PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

निर्वाचनको पूर्व तयारीमा लागौँ : प्रधानमन्त्री शेरबहादुर देउवा



पहिलोपोस्ट

निर्वाचनको पूर्व तयारीमा लागौँ : प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको पूर्व तयारीमा लाग्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले आफू नेतृत्वको सरकरको दायित्व निर्वाचन गर्नुभएको स्मरण गराउँदै यस्तो आग्रह गरेका हुन्।

उनले निर्वाचनका लागि तयारीमा लाग्न निर्वाचन आयोगको ध्यानकर्षण गराए। तर, उनले कुन तहको निर्वाचन भन्नेबारेमा भने केही बताएनन्। सत्ता गठबन्धनमा पहिला स्थानीय तहको कि संघको निर्वाचन भन्नेबारेमा छलफल भइरहेका बेला देउवाले निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका हुन्। 

'एक वर्ष भित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ,' देउवाले भने, 'निर्वाचनको पूर्व तयारीको काम गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछु।'

प्रमुख प्रतिपक्षी दलका नेताहरुले स्थानीय निर्वाचन टार्न खोजेको आरोप लगाइरहँदा देउवाले निर्वाचनको पूर्व तयारीमा जुट्न आग्रह गरेका हुन्। 

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद गरेर संसदको गतिरोध अन्त्य गरिने पनि बताएका छन्।

राष्ट्रका नाममा शुक्रवार सम्बोधन गर्दै देउवाले सबै राजनीतिक दलसँग संवाद गरिने र अवरोध हटाइने बताए।

'संसदमा रहेका सबै राजनीतिक दलहरुसँग संवाद गरेर गतिरोध अन्त्य गरिने छ,' प्रधानमन्त्री देउवाले भने। 

तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारसामु रहेको स्मरण गराउँदै उनले त्यसका लागि अगाडि बढ्न भनेका थिए। 

देउवाले आफू नेतृत्वको सरकारले स्वदेशी उत्पादनमा जोड दिएको दावी गरे। साथै भ्रष्टाचार नियन्त्रणमा शुन्य सहनशीलता नीति अपनाइएको दावी पनि गरे। 

'भ्रष्टचार नियन्त्रणका लागि कामहरु भएका छन्। विशेष आर्थिक प्याकेज ल्याइएको छ,' देउवाले भने। 

कोभिड नियन्त्रणका लागि खोप नै प्रभावकारी माध्यम भएको भन्दै देउवाले चैतसम्म सबैलाई खोप लगाइसक्ने उद्देश्य अनुसार खोप वितरण भइरहेको जानकारी दिए।

स्वास्थ्य प्रणालीमा साधनस्रोतको कमी हुन नदिने गरी चुस्त दुरुस्त व्यवस्था मिलाइएको देउवाले बताए। उनले तराई मधेशमा हुने शितलहर र हिमालमा हिमपातका कारण कसैको पनि ज्यान नजाने व्यवस्था मिलाइएको समेत दावी गरे।

उनले आफ्नो सरकारको उपलब्धिका रुपमा ६५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाउने भएको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell