PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

सार्वजनिक यातायातमा जोरविजोर प्रणालीले भिडभाड रोक्छ कि थप्छ?



पहिलोपोस्ट

सार्वजनिक यातायातमा जोरविजोर प्रणालीले भिडभाड रोक्छ कि थप्छ?

काठमाडौं : कोभिड १९ संक्रमण पछिल्लो हप्ता ह्वात्तै बढेको छ। संक्रमण दर जुन गतिमा बढेको छ, सरकारलाई दवाब बढेको छ मापदण्डमा कडाइ गर्ने।

कोभिडको संक्रमण फैलिएदेखि या संख्यात्मक रुपमा संक्रमितको संख्या धेरै भएपछि सरकारले चाल्ने गरेको 'देखिने' पहिलो कदम हो - विद्यालय बन्द र सार्वजनिक सवारीमा जोरविजोर प्रणाली। यसपटक पनि विद्यालय बन्द भइसकेका छन् भने काठमाडौं उपत्यकामा जोरविजोर प्रणाली अवलम्बन गर्ने निर्णय प्रशासनले लिइसकेको छ। यस्तोमा आलोचना पनि भइरहेको छ कि जोरविजोरले संक्रमण घटाउन योगदान दिने होइन अझ भिडभाड बढाउँछ?

सामाजिक सञ्जालमा यो अहिले चर्चाको विषय छ। डाक्टर प्रकाश ज्ञवाली जोरविजोर प्रणालीको औचित्यबारे नेपाल जनस्वास्थ्य संघले आधिकारिक धारणा दिनुपर्ने बताउँछन्।

'कुन विद्वानको ब्रम्ह ज्ञानबाट जोर विजोर प्रणाली निस्केको होला? कोरोना लक्ष्य अनुसार नलागेर छिटो लगाउन गाडिमा कोचाकोच गराउने कार्यलाई सिफारिस गर्ने विद्वानलाई ठूलै तक्मा दिनुपर्छ,' उनले फेसबुकमा लेखेका छन्।

त्यस्तै, जनस्वास्थ वैज्ञानिक डा समीरमणि दीक्षित जोरविजोर प्रणालीको औचित्य नै नभएको दाबी गर्छन्।

'जोर बिजोर प्रणालीको कुनै औचित्य नै छैन, साथै, यसले संक्रमणको जोखिम झनै बढाउंछ भनेर कहिले बुझ्लान् प्रभु?'

यातायात विज्ञ आशिष गजुरेल सवारीसाधनको संख्या घटेपछि अझ कोचाकोच गरी यात्रा गर्नुपर्ने भएकाले संक्रमणको जोखिम अझ थपिने तर्क गर्छन्।

'काठमाडौं उपत्यकामा सार्वजनिक र निजी गाडी जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरिएको छ,' उनले लेखेका छन्, 'सार्वजनिक यातयातलाई चाहिँ यो नियम लगाउनु नहुने हो किनभने सार्वजननिक यातयातको संख्या आधा घटेपछि यात्रु कोचाकोच गरि यात्रा गर्नुपर्ने हुन्छ र संक्रमण बढने जोखिम बढ्छ।'

प्रशासनको आफ्नै तर्क

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रवार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरविजोर प्रणाली लागु गरेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भिडभाडजन्य क्रियाकलाप र गतिविधिहरुलाई रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्नुपरेको दाबी गरे। सवारीसाधनको जोरविजोर प्रणालीले आवश्यकता भन्दा बाहेकका गतिविधिलाई निरुत्साहित गर्ने ठहरका साथ प्रशासनले यस्तो निर्णय गरेको उनको तर्क छ।

‘भिडभाडजन्य क्रियाकलाप र गतिविधिहरुको कारणबाट कोभिडको संक्रमण फैलावटमा मद्धत गरिरहेको र यसलाई न्यूनीकरण गर्नलाई समस्या भएको भन्ने विश्लेषण हो। यसका साथै अत्यावश्यक काममा हिँड्डुल गर्ने कुरा त आफ्नो ठाउँमा स्वभाविक रुपमा छ,' उनले भने, 'तथापि, संक्रमणको यो स्तरको वृद्धि हुँदा पनि सामाजिक रुपमा त्यसले अझ पनि मानिसहरुको आवत्जावत्, हिँडडुल, भिडभाड नघटिरहेको अवस्था देखिएपछि यो सवारी साधनको व्यवस्थापनको पाटोबाट यसलाई जोर बिजोरको हिसाबले गएको हो र यसले अत्यावश्यक काममा जानुपर्ने बाहेक अन्य मान्छेहरुको गतिविधिलाई, भीडभाडजन्य गतिविधि, क्रियाकलापलाई केही हदसम्म निरुत्साहित गर्छ भन्ने यसको मक्सद हो।’

सवारी साधनमा जोरविजोर प्रणाली लागु भए पनि उपचार लगायत अत्यावश्यक सेवा प्रवाहका लागि भने खुला रहने बताइएको छ।

सवारी साधनको चापका कारण भि न्यूनिकरण नभएको र संक्रमण बढिरहेको सहायक प्रजिअ अधिकारीले बताए। सवारी साधन कम चल्दा भिडभाडजन्य गतिविधि कम हुने उनले उल्लेख गरे।

‘हिँड्डुल गर्ने, घुमफिर गर्ने, बजार घुम्ने, यो बेलामा आवश्यक छैन। यस बेलामा गतिविधि नगर्दा पनि हुनेखालका गतिविधि पनि सवारी साधनको चापसँगै भिडभाड न्यूनीकरण नभएको अवस्था विद्यमान छ,' उनले भने, 'उपलब्धताले नै मानिसहरुको भीडभाड अझ वृद्धि भएको भन्ने नै हो। जति सवारी साधन भए त्यति मानिसहरुको चहलपहल अझै बढ्दै गएको र संक्रमणको वृद्धि यो स्तरसम्म आइपुगेको छ है भन्ने अझ पनि मानिसहरुमा धारणा नबनिसकेको देखियो। त्यसकारण अत्यावश्यक काममा हिँड्ने नागरिकहरुलाई अहिले पनि अप्ठ्यारो, बाधा छैन। सवारी साधनको सीमिततालाई भिडभाडजन्य गतिविधिमा निरुत्साहन हुन्छ, नियन्त्रण हुन्छ भन्ने हाम्रो बुझाई हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell