PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मती प्रदेशका ९८ प्रतिशत संक्रमित होम आइसोलेसनमै, के छ अक्सिजनको अवस्था?



निशा गुरुङ

वाग्मती प्रदेशका ९८ प्रतिशत संक्रमित होम आइसोलेसनमै, के छ अक्सिजनको अवस्था?
फाइल फोटो

हेटौंडा : वाग्मती प्रदेशका ९८ प्रतिशत कोरोना संक्रमित होम आइसोलेसनमै बसिरहेका छन्। स्वास्थ्यकर्मीका अनुसार प्रदेशका अधिकांश संक्रमितहरू सिटामोलको भरमा घरमै छन्।

वाग्मती प्रदेशमा शुक्रवार साँझसम्म ५१ हजार २ सय ५४ जना संक्रमित छन्। जसमध्ये ५० हजार ३ सय १५ जना होम आइसोलेसनमै छन्।

दैनिकजसो संक्रमित बढे पनि उपचारका लागि संक्रमितहरु अस्पताल र संस्थागत आइसोलेसनमा नजाने गरेको वाग्मती प्रदेशका स्वास्थ्य मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए।

मन्त्रालयको तथ्यांकअनुसार वाग्मती प्रदेशमा ९ सय ५९ जना संक्रमितमात्रै अस्पतालमा छन् जसमध्ये १ सय १५ आइसीयूमा, ५ सय २५ एचडीयूमा र २८ जना भेन्टिलेटरमा उपचाररत छन्।

रोजाइ किन होम आइसोलेसन?

कोरोनाको पहिलो लहरमा अस्पताल र संस्थागत आइसोलेसन भरिभराउ भएका थिए। भने, अस्पतालहरुले सेवासमेत दिन बन्द गरेका थिए। तर अहिले भने संक्रमितहरु होम आइसोलेनमै बस्न थालेका छन्। किन त? बुझाइ फेरिएकाले अहिले अवस्था मत्थर हुँदै आएको मन्त्रालयका प्रवक्ता अधिकारी बताउँछन्।

'हिजोका दिनमा कोभिड लाग्नेबित्तिकै मान्छे मरिहाल्ने भन्ने जस्ता बुझाइ धेरै आतंकित भएका थिए,’अधिकारीले भने, ‘अहिले धेरैले बुझिसकेका छन् कि कोभिड लाग्नेबित्तिकै अस्पतालमा भर्ना भइहाल्नुपर्ने रहेनछ भनेर।’

हाल वाग्मती प्रदेशमा अक्सिजन नै दैनिक आवश्यकभन्दा दोब्बर स्टक पुग्ने अवस्थामा रहेको उनले बताए।

संक्रमितको पहिचान गरी आवश्यक उपचार गर्न प्रदेशको १३ जिल्लामध्ये रसुवाबाहेक सबैमा स्वाब परीक्षण गर्न पीसीआर ल्याब स्थापना गरिएको उनले बताए।

रसुवा जिल्लाबाहेक अन्य १२ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिसकेको उनले बताए। धादिङमा दुईवटा अक्सिजन प्लान्ट रहेकाले रसुवामा त्यहींबाट लैजाने गरिएको छ। साथै, रसुवामा अक्सिजन प्लान्ट जोड्ने तयारी भएको पनि उनले जानकारी दिए। उनका अनुसार रसुवामा संक्रमितको संख्या ज्यादै न्युन रहेको र अक्सिजनको माग पनि नभएका कारण प्लान्ट स्थापना गर्न ढिलाइ भएको बताए।

मन्त्रालयका प्रवक्ता अधिकारीका अनुसार संक्रमितको स्वाब परीक्षण गर्ने र उपचार गर्ने जिम्मेवारी जिल्ला अस्पताललाई दिइएको छ।

हेटौंडा उपमहानगरका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले संक्रमण दर बढेपछि आइसोलेसन सञ्चालन गर्ने माग समुदायस्तरबाट आएको बताए। तर, ठोस निर्णय भइनसकेको उनले जानकारी दिए। संक्रमित बढेपछि अब कसरी अगाडि बढ्ने भनेर स्थानीय तहबिच समन्वय हुन चाहिँ बाँकी रहेको उनले बताए।

वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले उपचारका लागि स्वास्थ्य संस्थाहरु तयारी अवस्थामा रहेको बताए। संक्रमितलाई सकेसम्म होम आइसोलेसनमा निको पार्ने र ठीक नभएमा अस्पताल तयारी अवस्थामा रहेको आफूले निरीक्षणको क्रममा पाएको मन्त्री लामाले बताए। 'संक्रमित अस्पताल आइहाल्नु परे पनि हामीसँग एक जनालाई आवश्यक पर्नेभन्दा दोब्बर अक्सिनसहितको बेड तयारी छ,' लामाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell