PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

तेस्रो लहर शुरु भएपछि वीरगंजमा पहिलो संक्रमितको मृत्यु, संक्रमण नियन्त्रणमा प्रशासनको यस्तो छ तयारी



राधेश्याम पटेल

तेस्रो लहर शुरु भएपछि वीरगंजमा पहिलो संक्रमितको मृत्यु, संक्रमण नियन्त्रणमा प्रशासनको यस्तो छ तयारी

वीरगंज : कोरोना भाइरस महामारीको तेस्रो लहर चलिरहँदा वीरगंजमा पहिलो संक्रमितको मृत्यु भएको छ। उपचारको क्रममा गएराति पौने १२ बजे नारायणी अस्पताल वीरगंजमा बाराको महागढीमाई नगरपालिका-६ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो।

नारायणी अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहका अनुसार उनको मृत्यु कुन भेरिएन्टको कोरोनाबाट भएको हो भन्ने विषयमा पुष्टि हुन बाँकी छ। वीरगंजकै एक निजी अस्पतालबाट हिजै राति ८ बजे रिफर भई थप उपचारको लागि पुगेका उनले कोरोनाविरुद्ध खोप लगाएका थिएनन्।

माघ ६ गते एन्टिजेन परीक्षणमा कोरोना पोजिटिभ देखिएका उनी गम्भिर किसिमको कोभिड निमोनियाको लक्षणसहित अस्पताल भर्ना भएका थिए। शरीरमा ग्लुकोजको मात्रा धेरै तल झरिसकेको थियो। उनलाई नाजुक अवस्थामा अस्पताल भर्ना गरिएकोले ज्यान जोगाउन नसकिएको चिकित्सकहरुले बताएका छन्।

कोरोना नियन्त्रणमा प्रशासनको यस्तो छ तयारी

पर्सामा कोरोना महामारी बढेसँगै स्थानीय प्रशासन पूर्व तयारीको काममा केन्द्रित भएको छ। जिल्ला प्रशासन कार्यालय पर्सा तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिले दिएको जानकारी अनुसार पर्सामा हाल १८२ जना संक्रमितहरु रहे तापनि अधिकांशमा सामान्य रुघाखोकी, ज्वरोको लक्षण रहेकोले घरमै आइसोलेसनमा बसेका छन्।

गम्भीर अवस्थामा रहेका केही संक्रमितहरु नारायणी अस्पतालमा आएर उपचार गराइरहेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भीमकान्त पौडेलका अनुसार जिल्लाभरीको १४ वटा पालिकालाई तयारी अवस्थामा रहन सुझाव दिइएको छ।

साथै, संकट व्यवस्थापन समितिले खोप तथा स्वास्थ्य मापदण्ड पालना गराउन तत्परता देखाएको छ। सरकारी कार्यालयमा खोप कार्ड बिना प्रवेशमा प्रतिबन्ध लगाइएको छ भने सार्वजनिक ठाउँमा ‘नो मास्क, नो इन्ट्री’ भन्ने निर्देशन जारी गरिएको छ।

प्रहरीले मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिबाना तिराउने अभियान पनि चलाइएको छ। वीरगंज भन्सारको शंकराचार्य नजिकै नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको एक हजार जना बस्न सक्ने होल्डिङ सेन्टरको पनि चाडै निर्माण पूरा गरी उपयोगमा ल्याउन पहल भइरहेको छ। भारतीय सीमा नाकाबाट आउने नेपाली वा भारतीयलाई कडाई गरी परीक्षणको दायरा पनि बढाइएको पौडेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell