विशेष टोली श्रेष्ठको कम्पनीमा पुगेको थियो। प्रहरी टोलीले मिसावट गरी गुणस्तरहीन मह बनाई रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने विभिन्न प्रकारका सामग्री, मेसिन, केमिकलहरु र महसहित श्रेष्ठलाई पक्राउ पनि गरेको हो।
उक्त कम्पनीको मह काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेस्टुरेन्टहरुमा थोक तथा खुद्रामा बिक्री हुँदै आएको महाशाखाले बताएको छ।
श्रेष्ठले दाङ, नवलपरासी र चितवनबाट कच्चा पदार्थ खरिद गरी मह बनाएर बजारमा प्रतिकेजी ६५० रुपैयाँमा बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
महाशाखाका अनुसार ‘स्पर्स हनी’ भन्ने ब्राण्ड दर्ता समेत गरिएको छैन। श्रेष्ठले ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी उत्पादन गर्दै आएका थिए।
उक्त मह खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गर्दा एचएमएफ र एफ/जी अनुपातको मात्रा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको महाशाखाले जनाएको छ।
प्रहरीले तयारी मह ६०० केजी, कच्चा तथा गुणस्तरहीन मह ६ हजार ५ केजी, ग्लुकोज ५ सयकेजी, चिनी १ सय केजी, तौल जोख्ने मेसिन, लेभल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्स हनीका लेभलहरु (स्टिकर), र पेट जार करिब १ हजार पिस बरामद गरेको छ। महाशाखाले प्रारम्भिक अनुसन्धान पछि थप अनुसन्धान र कारबाहीको लागि श्रेष्ठलाई शुक्रवार महानगरीय प्रहरी परिसर टेकु पठाएको छ।
महाशाखाले काठमाडौं उपत्यका लगायतका देशका विभिन्न भागमा नक्कली एवं गुणस्तरहिन मह बिक्री भइरहेको पाइएकोले त्यसतर्फ सचेत रहन उपभोक्ताहरुलाई अपिल समेत गरेको छ।