PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

परीक्षण गरिएका नमुनामध्ये ४६ प्रतिशतमा संक्रमण, उपत्यकामै ६० प्रतिशत, कुन जिल्लामा कति?



पहिलोपोस्ट

परीक्षण गरिएका नमुनामध्ये ४६ प्रतिशतमा संक्रमण, उपत्यकामै ६० प्रतिशत, कुन जिल्लामा कति?

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १० हजार ७ सय ३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

यस अवधिमा २३ हजार ९२ नमुना परीक्षण भएको थियो। परीक्षण गरिएका मध्ये ४६.३ नमुनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये १८ हजार ६ सय १८ नमुनाको आरटी-पीसीआर परीक्षण गर्दा ८ हजार ८ सय १५ मा संक्रमण पुष्टि भएको छ। जुन कुल आरटी-पीसीआर परीक्षणको ४७.३ प्रतिशत हो। त्यस्तै, चार हजार ४ सय ७४ नमुनाको एन्टिजेन परीक्षणको क्रममा एक हजार ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जुन एन्टिजेन परीक्षणको ४२.२ प्रतिशत हो।

कुन जिल्लामा कति संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आरटी-पीसीआर परीक्षणको तथ्यांक अनुसार संक्रमित ८ हजार ८ सय १५ संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा छन्। आरटी-पीसीआर परीक्षणको तथ्यांकमा काठमाडौं उपत्यकाका तीन जिल्लामा पाँच हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ।

जुन आरटी-पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएको कुल संख्याको ६०.१ प्रतिशत हो। जसमध्ये काठमाडौं जिल्लामा मात्र चार हजार २ सय ७९ जना रहेका छन्। त्यस्तै, ललितपुर जिल्लामा ५ सय ६७ र भक्तपुर जिल्लामा ४ सय ५३ जना संक्रमित भएका छन्।

आरटी-पीसीआर परीक्षणका क्रममा मोरङ जिल्लामा ५ सय ६७, सुनसरीमा ३ सय ३२ र झापामा २ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुपन्देहीमा २ सय ७२ र कास्कीमा २ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ।

आरटी-पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएका मध्ये ६५.८ प्रतिशत वाग्मती प्रदेशका छन्। वाग्मती प्रदेशमा मात्र आरटी-पीसीआर परीक्षण गरिएका नमुनामध्ये पाँच हजार ८ सय २ नमुनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, प्रदेश १ मा एक हजार ३ सय ५०, गण्डकी प्रदेशमा ५ सय ५१ र लुम्बिनी प्रदेशमा ५ सय २८ नमुनामा संक्रमण देखिएको छ।

कर्णालीमा सबैभन्दा कम ३७ नमुनामा संक्रमण देखिँदा मधेशमा २ सय ८३ र सुदूर पश्चिममा २ सय ६४ नमुनामा संक्रमण पुष्टि भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell