PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

गण्डकी प्रवेश नाकामा बनाइँदै होल्डिङ सेन्टर, उपचारमा बढी शुल्क नलिन प्रदेश सरकारको आग्रह 



पहिलोपोस्ट

गण्डकी प्रवेश नाकामा बनाइँदै होल्डिङ सेन्टर, उपचारमा बढी शुल्क नलिन प्रदेश सरकारको आग्रह 

पोखराः गण्डकी प्रदेश सरकारले प्रदेश प्रवेश गर्ने नाकामा होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने भएको छ। प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले राम्दी र आँबुखैरेनी नाकामा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने बताएका हुन्।

प्रदेशले सो स्थानमा यसअघि नै हेल्प डेस्क सुरु गरिसकेको छ। भारतबाट प्रदेश प्रवेश गर्ने त्रिवेणी नाकामा समेत कर्मचारी खटाएर डेस्क सुरु गरेको छ। 

भारतबाट स्थलमार्गबाट प्रदेश प्रवेश गर्नेको संख्या उल्लेखनीय रहेकाले स्वास्थ्य परीक्षण र खोप कार्ड निरीक्षणलाई सरकारले कडाइ गरेको छ।
पोखरेलले बैठकमा कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि जनशक्ति, अक्सिजन प्लान्टदेखि अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारले हरसम्भव प्रयास गरेको बताएका छन्। 

‘महामारी नियन्त्रणमा हामीले सक्दो प्रयास गरेका छौँ। जनशक्ति अभाव नहोस् भनेर त्यही अनुसार व्यवस्थापन गरेका छौँ,’ मुख्यमन्त्रीले भने। 
तेस्रो लहरको नियन्त्रणकै लागि प्रदेश सरकारले ३५० जना स्वास्थ्यकर्मी करारमा लिएर सम्बन्धित अस्पतालहरुमा पठाएको उनले जानकारी दिए। उनले महामारीका बेला अक्सिजन प्लान्ट दुरुस्त राख्न, आइसोलेसन बेड तयार राख्न पनि निर्देशन दिए।

पोखराका केही अस्पतालहरुले कोभिडका बिरामीको उपचारका नाममा ठूलो रकम असुल गरिरहेको अनौपचारिक खबर आएकोमा ध्यानाकर्षण गर्दै महामारीका नाममा कोही कसैले नाफा केन्द्रित कार्य नगर्न मुख्यमन्त्रीले अनुरोध समेत गरेका छन्। अनौपचारिक गुनासो सम्बन्धी विषयमा जिल्ला प्रशासन कार्यालयमार्फत अनुगमन गरिने पोखरेलले बताएका छन्। 

यस्तै नवलपुरलगायत जिल्लामा ल्याबको जनशक्ति नहुँदा पीसीआर परीक्षण रोकिएको खबर पाएलगत्तै २ कर्मचारी पठाएको र बिहीबारबाटै उनीहरुले काम थाल्ने मुख्यमन्त्रीले जनाएका छन्। 

११ जिल्लाको विवरण प्रस्तुत 
कार्यक्रममा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले तेस्रो लहरको अवस्था र खोप वितरणको विवरणबारे प्रस्तुति राखेका थिए। 
सामाजिक, पारिवारिक अनि राजनीतिक गतिविधिका कारण महामारी फैलाउन ठूलो भूमिका खेलेको भन्दै यसमा रोक लगाउन जरुरी रहेको उनीहरुको भनाइ थियो। 

मनाङमा अहिले शून्य संक्रमित रहेको र यस अवस्थालाई कायम राख्न सक्दो प्रयास भइरहेको मनाङका प्रजिअ रवीन्द्र आचार्यले बताए। आचार्यले मनाङमा एक्सरे मेसिन बिग्रिए पनि जडान हुन नसकेकोबारे प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन्। 

स्याङ्जामा थप अक्सिजन प्लान्ट स्थापनाका लागि बिजुलीको लाइन अभाव रहेको, नाकामा होल्डिङ सेन्टर बनाएको खण्डमा बिरामीलाई घरसम्म पुर्‍याउन सवारीसाधनको व्यवस्था गर्नुपर्ने प्रजिअ राजुप्रसाद पौडेलले बताए। 

गोर्खाका मठमन्दिरमा नित्य पूजावाहेक सर्वसाधारणका लागि रोक लगाइएको, डेडिकेटेड बेड, एम्बुलेन्सलगायतको प्रवन्ध मिलाइएको प्रजिअ शंकरहरि आचार्यले बताए। 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले प्रदेश सरकारले जनशक्ति व्यवस्थापनदेखि, होल्डिङ सेन्टर निर्माण, औषधि र उपचारको प्रबन्ध गरिहेको जानकारी दिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell